कोरोना भाइरसबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दै गएपछि जापानी प्रधानमन्त्री सिञ्जो आबेले संकटकाल घोषणा गर्ने सम्भावना बढेर गएको छ।
आज बेलुकी प्रधानमन्त्री आबेले आज बेलुकी विज्ञ–विशेषज्ञहरुसँग परामर्श गर्दैछन्। जापानका महामारी विज्ञहरुले तत्काल आपत्तकाल घोषणा नगरे र नियन्त्रणका लागि ठोस कदम नचालेमा राजधानी टोकियोको हालत अमेरिकी शहर न्युयोर्कको जस्तै हुने चेतावनी दिइरहेका छन्।
तर मुलुकको अर्थतन्त्रका लागि प्रत्युत्पादक हुने जिकिर गर्दै प्रधानमन्त्री आबेले आपत्तकाल घोषणा गर्न मानिरहेका छैनन्। मानवीय हताहति बढ्दै गएपछि जापानी प्रधानमन्त्री आबेका लागि आपत्तकाल घोषणा गर्नुबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको भनिएको छ।
आज बेलुकी विज्ञहरुसँगको छलफलपछि जापानमा आपत्तकाल घोषणा हुने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ। जापानमा हालसम्म कोरोना संक्रमणबाट ८५ जनाको ज्यान गएको छ भने तीन हजार छ सय मानिसहरु संक्रमित भएका छन्।
संक्रमणको पहिलो मामिला भेटिएको केही समयसम्म यसको दर नबढेपनि पछिल्लो समय संक्रमितहरुको संख्या दिनहुँ गुणात्मक संख्यामा बढिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।