कार्यकर्तासम्म पुग्‍ने माध्यम टेलिफोन र इन्टरनेट

|

काठमाडौं : कोरोना भाइरसका कारण नेपाल लाकडाउनमा छ। विश्वभर महामारीको रुप लिइरहेको कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेपछि सबैजना घरमा बन्दी जस्तै भएर बस्न बाध्य छन्। 

सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेपछि सरकारका गतिविधिबाहेक राजनीतिक दलका सबै जसो क्रियाकलाप ठप्प छन्। दलका नेता कार्यकर्ता पनि यतिबेला घरमै सीमित भएका छन्।

सामान्य अवस्थामा दलका गुट–उपगुटका भेलामा सक्रिय हुने नेताहरुको दैनिकी घरमै लेखपढमा सीमित छ। केही नेताहरुले आफूलाई टेलिफोन र अनलाइनबाट सक्रिय बनाउने कोशिश गरिरहेका छन्। त्यही कोशिशको एउटा रुप आइतवार कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ जना पूर्वप्रधानमन्त्रीहरुलाई फोन गरे। 

सबै क्षेत्र बन्द रहँदा पनि व्यस्त रहने राजनीतिक दलक नेताहरु पनि अहिले फुर्सदिला भएका छन्। राजनीतिक भेटघाट र पार्टीका गतिविधि रोकिएपछि देशको बागडोर सम्हालिसकेका ५ जना पूर्वप्रधानमन्त्रीहरुको ‘लकडाउन’ दैनिकी हामीले केलाउने प्रयास गरेका छौँ।

शेरबहादुर देउवा

चार पटकसम्म सरकार प्रमुखको जिम्मेवारी सम्हालिसकेका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि यतिबेला बूढानीलकण्ठस्थित ‘होम क्‍वारेन्टाइन’ छन्।

‘सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेपछि उहाँ अहिले घरमै बसिराख्नुभएको छ’ स्वकीय सचिव भानु देउवाले भने, ‘घरमै बसेर विभिन्न पुस्तक पढ्ने, टेलिभिन हेर्ने, विभिन्न माध्यमबाट समसामयिक बिषयमा जानकारी लिर्ने गर्नुुभएको छ।’

‘प्रमुख प्रतिपक्षीको हिसाबले सरकारसँग महामारी रोक्न साथ दिए पनि अनियमिता र ढिलासुस्तीबारे विभिन्न माध्यमबाट आवाज उठाइराख्नु भएको छ,’ उनले भने, ‘देशभरका जनताको अवस्थाबारे जानकारी राख्नु, सबै ठाउँका कार्यकर्तासँग पनि टेलिफोनमा जोडिइराख्नु उहाँको दैनिकी बनेको छ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त रहनेमध्ये सबैभन्दा व्यस्त नेता हुन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। कोरोनाका कारणले बाहिरी कार्यक्रम बन्द भएपछि उनी अहिले खुमलटारस्थित ‘होम क्‍वारेन्टाइन’मा बसेका छन्। 

कोरोना त्रासका कारण अध्यक्ष दाहाल होम क्वारेन्टानमै बसेर देशको अवस्थाको निगरानी र राजनीतिक छलफल चलाइरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए। ‘अरु बेललामा व्यस्त रहने उहाँ अहिले भेटघाट र कार्यक्रम बन्द भएपछि घरमै बसिरहनु भएको छ’, उनले भने। 

‘घरमा बस्ने दिनचर्याका रुपमा नातीसँग साइकल खेल्ने, विभिन्न पुस्तक अध्ययन गर्ने, पत्रपत्रिका पढ्ने, समाचारमा अपडेट रहने लगायतको दैनिकी छ अहिल उहाँको,’ उनले भने, ‘अध्यक्षज्यूले अहिले बढी समयमा पुस्तक अध्ययनमा खर्चिनु भएको छ।’

पुस्तक अध्ययनसँगै अध्यक्ष दाहाल देश र जनताको अवस्थाबारेमा जानकारी लिन टेलिफोनमा संवादमा पनि व्यस्त रहने गरेको उनको भनाई छ। 

सरकारले लकडाउन गरेपछि अध्यक्ष दाहाल घरबाट धेरै बाहिर निस्केका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओली अवस्थ्य भएर अस्पताल भर्ना भएको समय उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए। त्यसपछि कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामाग्री खरिदका क्रममा गडबडी भएको बिषयमा चर्को विरोध भएपछि उनी प्रधानमन्त्रीलाई भेट्न घरबाहिर निस्केर बालुवाटार पुगेका थिए।

माधवकुमार नेपाल

राजनीतिक भेटघाट र बाहिरी कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का वरिष्ठ नेता नेपाल लकडाउनपछि विभिन्न पुस्त अध्ययनमा व्यस्त रहेको नेता नेपालको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। 

‘उहाँले ‘होम क्‍वारेन्टाइन’मा विभिन्न पत्रपत्रिका र पुस्तक पढ्ने गर्नुभएको छ,’ गौतमले भने, ‘राजनीतिक भेटघाट बन्द भएपछि उहाँ अहिले टेलिफोन वार्तामा निरन्तर सक्रिय हुनुहुन्छ।’

गौतमका अनुसार नेता नेपाल अहिले पुस्तक अध्ययन गरेर ज्ञान बढाउने अभियानमा जुटेका छन्। ‘कोरोनका कारणले भेटघाट बन्द गर्नुभएको छ। तर उहाँले राजनीतिक र अन्य बिषयवस्तुबारे बुझ्न फोनको प्रयोग बढाउनुभएको छ’ उनले भने, ‘लकडाउनमा त्यस्तो विशेष केही काम गर्नुभएको छैन। पारिवारिक काम, टेलिफोन र विभिन्न पुस्तक अध्ययनमै उहाँले समय बिताउनुहुन्छ।’

झलनाथ खनाल

कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेपछि फुर्सदिलो भएको पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्। 

‘पहिले विभिन्न राजनीतिक भेटघाट र कार्यक्रमहरुमा व्यस्त भइन्थ्यो। तर, अहिले कोेरोनको कारणले फर्सदिलो भएको छु’, उनले भने, ‘दैनिक योगा नित्य कर्म बनेको छ। बिहान उठेर योगा सकेपछि विभिन्न पुस्तक र पत्रिका पढ्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्‍ने गर्छु।’

अहिले ‘सेपिन’ नामक पुस्तक अध्ययनको क्रममा रहेको उनले बताए। ‘त्यो पुस्तकमा मान्छेको उत्पत्ति कसरी भयो? अहिले मान्छेको अवस्था कहा पुगेको छ? आगामी दिनमा मान्छेको अवस्था कस्तो रहन्छ? भन्ने बारे पुस्तकमा लेखिएको छ’, उनले भने। 

आफूले टेलिफोनबाट नेता कार्यकर्तालाई सम्पर्क गरिरहेको उनले सुनाए। ‘मुख्यगरी टेलिफोनमा व्यस्त रहन्छु। यस्तो प्रकोप फैलिएको छ। त्यसले गर्दा पनि जनता र कार्यकर्ताको अवस्थाबारे जानकारी लिन फोनमा जोडिनै प¥यो’, उनले ठट्यौली पारामा भने, ‘यी तपाईंहरुले पनि फोन गरिराख्नु हुन्छ। मिडिया जानकारी लिने र दिने गरिरहेको छु।’

डा.बाबुराम भट्टराई 

राजनीतिक कार्यक्रम र निरन्तर भेटघाटमा व्यस्त रहने नेतामध्ये एक हुन् पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराई। 

‘कोरोना रोकथाका लागि सरकारले गरेकोे लकडाउन होस् या अरु समय उहाँ सामाजिक सञ्जालमा सक्रिय हुनुहन्छ’, स्वकीय सचिव रोशन पोखरेलले भने, ‘मिडियातिर सन्देश दिने र लिनेमा पनि व्यस्त हुनुहुन्छ।’

नेपालमा कोरोना फैलिँदै गएपछि डा. भट्टराईले आफूलाई कोठैबाट अझै सक्रिय बनाएको पोखरेल बताउँछन्। ‘पछिल्ला दिनहरुमा कैलाली, कञ्चनपुर र कागलुङमा कोरोनाका संक्रमित देखिएपछि त्यहाँको अवस्थाबारे जानकारी लिन जनप्रतिनिधि र पार्टी कार्यकर्ता लगायतसँग टेलिफोनमा सक्रिय हुनुहुन्छ,’ उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रका जनता र देशको अवस्थाबारे जानकारी लिन दैनिक करिब २ घण्टा टेलिफोनमै व्यस्त हुनुहुन्छ।’

त्यसबाहेक विभिन्न पुस्तक पढ्ने, अलनलाइनका समाचारहरुमा अपडेट भएर समय डा. भट्टराईले समय कटाइरहेको पोखरेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.