|

धनकुटा : कोरोना भाइरस (कोभिड १९) को असर यतिबेला सबै क्षेत्रमा परिरहेको छ। समस्या तरकारी खेती गर्नेलाई पनि परेको छ। तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाएका धनकुटाको छथर जोरपाटीका किसानसमेत तरकारी नबिकेर समस्यामा छन्।

बारीभरि लगाइएको तरकारी बेचेर जीविको टार्दै आएका किसानको बारीमा सागसब्जी, हरियो मटर सुकेर विग्रने अवस्थामा पुगेको छ। सागका पात पहेंला भएका छन भने बोटहरू फुल्न थालेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारणले सरकारले गरेको लकडाउनका कारण कृषकले उत्पादन गरेको सागसब्जी समयमा बिक्री गर्न नपाएपछि धनकुटा छथर जोरपाटी सिधुवाका कृषक मारमा परेका हुन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुकमा लकडाउन घोषणा गरेसँगै व्यापारीले सागसब्जी खरिद नगरेपछि सब्जी कृषक मारमा परेका हुन्। यो समयमा उत्पादन हुने साग र हरियो केराउ (मोटर कोसा) अहिले कृषकको बारीमा सुक्न थालेको छ।

लकडाउनका कारण निर्वाध रुपमा सागसब्जी खरिद गर्ने सवारी साधन चल्न सकेका छैनन्। जसका कारण व्यापारी सब्जी खरिदको लागि आउन छाडेको कृषकले बताएका छन्। कोरोना भाइरसको संक्रमणको डरले व्यापारी सब्जी खरिद गर्न आउँदैनन्। त्यसैले हामीले बारीमा लगाएको साग र हरियो मोटर कोसा बारीमा सुक्न थालेको कृषकले गुनासो गरेका छन्।

तरकारीको राजधानीको नामले चिनिने धनकुटाको सिधुवा बजारबाट मात्र वार्षिक यो समयमा साग र हरियो मोटर कोसा करिब तीन करोड बराबरको निर्यात हुने गरेको थियो। तर सब्जी निर्यातको समयमा आकस्मिक रुपमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सरकारले लकडाउन घोषणा गरेपछि विगत वर्षको तुलनामा आधा मूल्य बराबरको पनि सब्जी निर्यात हुन नसक्ने अवस्था रहेको सिधुवा कृषि भण्डार धनकुटाका प्रबन्ध निर्देशक एवं अगुवा कृषक मेघेन्द्र गुरुङले बताए। उनले भने,‘अब अहिलेको महामारीबाट बच्न सबैले सहयोग गर्नु सबैको कर्तव्य हो। यो वर्ष जे भएपनि आगामी वर्ष धेरै सब्जी उत्पादन गरेर निर्यात गर्नुको विकल्प छैन।’

लकडाउनका कारण अहिले थोरै मात्रामा साग र मोटर कोसा बिक्री भए पनि व्यापारीको दर भाउमा दिनु पर्ने बाध्यता कृषकको रहेको छ। विगतका वर्षहरूमा प्रति मुठा १५ देखि २० रुपैयाँसम्ममा बिक्री गर्दै आएको हरियो साग अहिले ५ देखि ७ रुपैयाँसम्म पनि मुस्किलले त्यो पनि थोरै मात्रामा विक्री गर्नु पर्ने बाध्यता रहेको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा मझुवाका कृषक खड्गबहादुर पौडेलले गुनासो गरे।

यस वर्ष कृषक पौडेलले चार रोपनी क्षेत्रफलमा साग र सात रोपनी क्षेत्रफलबाट मोटर कोसा खेती गरेका छन। सागसब्जी बोक्ने सवारी साधन लकडाउनको कारण निर्वाध रुपमा चल्न नसकेपछि व्यापारीले थोरै मात्रामा सब्जी खरिद गर्छन्।

बाँकी रहेका सब्जी बारीमा सुकेर जानु भन्दा खोले पकाएर गाइवस्तुलाई दिँदै आएका कृषक पौडेलले बताए। अर्का सब्जी कृषक देवेन्द्र थापाको पनि समस्या उस्तै रहेको छ। लकडाउनका कारण सब्जी निर्यात् हुन नसकेपछि करिब तीन लाख बराबरको सब्जी बारीमा सुकेर जाने अवस्था रहेको थापाले गुनासो गरे।

२० रुपैयाँमा विक्री हुने साग ४ रुपैयाँ र ३० रुपैयाँ केजीमा बिक्री हुने मोटर कोसा १२ रुपैयाँमा बिक्री गर्नु परेपछि आफूहरू मारमा परेको उनले बताए। उनले भने, ‘लकडाउन त सबैले पालना गर्नु पर्दछ। तर हामीले उत्पादन गरेको सागसब्जी भनेको दैनिक उपभोग्य वस्तु रुपमा प्रयोग हुने भएकाले यसलाई सहज रुपले निर्यात गर्नको लागि राज्यले पनि पहल गरिदिनु पर्‍यो। त्यसमा हामीले के सहयोग गर्नुपर्छ। सहयोग गर्न तयार छौं।’

धनकुटा सिधुवा आसपासका करिब ५०/६० घर परिवारले वार्षिक करिब १ हजार हेक्टर क्षेत्रफलमा साजसब्जी मात्र खेती गर्दै आएका छन। त्यहाँ उत्पादित सब्जी पूर्वका ठूला शहर धरान, विराटनगर, दमकसहित छिमेकी मुलुक भारतमा निर्यात हुने गर्दछ। तर अहिले कोरोना भाइरस संक्रमणको कारण छिमेकी मुलुक आवत जावतमा पूर्णरुपमा सिलबन्दी गरिएको छ।

सबैभन्दा बढी सागसब्जी खपत हुने बजार भारत जान नै सिलबन्दी गरिपछि पूर्वका शहरहरूमा थोरै मात्र सागसब्जी खपत हुने गरेको सिधुवा कृषि भण्डारका प्रबन्ध निर्देशक गुरुङले बताए। त्यसकारण पनि सागसब्जी बिक्री हुन छाडेका छन्। 

लकडाउनका कारण सागसब्जी बिक्री नभएर कृषकमारका परेपछि कृषकको गुनासो गाउँपालिकासम्म अनौपचारिक रुपमा आउन थालेको छ। लकडाउनको पालना गर्नु सबै नागरिकको दायित्व भएकाले अहिलेको विषम परिस्थितिमा सबैले धैर्य गर्नुको विकल्प नरहेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए।

अहिले कृषकले लगाएको सागबाट गुन्द्रुक र हरियो मोटर कोसालाई बोटमा नै दाना फलाएर विकल्पको रुपमा बिक्री गर्न कृषकलाई सल्लाह सुझाव दिँदै आएको अध्यक्ष लिम्बूले बताए। किसानले उत्पादन गरेको दूध भने साविक झै निर्वाध रुपमा निर्यात् भइरहेको कृषकले बताए। तर गाई भैंसीलाई खुवाउने दाना बजारमा अभाव भएपछि दूधको उत्पादनमा कमी आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.