|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमले अष्ट्रेलियाका लागि गरेको ‘चार्टर्ड फ्लाइट’ को कसिमन एजेन्टलाई नदिन निर्देशन दिएका छन्।

अष्ट्रेलियन दूतावासले आफ्ना २७४ नागरिकलाई स्वदेश लैजान चैत १९ गते गरेको निगमको एयर बस ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको बोन ट्राभल्सलाई कमिसनबापतको भुक्तानी रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन्।

भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेन्टका निर्देशक टङ्कनिधि दाहाललाई कमिसनबापतको भुक्तानी रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएकोबारे पनि स्पष्ट पार्न निर्देशन दिएका हुन्।

यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँभन्दा बढी नोक्सानी गरेको समाचार आएपछि भट्टराईले निगम नेतृत्वलाई योबारे स्पष्ट पार्न निर्देशन दिएका थिए।

निगमको वाणिज्य विभागले अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रका कारण ‘एजेन्ट’ तोकिएको स्पष्टीकरण दिएको थियो। 

मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य र प्रक्रिया स्पष्ट पार्न भनेका हुन्। नियतवश एजेन्ट घुसाएर अनियमितता गरिएको भए संग्लनलाई कारवाही गर्ने चेतावनी मन्त्री भट्टराईले दिएका हुन्।

अष्ट्रेलियन दूतावासले दिएको काठमाडौँ-अष्ट्रेलिया-काठमाडौँ उडानबापतको चार लाख ३९ हजार २०० डलर र प्रत्येक यात्रुको करसहित पाँच करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ। बोन ट्राभल्सले ‘एजेन्ट’ का रुपमा गरेबापत पाँच प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७७० रुपैयाँ पाइसकेको समाचार आएको थियो।

निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको बताउँदै बोन ट्राभल्सलाई कसिमनबापतको रकम नदिइएको उल्लेख गरेका थिए। 

चैत १९ गते निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन गएको थियो। नेपाल एयरलाइन्सले प्रतिघण्टा १८ हजार १०० डलरका दरले त्यो उडानको शुल्क लिएको छ।

निगमले काठमाडौँ-अष्ट्रेलिया-काठमाडौँ उडानको चार्टरबापतको पाँच करोड ४९ लाख १५ हजार ४०० रुपैयाँ लिएको हो। यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार बाहिर आएपछि मन्त्री भट्टराईले आवश्यक कारवाही थालेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.