|

जुम्ला : जिल्लामा भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको स्वाब संकलन गरिने भएको छ। नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूको घुम्ती शिविरमार्फत स्वाब संकलन गर्ने भएकाे हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जिल्लाका ३ स्थानमा स्वाब संकलन गरिने भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। उनले भनिन, 'केन्द्रबाट हेलिकोप्टरमा आउने कोभिड १९ विपद व्यवस्थापन टोली भारत र तेस्रो मुलुकबाट आएका जुम्लाका २५३ जना व्यक्तिको एकैदिन स्वाब संकलन गर्ने भएको छ।' 

मंगलबार चन्दननाथ नगरपालिकासहित तातोपानी, तिला, गुठिचौर गाउँपालिकाका नागरिकको जुम्ला बिमानस्थलमा र सिञ्जा क्षेत्रको वडा नं १ देवार गाउँ ज्यूलो र कनकासुन्दरीको लासीपाटनमा हेलिकोप्टर बसेर स्वाब संकलन गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाका २८ जना, पातारासी गाउँपालिकाका २९ जना, गुठिचौर गाउँपालिका २२ जना, तातोपानी गाउँपालिका १३ जना र तिला गाउँपालिकाका १७ जनाको जुम्ला बिमानस्थलमा हवाई मार्गबाट आउने टोलीले स्वाब संकलन गर्ने भएको छ। त्यस्तै सिञ्जा गाउँपालिकाका ५२ जना, कनकासुन्दरी गाउँपालिकाका ४७ जना र हिमा गाउँपालिकाका ४५ जना अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरेको छ।

तोकिएको स्थानमा चैत ११ गते देखि हालसम्म भारत र तेस्रो मुलुकबाट आएका स्थानीय तहको तथ्यांक भएका व्यक्तिलाई उपस्थित हुन भनिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको वैठकले स्वाब संकलन गर्ने स्थानसम्म स्थानीय तहले गाडी व्यवस्थापन गरी पुर्‍याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकारश देवकोटाले जानकारी दिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष बरमबहादुर महतले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई समेत आधारभूत स्वास्थ्य सामग्री तयार गर्न सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.