|
फाइल फोटो

बागलुङ : सरकारले लकडाउनको अवधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन्। केही महिना अगाडि हिउँदमा पोखरा, काठमाडौं, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यापार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ फर्कन नपाएका हुन्।

चिसो समयमा मुस्ताङका अधिकांश गाउँबाट पहाड र तराईका विभिन्न शहरहरुमा सर्वसाधारण पुग्ने गरेका थिए। गाउँ फर्कनका लागि पोखरा आईपुगेका झण्डै दुई सय सर्वसाधारण त्यहीँ अल्झिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले जानकारी दिए।

उपल्लो मुस्ताङका स्थानीयहरु छ महिना घरमै बस्छन् भने बाँकी छ महिना चिसो छल्न बेसी झर्ने गरेका छन्। पोखरामा अलपत्र परेकाहरुमध्ये उपल्लो मुस्ताङका धेरै छन्। उपल्लो मुस्ताङका लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरु पोखरामा रहेको अर्यालले बताए।

उनीहरु पोखरामा रहेका आफन्त तथा आफ्नै अस्थायी घरमा बसिरहेका छन्। गाउँमा खेती लगाउने समय भैसक्दा पनि पोखरामा अलपत्र पर्दा यस वर्षको बाली बाँझो रहने चिन्ता गर्छिन् थासाङ्ग गाउँपालिका वडा नं २ नाउरीकोटका ७२ वर्षकी भीम कुमारी गौचन।

उनका अनुसार अहिले खेतबारीमा बीउ छर्ने बेला हो। बाली लगाउन नपाए वर्षभरि खेत बाझो रहने उनको गुनासो छ। फापर, आलु, जौ लगायतको खेती हुने मुस्ताङमा बर्षे बाली मात्रै हुन्छ। नेपालमा कोरोना भाइरसको उच्च जोखिम देखाउँदै सरकारले पटक-पटक लकडाउन बढाउनाले बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङ्गका संघीय सासद प्रेम प्रसाद तुलाचनले जानकारी दिए।

जोखिम कम भएपछि मात्रै मुस्ताङ फर्काउन पहल थालिने उनले बताए। सर्वसारणकै सुरक्षाका लागि भैरहेको लकडाउनको पूर्ण पालना गर्नु सबैको दायित्व भएको उनको भनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.