सरकारको पर्याप्त तयारीले कोरोना फैलिएन : प्रधानमन्त्री

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई साता कठिन चुनौतीको सामना गर्न देशबासीलाई अपिल गरेका छन्। उनले आगामी दुई साता अहिले भन्दा धेरै चुनौतीपूर्ण हुने बताएपछि लकडाउन अझै दुई साता लम्बिने देखिएको हो।

भारतमा कोरोनाले महामारीको रुप लिन थालिसकेको अवस्थामा नेपालमा दुई सातादेखि जारी लकडाउन वैशाख मध्यसम्म जाने अवस्था देखिएको हो। ‘ दुई सातादेखि लकडाउनका कारण म सम्बेदनशील छु। तर यो महामारीसँग जुध्न हामीसँग अर्को विकल्प पनि छैन’, उनले भने, ‘हामीले अझै दुई साता योभन्दा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ।’

ओली नेतृत्वको मन्त्रिपरिषद्ले सोमबार मात्रै लकडाउनलाई वैशाख ३ सम्म लैजान निर्णय गरिसकेको छ। तर कोरोनाको संक्रमणमा नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा सरकाले लकडाउनलाई वैशाख मध्यसम्म लैजान सक्ने संकेत गरेको हो। 

सरकारल पर्याप्त तयारी गरेकै कारण कोरोनाले नेपालमा महामारीको रुप नलिएको ओलीले तर्क गरे। ‘नेपाल सरकारको प्रयासकै कारण नेपालमा नौजनालाई मात्रै कोरोना देखिएको छ’, उनले अगाडि भने, ‘संघ, प्रदेश र स्थानीय सरकारको महत्वपूर्ण भूमिकाका कारण यो सम्भव भएको हो। कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र चिकित्सको प्रयासले हामीलाई सजिलो भएको छ। तर चुनौती अझै आउँदैछ।’

ओलीले लकडाउनका कारण समस्यामा परेका नागरिकको हितका लागि सरकार प्रयत्नशील रहेको पनि बताए। ‘सीमापारि रहेका नेपालीलाई उतै व्यवस्थापन गरेका छौँ’, उनले भने, ‘नेपालमा रहेका कसैलाई पनि लकडाउनका क्रममा समस्या पर्न दिँदैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.