भाइरस परीक्षणलाई तीव्र पार्न सुझाव

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ भाइर रोकथाम तथा नियन्त्रणबारेमा मंगलबार देशबासीका नाममा दोस्रो सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा सरकार जनतालाई जोगाउन दिनरात लागिरहेको अवस्थामा नियतवश प्रहार गर्न खोजिएको गुनासो गरे।

उनको सम्बोधनको सार थियो, 'संकटको बेलामा पनि सरकारलाई असफल बनाउन भ्रष्टाचारको बेमौसमी बाजा बजाएर नियवश प्रहार गरियो।' 

प्रधानमन्त्री ओलीले यसो भनिरहँदा कोभिड-१९ को परीक्षणमा सरकारले गति बढाउन नसकेकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै दुई नेताहरुले चिन्ता जाहेर गरेका छन्। 

सरकारले कोरोना भाइरसलाई समुदायमा फैलिन नदिन अहिलेसम्म रोक्न सफल भए पनि परीक्षणको दायरा बढाउन नसक्दा अझै खतराको घण्टी बजिरहेको उनीहरुको टिप्पणी छ।

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेपछि थाहाखबरकर्मी रमेश पराजुलीले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेको छ। 

सुवासचन्द्र नेम्वाङ 

संसदीय दलका उपनेता तथा स‌ंविधानसभाका अध्यक्ष नेम्वाङ कोरोना भाइरसविरुद्ध कुनै रणनीति तत्कालै बनाउन नसकेकाले सरकारका केही कमजोरी रहेका बताउँछन्। 

उनी विश्‍वलाई नै आक्रान्त बनाइरहेको यस रोगविरुद्ध सरकारले जतिसक्दो प्रयास गरेर योजनावद्धरुपमा अघि बढ्नुपर्ने बताउँछन्। 'कुनै नीति र रणनीति तयार पारेर सरकारले काम गर्न नपाएकाले केही कमी कमजोरी देखिनु स्वभाविक हो', नेम्वाङले भने, 'तर, विश्‍वलाई नै आक्रन्त पारेको यो संकटको घडीमा सरकारले जतिसक्दो अहिलेका प्रयास र तयारीलाई तीव्र पार्नुपर्छ र हामी जनताले त्यो अभियानलाई साथ दिएमा नै जित हुनेछ।'

नेम्वाङको बुझाइमा सरकारले मुख्य: कोरोनालाई पहिलो चरणमा नै सीमित राख्ने प्रयासमा सफलता पाएको छ। 'सम्भवत: अहिलेसम्मको अवस्थामा त्यो प्रयास सफल नै भएको देखिन्छ। बाहिरबाट आएकामा मात्रै कोरोना देखिएको छ', उनले अगाडि भने, 'सरकारले जतिसक्दो काम गरिराखेकाले त्यसमा सक्दो सहयोग गर्नु अहिलेको आवश्यकता हो।'

आमजनताले जस्तै नेम्वाङले पनि कोरोना भाइरस परीक्षणको दायरालाई फराकिलो पार्नु पर्ने सुझाव सरकारलाई दिएका छन्। अहिलेसम्म २ हजार जनाको पनि परीक्षण नभएको अवस्थामा नेम्वाङले अब तीव्र बनाउनुपर्ने बताए। 

'सरकारले जतिसक्दो छिटो परीक्षण विस्तार गर्नुपर्ने हो। तर, त्यो सकिएको छैन। त्यसमा वृद्धि गर्नुपर्ने देखिन्छ', उनले भने, 'नेपाल सबै क्षेत्रमा केही पछि परेको हुनाले आर्थिकरुपमा पनि कमजोर छ। त्यसमा सरकारले ख्याल गर्नुपर्ने देखिन्छ', उनले भने, 'प्रधानमन्त्रीको सम्बोधनको विषयमा आलोचना गर्नेहरूले गरिनै रहन्छन्। तर, यो अवस्थामा आलोचनाभन्दा कोरोननविरूद्ध जुट्न आवश्यक हुन्छ।'

उनले अहिले कोरोना भाइरसविरुद्धको युद्धमा सबै होमिनुपर्ने बताए। 'कोरोननसँगको युद्ध सफल भएपछि सरकारको बारेमा टीका-टिप्पणी गर्नुपरे गरौँला', नेम्वाङले अन्त्यमा भने। 

देव गुरूङ

नेकपाका प्रमुख सचेतक देव गुरुङको बुझाइमा सरकारले कोरोना नियन्त्रणका लागि जतिसक्दो प्रयास गरिरहेको छ। उनले सबैले लकडाउन पालना गरिदिने हो भने कोरोनाको यो संकटबा देशले पार पाउने बताए। 

'सरकारले आफ्नो क्षेत्रबाट सक्दो काम गरिरहेको छ। लकडाउन पालना गर्न सरकारले आग्रह गरेपछि त्यसमा सबैले साथ दिएमा यो प्रयास सफल हुन्छ', उनले भने, 'संकटको बेलामा सरकारले अझै सक्दो प्रयास गर्नुपर्नेमा केही कमीकमजोरी र ढिलासुस्ती भएका छन्। तर, सरकारले कामै नगरेको भन्‍ने अवस्था छैन।'

नेता गुरुङले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सम्बोधनमा अहिलेको संकटमा सरकारले गरेको काम र आगामी रणनीतिबारे जानकारी मात्रै गराएका त्यसलाई अन्याथा लिन नहुने बताए। 'संकटको बेलामा सबैले सरकारले गरेको प्रयासमा साथ, सहयोग दिनु नै उपयुक्त हुन्छ', उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.