स्वास्थ्य सामग्रीको गुणस्तरमा उठायो प्रश्‍न

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपत्ति र संकटमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको  प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको उनले बताएका छन्।

`नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई कमीकम्जोरी औल्याउँदै कोरोनाको परीक्षणको दायरा व्यापक रुपमा बढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ', उनले भने, 'सरकारलाई त्यसका लागि अपिल गरेको छ। पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रक्रियाले हुन्छ व्यवस्थापन गर्न आजको बैठकले अपिल गरेको छ।'

स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए। बैठकले लकडाउन ठूलो जोखिमबाट बच्‍न भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रहसमेत गरेको उनको भनाइ छ।

हालै ल्याइएका स्वास्थ्य सामग्री प्रयोग गर्न नहुने स्वास्थ्यकर्मीहरूले बताएको  भन्दै ध्यानाकर्षण  भएको शर्माले बताए। `स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानबिन गर्ने र कारबाही गर्ने भन्‍ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपिल गर्ने भन्ने पनि निर्णय गरेका छौं,´शर्माले भने ।

कुनै पनि अनियमिततामा औंला ठड्याउने तर  पनि सरकारलाई सकटमा साथ दिने उनको भनाई छ। कांग्रेसले पर्यटन व्यावसायमा परेको असरबारे सरकारले अध्ययन गर्नुपर्ने माग सरकारसग गरेको छ।

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठ्यारोमा परेका नेपालीहरूलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्धार तत्कालै सरकारले गर्नु पर्ने भनेको छ। ज्यालादारी श्रमिकहरूलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरूलाई राहतको व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.