आवश्यक परे भोलिदेखि नै ल्याउँछौं : अम्लेखगन्ज डिपो प्रमुख

|

बारा।लकडाउनका  कारण देशभर यातायात क्षेत्र ठप्प छ। मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन पनि २ सातादेखि  बन्द छ। नेपाल आयल निगम अम्लेखगन्ज डिपोमा पनि भण्डारण क्षमता अभावका कारण पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइएको छैन। 

‘अब हामीसँग ३० लाख लिटर भण्डारण क्षमता मात्र खाली छ, हामीलाई कम्तीमा १२÷१५ घन्टा पाइपलाइन चल्ने गरी भण्डारण गर्ने ठाउँ भएपछि मात्र पुनः सञ्चालन गर्छौं’, अम्लेखगन्ज डिपो प्रमुख भरत रेग्मीले भने। अम्लेखगन्ज डिपोमा रहेका ११ ओटा ट्यांकीमा २ करोड ४ लाख लिटर डिजेल र १९ लाख २० हजार लिटर पेट्रोल भण्डारण क्षमता छ।  

जसमध्ये हाल डिजेल १ करोड ७२ लाख र पेट्रोल १८ लाख लिटर मौज्दात रहेको रेग्मीले बताए। मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनबाट प्रतिघन्टा १ लाख ८० हजार लिटर दरले डिजल भण्डारण गर्न सकिन्छ। हाल ३० लाख लिटर डिजेल भण्डारण खाली छ। तत्कालै पाइपलाइन सञ्चालन गर्नुपर्ने अवस्था पनि नभएको डिपोले जनाएको छ। ‘लकडाउनको पहिलो हप्ता हाम्रो बिक्री जिरो नै थियो,  दोस्रो साता लागेपछि विराटनगर, भैरहवा र काठमाडौंबाट गाडी आउन सुरु भए,’ रेग्मीले भने, ‘अहिले पनि हामीसँग भएको तेलको मौज्दातले १०/१५ दिन धान्छ,’ त्यसैले तत्कालै ढुवानीका लागि गाडी पठाएका छैनौं,’ उनले थपे, ‘आवश्यक परे भोलिबाटै पाइपलाइन सञ्चालन गर्न सकिन्छ।’ 

सामान्य अवस्थामा अम्लेखगन्ज डिपोबाट मात्रै दैनिक २० लाख लिटर डिजेल र ३ लाख लिटर पेट्रोल जनकपुर, भैरहवा, विराटनगर र काठमाडौंका लागि लोड हुने गर्छ। तर पछिल्लो २ सातामा सबैभन्दा धेरै सोमबार (चैत २४ गते)  ५ लाख ६० हजार लिटर डिजल भैरहवाका लागि ८ लाख ६४ हजार, विराटनगर २ लाख १२ हजार लिटर जनकपुर १ लाख लिटर, काठमाडौका लागि र १ लाख १० हजार लिटर पेट्रोल अम्लेखगन्ज डिपोबाट बिक्री भएको छ। 

‘लकडाउनको २ साताको अवधिमा सबैभन्दा धेरै हिजो मात्रै १ सय २० ओटा ट्यांकर लोड भएका छन्,’ उनले भने, ‘तराईका जिल्लातिर कृषकहरुले गहुँ काट्ने र चैते धान लगाउने बेला भएकोले कृषि प्रयोजनका लागि डिजल धेरै खपत भएको छ।’  

नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन चालु आर्थिक वर्षको भदौ २४ गतेदेखि  सञ्चालनमा आएको हो।  हाल रक्सौलबाट प्रेटोल र मट्टीतेल लोड भए पनि डिजेल भने भारतको पटनाबाट आयात भइरहेको छ। देशभरको कुल मागको ६० प्रतिशत माग धान्दै आएको अम्लेखगन्ज डिपोले देशभरका मुख्य सहरहरु जनकपुर, विराटनगर, चितवन, भैरहवा र थानकोटका लागि अमलेखगन्जबाट लोड हुने गर्छ। भण्डारण क्षमता अभावका कारण अम्लेखगन्ज डिपोले पेट्रोलियम पाइपलाइन ५ दिन चालु  गरी ३ दिन बन्द गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.