अहिलेसम्मको ठूलो र व्यापक सहभागितासहितको सत्याग्रह

|

डा सुशील कोइराला

विश्‍वभर फैलिएको कोरोनाको व्याधी ले गर्दा संसार लगभग ठप्प जस्तै छ। साथ साथै अहिले युद्धस्तरमा काेभिड-१९ प्रकोप र कोरोना भाइरसविरुद्ध लड्दै छ। संयुक्त राष्ट्रसंघका महासचिवले यस्लाई दोस्रो विश्‍वयुद्धपछिको सबैभन्दा ठूलाे चुनौतीका रुपमा चित्रण गर्नुभएको छ। त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस्लाई तेस्रो विश्‍वयुद्धको संज्ञा दिनुभएको छ। जर्मन चान्सलर एन्जेला मेर्केल यस्लाई दोस्रो विश्‍वयुद्धपछि जर्मनीले भोगेको सबैभन्दा ठूलाे चुनौती भन्नुभएको छ। यो असाधारण समय हो, एकप्रकारको विश्‍वव्यापी संकटकाल हो।

सबै आच्छुआच्छु

यो महामारीले नछोएको या प्रभाव नपरेको सायद नै कुनै देश होला। यसले विश्‍वव्यापी आर्थिकमन्दी ल्याउने जानकारी अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिसकेको छ। यो आर्थिक मन्दीमा सहयोग गर्न र त्यसको प्रभाव कम गर्न जी-७ राष्ट्रहरुले विभिन्न आर्थिक कार्यक्रम ल्याएका छन्। आर्थिक पाटो त छँदैछ, त्यो भन्दा पनि ठूलाे पक्ष अहिले संसारका प्राय ठूला शहर र आर्थिक केन्द्रहरु पूर्ण रुपमा बन्द छन्।

कुनै निमेष खालि नहुने र जहाज नउडेको पल नहुने विमानस्थलहरु चकमन्न छन्। करिब २४ घण्टा खुल्ने मेट्रोहरु,२४ घण्टा नै खुल्ने शहर, रातभर चल्ने डिस्को र बारहरु, अत्यन्तै आराम दायक क्रुजहरु, ठूला ठूला क्यासिनो, विद्यालय, विश्‍वविद्यालय, पार्क, सपिङ्ग मलहरु सबै बन्द छन्। ठूला साना कलकारखाना सबै ठप्प छन्।

संसारकै ठूलाठूला इभेन्टहरु, जस्तै ओलम्पिक, विम्बल्डन, ठूलाठूला खेलका आयोजना फुटबल, क्रिकेट लीगहरु सबै बन्द छन्। ठूलाठूला रंगशाला कि अस्पतालमा परिणत छन्, कि औषधिजन्य सामग्री राख्न प्रयोग भएका छन् या त पूरै सुनसान छन्। केवल खुला छन् त अस्पताल,आकस्मिक सेवा लगायतका अत्यावश्यक सेवाहरु। 

विश्‍वका महाशक्ति राष्ट्रहरु जस्तै अमेरिका, बेलायत, रुस, फ्रान्स , जर्मनी, इटाली, जापान, चिन सबै आक्रान्त छन्। प्राय: सबै देशलाई यो महामारी ले आच्छु आच्छु पारेको छ। लगभग घुँडा नै टेकाएको छ। संसारका कुनै आतंककारी वा कुनै रगस्टेटले गर्न नसकेको काम एउटा आँखाले देख्न नसकिने सूक्ष्म विषाणु भाइरसले गरेको छ। न कुनै साँध सिमाना, न कुनै सुरक्षायन्त्र, न कुनै गोला बारुद, बम , मिसाइल , हतियार, मिसाइल सिल्ड , प्रतिरक्षा प्रणाली, रकेट, आणविक हतियार, रसायन नै काम लागेको अवस्था छ।

विश्‍वका देसहरुको बजेटको ठूलाे हिस्सा हात हतियार र रक्षा सामग्रिमा खर्च हुनेगर्छ। गरिब राष्ट्रहरु पनि अत्यावश्यक स्वास्थ्य, शिक्षा लगायतका सेवामूलक काम भन्दा हात हतियार, खर खजानामा खर्च गर्न रुचाउन थालेका थिए। आज ती हातहतियार, गोलीगट्ठा र सैनिक फौजहरु प्रयोजनविहीन बन्न पुगेका छन्। 

आफुलाई अविजित प्राणि सम्झने मानव जाति फेरि एकपटक भाइरसको बन्धक हुन पुगेको छ। हामीमध्ये धेरैले त इन्द्रजित र विश्‍वजितको कथा सुनेकै थियौं। आज हामि मानव त्यही कथाका इन्द्र जस्ता भएका छौं। एउटा भाइरससामु लाचार छौं। ठूला ठूला जनावर, हात्ती, गैडा, सिंहलगायतलाई थुनेर चिडियाखानामा राख्ने मान्छे आज एउटा भाइरसका कारण घरमै बन्धक भएर हप्तौं , महिनौ घरभित्र सीमित रहन बाध्य छ। आज जनावरहरु निर्भीक विचरण गर्न स्वतन्त्र छन्। मानिस आफैंले बनाएको घरमा थुनिएको अवस्थामा छ।

विश्‍वभरि अहिलेसम्म १० लाखभन्दा बढीमा पुगिसकेको संक्रमण र करिब ७० हजारभन्दा बढी मृत्यु भैसकेको छ। संक्रमण र मृतकको संख्या विश्‍वका शक्तिशाली राष्ट्रहरुमा बढी छ। त्यसैले पनि यो विश्‍वको अहम चासोको विषय बनेको छ। यो महामारीले विश्‍वको शक्ति संरचना मै फेरबदल हुन सक्ने पनि अनुमान हुन थालेका छन्। कसैकसैले यसले विश्‍वलाई नयाँ सोच र परिवर्तनको बाटोमा जान बाध्य पार्ने कुराहरु पनि गरेका छन्। के होला के नहोला तर यो महामारीको बहुआयमिक प्रभाव हुनेमा कुनै दुईमत छैन।

अशान्तिभित्र मिलेको शान्ति 

बेल्जियमका  वैज्ञानिकहरुले मानवजातिका प्राय गतिविधि जस्तै : यातायात, हवाईजहाज ,आदिले  पृवीको चालमै केही परिवर्तन आएको बताएका छन्। तपाईं हामी सबैले सफा निलो आकाश, स्वच्छ हावा र शान्त वातावरण महसुस गरेकै हुनुपर्छ। दैनिक कोलाहल, दौडधुप र तनावबाट धेरैलाई केही समयका लागि भए पनि मुक्ति दिएको छ। अत्यावश्यक सेवामा काम गर्ने र रोगबाट संक्रमित या सम्पर्कमा आएका व्यक्तिहरु बाहेकलाई सोच्न, अध्ययन, चिन्तन मनन गर्न, लेख्न,  परिवारसँग समय बिताउन र एकान्तमा बस्न, ध्यान, योगा वा घरमै प्रार्थना गर्नको लागि समय मिलेको छ। जति द्वन्‍द्‍व, युद्ध गरे पनि, आखिर मान्छेको सत्रु मान्छे नभई अरु कोही हो र सम्पूर्ण मानव जगत एक हुनुपर्छ भन्ने चेतना पनि यो महामारीले दिएको छ।

आखिर कुनै त्यस्तो एउटा घटना सायदै होला जुनले सारा संसार एकैपटक प्रभावित पारेको होस्। यो घटनाले स्वास्थ्यको महत्व, जनस्वास्थ्यको महत्व कति सर्वव्यापी छ र हामी कसरी निरपेक्ष रहन सक्दैनौं भन्ने कुरा उजागर गरेको छ। जलवायु परिवर्तन होस् या गरिबी निवारणलाई सहयोग, या शरणार्थीका कुरा गर्दा जहिले राष्ट्रिय सुरक्षा र राष्ट्रिय अर्थतन्त्रको हवाला दिएर कुनै ठोस र परिवर्तनकारी कदम चाल्न इन्कार गर्ने विश्‍वशक्तिलाई पनि यसले सचेत गराएको छ।

नाकाहरुमा पर्खाल लगाउँदैमा, अध्यागमनमा नियन्त्रण गर्दैमा या आफ्नो देशको मात्रै सुरक्षाको चिन्ता गर्दैमा सुरक्षित हुन सकिन्न भन्ने देखाएको छ। अब सायद अमेरिकाले पनि वातावरण, जलवायु, जनस्वास्थ्य एवं स्वास्थ्य प्रणाली र समग्र राष्ट्रिय सुरक्षानीतिमा केही परिवर्तन गर्ला। जी ७ तथा जी २० मा आबद्ध राष्ट्रहरुले पनि अन्तराष्ट्रिय सहयोग तथा सहकार्यमा जोड देलान् भन्ने आशा गर्न सकिन्छ।

संयुक्त राष्ट्रसंघका महासचिले पनि विश्‍व फेरी पुरानो अर्थव्यवस्था पहिलेको अवस्थामा या यथास्थितिमा फर्किन नसक्ने बताइसक्नुभएको छ। त्यसैले अहिलेको संकट महामारी केवल जनस्वास्थ्यको समस्या नभएर आर्थिक, सामाजिक, राजनैतिक अन्तरास्ट्रिय शक्ति सन्तुलन सम्म पनि यसको असर पर्न सक्ने देखिन्छ।

यसले विश्‍वका शक्तिशाली राष्ट्र र तिनका शासकहरुको मुटुमा मात्र ढ्यांग्रो हानेको छैन। अहिले समग्र विश्‍व समुदाय जो आफै पीडित छ। बिरामी परेको छ। कतिले आफन्त गुमाएका छन्। हजारौं मान्छेले ज्यान गुमाएको टिभी, सामाजिक सञ्जालमा हेर्न अभिशप्त छन या घरभित्र थुनिएर बस्न बाध्य छन्। यसले जीवन, जगतको बुझाइमा,मान्छेको अन्तस्करणमा, हृदयमा र चेतनामा पक्कै प्रभाव पारेको हुनुपर्छ।

जुनकुरा अनुभवबिना सजिलै सिक्न सकिदैन यो कुरा यही महामारीले सिक्न र भोग्न बाध्य पारेको छ। जगत या विश्‍व परिवर्तनको आवश्यकताको कुरा त हामी प्राय सबै सधैं गर्थ्यौं र गर्छौ तर आफैं परिवर्तन भएनौं हुन चाहेनौं। तर यस विपदले हामीलाई परिवर्तन हुनुपर्छ भन्ने अनुभव गराएको छ। 

संयुक्त राष्ट्रसंघका महासचिवले पनि विश्‍व फेरी पुरानो अर्थव्यवस्था र पहिलेको अवस्थामा या यथास्थितिमा फर्किन नसक्ने बताइसक्नुभएको छ। त्यसैले अहिलेको संकट र महामारी केवल जनस्वास्थ्यको समस्या नभएर आर्थिक, सामाजिक, राजनैतिक र अन्तरास्ट्रिय शक्ति सन्तुलन सम्म पनि यसको असर पर्न सक्ने देखिन्छ।

साझा शत्रुविरुद्ध अहिंसात्मक लडाइँ

मानव जगतको ठूलाे हिस्सा र राष्ट्रहरु आज एउटा साझा शत्रुिवरुद्ध अहिंसात्मक लडाई लड्दै छ। विश्‍वको ध्यान एउटा विषयमा केन्द्रित भएको छ। विश्‍वभरिका बैज्ञानिकहरु रातदिन यसमा लागेका छन्। यो भाइरसविरुद्ध मानव विजय अवश्यम्भावी छ तर उक्त भाइरसलाई न संसार जित्नु छ, न हार्नु छ, न रिसराग र द्वेष छ। उ केवल आफ्नो प्राकृतिक काम गर्दै छ। तैपनि, जुन हैरानी, बेचैनी, पीडा, मृत्यु, र आतंक यसले मानव जगतमा सिर्जना गरेको छ त्यो कुनै आणविक हतियारभन्दा धेरै गुणा भारी भएको छ। लाग्छ मानव जातिलाई यो कुनै पाठ सिकाउन आएको भान हुन्छ।

रक्तबिजले हजारौं, लाखौँ, करोडौं, अर्बाैं रक्तबिज जन्माएको पौराणिक कथा जस्तै आज कोरोना भाइरस सारा संसारभर अर्बाैं भाइरस जन्माइराखेको छ। यो भाइरस युद्धमा मानवजातिले अहिंसात्मक युद्ध वा सत्याग्रह गर्नुको कुनै विकल्प छैन। लाग्छ भाइरस पनि गरिब देशप्रति कतै थोरै दयालु पो हो कि, छानी छानी धनी राष्ट्रहरुलाई नै आक्रमण गरेको छ। भलै यसो हुनमा आवतजावत, रहनसहन र त्यहाँको जनसंख्याको संरचना, सामाजिक व्यवहार र वातावरण पनि हुन सक्छ।

परिवर्तनको आशा र विश्‍वास

केहि परिवर्तनहरु देखिन नथालेका होइनन्। स्पेनले यसैबीच सबै जनतालाई न्युनतम कमाइ बराबरको रकम दिने व्यवस्था गर्ने कुरा आएको छ। विश्‍वव्यापी महत्वका विषयहरु जस्तै युनिभर्सल हेअल्थ कभरेज, युनिभर्सल इन्कम, जलवायु परिवर्तन, गरिबीका विषयमा पक्कै पनि पुन : नयाँ बहस सुरु गराउने छ।

अहिले कोरोनाविरुद्धको रेस्पन्सले विश्‍वले साँच्चिकै चाह्यो भने यी विषयहरुमा गम्भीर पहल गर्न र कठोर कदम चाल्न पनि प्रेरित गर्न सक्नेतर्फ आशावादी हुन सकिन्छ। यो महामारीले हामी मानवजाति यति धेरै वैज्ञानिक सफलता हासिल गरेर पनि हामी कति निरीह र कमजाेर छौं भन्ने कुरा एकपटक सम्पूर्ण मानव जगतलाई महसुस गराएको छ। तैपनि यो महामारीले नया प्रविधि, नवीनता र नयाँ आविष्कारहरु गराउने कुरामा पुरा विश्‍वास गर्न सकिन्छ। आशा मात्र होइन विश्‍वास गरौं भविष्य उज्जवल हुनेछ।

अन्त्यमा, युग परिवर्तन गर्न कहिले मान्छेले पहल गर्नुपर्छ त कहिले प्रकृति आफैंले त्यस्तो परिस्थिति निर्माण गरिदिन्छ। सधैं केही गरेर मात्रै होइन कहिलेकाहीँ केही नगरेर, निस्क्रिय रहेर, घरमै बसेर, शान्त रहेर, अहिंसात्मक उपाय र सत्याग्रहमार्फत पनि परिवर्तन गर्न सकिन्छ। जन्मदै गरेको नयाँ विश्‍व व्यवस्था र परिवेशलाई आत्मसाथ गर्दै अहिले प्रसव पीडामा रहेको दुनियाँलाई आवश्यक सहयोग गर्न सकिन्छ।

यसै सिलसिलामा छिमेकी देशका नेता मोदीले कहिले थाल ठटाउन लगाउने त कहिले दीयो जलाउन लगाउने कार्य गरेकोमा कतै त्यस्को विरोध/आलोचना त कतै समर्थन भएको छ। परेवा उडाएर शान्ति आउँछ र ? दीप प्रज्वलन गरेर, शान्तिको कामना गरेर या सुभकामना दिएर शान्ति आउँछ र ? हो तर यो पनि त्यस्तै अहिंसात्मक आन्दोलन हो। अहिंसात्मक रुपमा सांकेतिक कार्यक्रम हो। यसले कोरोना पराजित गर्ने होइन तैपनि यो लडाइँ हामी सबै एकजुट भएर लड्दै छौं है भन्ने सन्देश हो।

साथै कोरोनाले संसारकै अहिलेसम्मको ठूलाे र व्यापक सहभागिता सहितको सत्याग्रह जारी राखेर अहिंसा र सत्याग्रहको महत्व, घरपरिवारको महत्व,जीवन जगतको महत्व, स्वतन्त्रता र जिम्मेवारीबीचकाे अन्योन्यास्रित सम्बन्ध, विश्‍वबन्धुत्व र भाइचाराको महत्व बुझाउन र समग्र मानवजातिलाई एक हुन पक्कै पनि प्रेरित गरेको छ।

(डाक्टर कोइरालाद्वारा प्रस्तुत निजी विचार हुन्,यसमा उनी कार्यरत संस्थाको कुनै सम्बन्ध छैन।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.