घरमा सातामा दुई पटक पनि आउँदैन पानी

|

काठमाडौं : यतिखेर विश्व नै कोरोनाको त्रासले सुनसान छ। नेपालमा पनि कोरोनाकारण बन्दाबन्दीको अवधि बढेको बढ्यै छ। बन्दाबन्दी १६ औँ दिनमा प्रवेश गरिसकेको छ। 
बन्दाबन्दीको समयमा घर बाहिर निस्कन निषेध गरिएको छ। 

एकै ठाउँमा पाँचजना भन्दाबढी भेला हुन नपाइने घोषणा गरिएको छ। काठमाडौंका सडकदेखि भित्री गल्ली पनि सुनसान छन्। सधैँ व्यस्त रहने लैनचौर-बूढानीलकण्ठ सडक यतिखेर सुनसान छ। त्यस सडक आसपासमा विशिष्ट व्यक्तिको र कूटनीतिक नियोगका कार्यालयहरु छन्। 

लाजिम्पाटको मुख्य सडकदेखि २ सय मिटर भित्र ढुङ्गेधारा छ। दैनिक सयौं मानिस पानी लिन आउँछन्। ढुङ्गेधारामा काठमाडौं महानगरपालिकाको सूचना टासिएको छ। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट बच्‍न र बचाउन महानगरले टाँसेको सूचनालाई उल्लघंन गर्दै भीड बढिरहेको हुन्छ दैनिक

लकडाउन भए पनि मानिसलाई पानी त नभइ हुँदैन। पानी नभइ चुल्होमा आगो नबल्ने भएपछि आउनुपरेको बताउँछन सुजन तामाङ। उनी दिन बिराएर ढुङ्गेधारामा पानी लिन आउँछन्। 

अरु दिन परिवारका अन्य सदस्य पानी लिन आउने गरेको उनले सुनाए। उनले भने, 'देशभर लकडाउन भएको थाहा छ। काठमाडौंमा खानेपानीको समस्या छ। यही ढुङ्गेधारा भएकोले पिउने पानी पाएका छौँ।'

बाध्यताले यहाँ भीड बढेको छ। डराइ डराइ यहाँ आउनुपेको उनले सुनाए। 'दोकानमा पानी लिन जाऊँ भने दिनभर बन्द हुन्छ', उनले भने, 'यहाँ २४ घण्टा पानी आउँछ, त्यसैले पानी लिन यहाँ नआई हुँदैन।' घर-घरमा खानेपानीको व्यवस्था भए यसरी लाइन लागेर पानी थाप्‍न नआउने उनले सुनाए।

घरमा खानेपानीको धारा भए पनि हप्तामा २ पटक आउँछ। त्यही भएर ढुङ्गेधारामा पानी लिन आएको रानीबारीकी सुशीला न्यौपाने बताउँछिन्। 'लकडाउन भएपनि पानी त मानिसलाई चाहिन्छ,’उलने भनिन्, 'पानीको सहाराले बाँच्‍न सकिन्छ। रोग नलागे पनि पानी पिएर भएर प्राण त अडिन्छ नि।'

रहरले होइन, बाध्यताले दैनिक पानी लिन आइरहेको उनी सुनाउँछिन्। कोभिड-१९ बाट सुरक्षित रहन मास्क र हातमा पञ्जा लगाएकी छिन्। 'रहरले होइन, बाध्यताले बाहिर निस्कनु परेको छ,’ उनले भनिन,'पानि लिएर जाँदा बाटोमा प्रहरीले भेट्ने हुन् कि भनेर डर लाग्छ। पानी लिएर जाँदा केही नगर्लान् भन्‍ने आश छ।'

ढुङ्गेधारामा अहिले पनि मानिसको भीडभाड नघटेको स्थानीय रामकृष्ण महर्जन बताउँछन्। जस्तोसुकै बन्दमा पनि मानिस पानी लिन आउने गरेको उनले बताए।‘पानी जस्तो अति आवश्यक कुरा भएकोले मानिसले लकडाउनको उल्लंघन गरेको हुन सक्छन,’ उनले भने, 'सरकारले घर-घरमा पानीको व्यवस्था गरेको भए यसरी ढुङ्गेधारामा भीड हुँदैन थियो।'

घर-घरमा पानीको व्यवस्था भए जनताले यसरी ज्यानको जोखिम मोलेर ढुङ्गेधारमा पानी भर्न नआउने उनले बताए। 'घरमा पानी नभएपछि ढुङ्गेधाराबाट पानी पनि लान नपाए त  नागरिक कसरी बाँच्छन?', उनले प्रश्‍न गरे।

सरकारले नागरिकको घर-घरमा पानीको व्यवस्था गर्न सकेदेखि कोही बाहिर ननिस्किने उनको भनाइ छ। तर सामाजिक दूरी कायम नगरेको भए त्यसलाई व्यवस्थापन गरिने काठमाडौं महानगरपालिका वडा नम्बर ३ अध्यक्ष दीपक केसीले जानकारी दिए। पानी जस्तो अत्यावश्यक कुरालाई निषेध गर्न नमिल्ने उनले बताए। दूरीलाई व्यवस्थापन गरी पानी भर्ने व्यवस्थाका लागि समितिलाई आग्रह गरिने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.