परिवारलाई राहत उपलब्ध गराइने

|

बुटवल : बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दिकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११ औं दिनपछि बुधबार आफन्तले बुझेका छन्। 

उपचारको क्रममा मृत्यु भएका थापाको आज एघारौं दिनमा बल्ल दाहसंस्कार हुने भएको छ। सामाजिक विकास मन्त्रालयको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेपछि मृतकको शव उठाउन आफन्तहरु तयार भएका हुन्। 

अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका परिवारले मृत्युको वास्तविक कारण र क्षतिपूर्ति पाउनुपर्ने भन्दै शव उठाउन मानेका थिएनन्।मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा सामाजिक विकास मन्त्रालयका अधिकारीहरुको छलफलपछि पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो। निर्णय अनुसार मृतकका परिवारले ८ लाख रुपैयाँ पाउने गरी कोष खडा गरिएको छ। कोषमा पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख ५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ। 

त्यस्तै बैठकले मृतकका दुई छोराहरुले उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने तथा पत्नी रीतालाई सैनामैना नगरपालिकाले रोजगार उपलब्ध गराउने लिखित सहमति जुटाएको छ। स्वासप्रस्वासमा समस्या देखिएका कारण ११ दिनअघि मृत्यु भएका बाबुरामलाई ‘ट्राभल हिस्ट्री’ र उनमा देखिएको लक्षणका आधारमा लुम्बिनी अञ्चल अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो। 

बाबुराम अस्पताल भर्ना हुनुभन्दा एक साता अघि दुबईबाट स्वदेश फर्केका थिए। यहाँ आएलगत्तै उनमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने जस्ता लक्षणहरु देखापरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.