अन्य बेलाभन्दा धेरै खाद्य पदार्थ भित्रियो

|

पर्सा : मधेस आन्दोलनका समयमा लुकाएर बेच्न पल्केका उद्योगी व्यापारीले लकडाउन सुरु भएपछि पनि खाना पकाउने ग्यास लुकाएर बेच्ने प्रयास नगरेका होइनन्। 

तर लकडाउनका समयमा वीरगन्ज लगायत मुलुकको विभिन्‍न नाकाबाट ग्यास आउने क्रम नघटेपछि र सरकारको कडाइले उनीहरुको षडयन्त्र उति सफल हुन सकेन। 

मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र कोरोना भाइरसको विश्व महामारीमा नेपाल भारत दुवैतर्फ लकडाउन चलिरहँदा गएका १५ दिनमा मात्र, १ करोड ६ लाख ४७ हजार ९४० किलो एलपी ग्याँस नेपाल भित्रिएको छ। 

ग्यास त फालाफाल हुनुपर्ने 

लकडाउन सुरु भएकै समयमा भारतको बरौनीमा थोरै प्रसोधनमा एक दुई दिन हल्का समस्या भए पनि खासै ग्यासको आपूर्तिमा कमी भएको छैन। 

अहिले भने बरौनीबाट वीरगन्ज नाकाको बाटो भई ग्यास लगायत पेट्रोलियम पदार्थ आयात पूर्ववत अवस्थामा नै आइरहेको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख रामकुमार न्यौपानेले बताए। ‘ग्यास त फालाफाल हुनुपर्ने हो। भारतको बरौनीबाट पर्याप्त ग्यास आइरहेको छ’, उनले भने। 

ग्याससँगै खाद्य सामग्री निरन्तर 

बुधबार मात्र ४९ गाडी ग्यास नेपाल भित्रियो। मंगलबार ४१ गाडी, सोमबार ५३ गाडी र आइतवार १०४ गाडी ग्यास आइरहेको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सकुमनीले बताए। 

वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्यासको अलावा दैनिक रुपमा धान, चामल, मकै, आलु, ताजा टमाटर, प्याज, अन्य तरकारी जस्ता दैनिक उपभोग्य खाद्य सामग्री आइरहेका छन् उनले थाहाखबर सँग भने।

लकडाउन सुरु भएयता मकै मात्र पूर्ववत अवस्थाभन्दा ६ लाख २७ हजार १४० बढी किलो बढी आएको छ। 

लकडाउन सुरु भएका १५ दिन र उताका १५ दिनको तुलनामा उताका दिनमाभन्दा अझ यताका दिनमा नै बढी मकै आयात भएको तथ्यांकले देखाएको छ।

लकडाउन सुरु हुनुपूर्वका १५ दिनमा ३ लाख ४ हजार ७५० किलो मात्र मकै आएको थियो। तर यो लकडाउनको सोही अवधिमा ९ लाख ३५ हजार ८९० किलो आएको छ उनले भने। 

आलु सतप्रतिशत बढ्यो, धान, चामलको पनि

लकडाउन सुरु हुनुपूर्वका १५ दिनमा एक केजी पनि नआएको आलु लकडाउन सुरु भएदेखि मंगलबारसम्ममा १ लाख ९१ हजार किलो पैठारी भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याँकले देखाएको छ। 

यो अवधिमा धान २४ लाख २९ हजार ६८४ किलो चामल ११ लाख ८१ हजार ४५० किलो पैठारी भएको वीरगन्ज भंसार कार्यालयका भन्सार अधिकृत सकुमनीले बताए। 

त्यसै गरी गहुँ १ लाख ३२ हजार किलो, ताजा टमाटर २ लाख ५० हजार ३५८ किलो, प्याज २ लाख २८ हजार ९०० किलो, अन्य तरकारी २ लाख ६४ हजार ९७४ किलो, यहि लकडाउनको समयमा आयात भएको उनको भनाइ छ। 

वीरगन्ज भन्सार नाका जस्तै मुलुकका अन्य साना ठूला नाकाबाट अत्यावश्यकीय खाद्य सामग्री र पेट्रोलियम पदार्थ नआउने कुरै भएन। 

लकडाउनको कारण ठाउँ ठाउँमा माल लोड अनलोड गर्ने मानिस र कोलकत्ता पोर्ट तथा भन्सार विन्दुहरुमा केही विलम्ब हुनु स्वभाविक हो। 

थोरै विलम्ब हुनासाथ सामान नै आएन भन्ने अवस्था होइन। निरन्तर सबै सामान आइरहेकै छ। डिजेल पेट्रोल जस्ता केही खपत कम भएका मालबस्तुहरु भने केही कम आएको वीरगन्ज भन्सारको तथ्याँकले देखाएको छ। 

स्वास्थ्य सामग्रीतर्फ ११ लाख ४५ हजारको डाइग्नोसिस किट, एजानिमेश ग्लबस् ६२ हजार २०० पीस आएको छ भने औषधि पनि १ लाख ८९ हजार ६५२ केजी यही नाकाबाट मात्र आएको छ भन्सार अधिकृत सकुमनीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.