|

बैतडी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बैतडीमा १ करोडको राहत कोष स्थापना गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरुले धमाधम राहत कोष स्थापना गर्न थालेका हुन्। बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरेर राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन्‌। सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर १३ लाख रुपैयाँ जम्मा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले प्रदान गरेको ३५ हजार रुपैयाँ पनि त्यसै कोषमा राखिएको छ।

सुर्नया गाउँपालिकाले २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। पाटन नगरपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २० लाख रुपैयाँ रकम विनियोजन गरेको छ। 

जिल्लाको दोगडाकेदार गाउँपालिकाले २९ लाख रुपैयाँको राहत कोष स्थापना गरेको जनाएको छ भने शिवनाथ गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर राहत कोष स्थापना गरेको छ। यसमा अरुले पनि रकम जम्मा गर्न सक्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। 

मेलौली नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १० लाख रुपैयाँ रकम अघि नै छुट्याएको र कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सोही शीर्षकबाट खर्च गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए। 

यस्तै सिगास गाउँपालिकाले कोरोना भाइरस रोकथाम १२ लाख रुपैयाँको राहत कोष स्थापना गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिएका छन्‌। जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि राहत कोष स्थापना गर्ने कुरा कार्यपालिकाबाट बैठकबाट पारित गर्ने तयारी गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए। 

पञ्चेश्वर गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपैयाँ बराबरको राहत कोष स्थापना गरेको वडा नं ३ का वडा अध्यक्ष मीनबहादुर चन्दले जानकारी दिए। 

पुर्चौंडी नगरपालिकाले पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने र थप आवश्यक परेमा अन्य शीर्षकबाट त्यसै कोषमा रकम जम्मा गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरको भनाई छ। कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको यहाँका स्थानीय तहहरुले जनाएका छन्। 

अहिलेसम्म देशरभर फेला परेका नौ जना कोरोना संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै रहेकाले यहाँ उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको प्रदेश रहेकोले यहाँ संक्रमणको जोखिम उच्च छ। लकडाउनले सीमानाका बन्द रहेको भएपनि अवैध रुपमा महाकाली तरेर तथा चोरबाटोबाट नेपाल भित्रिने क्रम नरोकिएकोले यहाँ जोखिम बढ्दै गएको हो। 

प्रशासनद्वारा पाँच बुँदे निर्देशन जारी

कोरोनाको जोखिम न्यूनीकरणका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले पाँच बुँदे निर्देशन जारी गरेका छन्‌। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम लकडाउनलाई पूर्ण पालना गराउन आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल दिनमा दुई पटक मात्रै खोल्न पाउने र सामाजिक दुरी कायम गरेर मात्रै बेचबिखन गर्न आदेशमा भनिएको छ। 

बिहान ७ बजेदेखि ९ र अपराह्न ४ बजेदेखि ६ बजे सम्म मात्रै अत्यावश्यक पसलहरु खोल्न पाइने आदेशमा उल्लेख गरिएको छ। यस्तै विभिन्न बहानामा मदिराको बिक्रीवितरण तथा सेवन गर्नेलाई कानुन अनुसार कारवाही गर्ने आदेशमा उल्लेख गरिएको छ। अवैध सीमा वारपार, हिडडुल, मर्निङ वाक, खुल्लाचौर र बाटोघाटोमा हुने अनावश्यक भीडभाडलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ। 

अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासनबाट जारी गरिने सबै प्रकारको सवारी पास बन्द गरिएको आदेशमा उल्लेख गरिएको छ। यसैगरी लकडाउनको अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई पूर्ण रोक लगाइएको आदेशमा उल्लेख गरिएको छ। 

आदेश उल्लेख भएका कुराहरु कसैले अवज्ञा गरेमा कानुन बमोजीम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.