राष्ट्रपतिदेखि सुरक्षाकर्मीले रकम जम्मा गरेको जिकिर

|

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि प्रहरीको तलब काटिएपछि चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने झुटको खेती गरिएको जिकिर गरेका छन्। 

प्रहरी प्रधान कार्यालयले अधिकृतस्तरका कर्मचारीको सात दिनको तलब सरकारी राहत कोषमा बुझाउन मातहतका सबै निकायलाई परिपत्र गरेपछि सामाजिक सञ्जालहरुमा तीव्र आलोचना भइरहेको छ। प्रहरी जवान र हवल्दार भन्दामाथिका सबै प्रहरी कर्मचारीको तलब राहत कोषमा बुझाउन प्रहरी प्रधान कार्यालयले परिपत्र गरिसकेको छ।

प्रेस सल्लाहकार थापाले कोरोना भाइरसको संक्रमणसँग जुधन गठित राष्ट्रिय कोषमा नेपाल सरकारले ५० करोड छुट्याउने निर्णय शुरूमै मन्त्रिपरिषद बैठकबाट गरेको बताएका छन्। उनले उक्त कोषमा राष्ट्रपतिले दुई महिनाको पारिश्रमिक जम्मा गरेको पनि स्मरण गराएका छन्। 

थापाले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूले एक महिनाको पारिश्रमिक शुरूमै दिने निर्णय भएर जम्मा पनि भइसकेको उल्लेख गरेका छन्। प्रधानमन्त्रीको सचिवालयबाट सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गरेको बताएका छन्। 

संघीय संसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेर जम्मा गरिसेकको उनको तर्क छ। यस्तोमा सबै जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीले पनि आफ्नो क्षमता अनुसार रकम जम्मा गर्ने निर्णय भएकोमा यसलाई अनावश्यक इस्यु बनाइएको तर्क उनले गरेका छन्।

'सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ', उनले भनेका छन्, 'यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेकाहरूले यस सार्वजनिक तथ्यमा पर्दा हालेर झुटको खेती नगरेकै राम्रो!'

उनले सुरक्षाकर्मीको मात्रै रकम नकाटिएको तर्क गर्दै यो बेलामा खटिने उनीहरुलाई भत्ताको पनि व्यवस्था गरिएको बताएका छ्न। 'रोकथाम र उपचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामको जोखिम र घेरा हेरी विशेष भत्ता र बीमाको व्यवस्था गरिएको छ', उनले भनेका छन्,  'यस कुराको जानकारी  प्रधानमन्त्रीले चैत २५ गते राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा प्रष्ट गरिसक्नुभएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.