|

डडेल्धुराः कोरोना भाइरस परीक्षणका लागि डडेल्धुरामा एकसय ९९ जनाको नमुना संकलन गरिएकोे छ। यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’  संकलन गरिएको हो।

बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम) यहाँ ल्याइएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको थियो। डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरिरहेको हो।

डडेल्धुरा सदरमुकामनजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एकसय ९९ जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको हो।

जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिको त्रिवेणी बहुमुखी क्याम्पस र सादनीबाट ‘थ्रोट स्वाब’ संकलन गरिएको हो। अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमुना संकलन गरिएको प्रजिअ पन्तले बताए।

थ्रोट स्वाब’ संचालनका लागि जिल्लाकै स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। १ सय ९० थान भिटिएम सेनाको हेलिकोप्टरमार्फत जिल्लामा पठाइएको थियो। बाँकी ९ वटा भिटिएम डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालले व्यवस्थापन गरेको जनाइएको छ। डडेल्धुराका १०७ जना क्वारेन्टाइनमा बसेका र अन्य होम क्वारेन्टाइन रहेका व्यक्तिको नमुना संकलन गरी बिहीबार नै धनगढी हुँदै काठमाडौं पठाइएको छ।

नेपाल लकडाउन भएकै दिन चैत ११ गते गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले गाडीको व्यवस्था गरी जिल्लामा पठाएर क्वारेन्टाइनमा राखिएको थियो। सो नाकाबाट आएकामध्येबाट कैलालीका एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसँगै आएका तथा अन्य व्यक्तिमा कोरोनाको परीक्षण गर्न स्वाब संकलन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.