|

भद्रपुर (झापा) : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन छ। छिमेकी मुलुक भारतसँग जोडिएको सीमावर्ती झापामा पहाडी जिल्लाभन्दा बढी त्रास छ। 

कोरोनाको सम्भावित संक्रमणबाट जिल्लावासीलाई सुरक्षित राख्न जिल्ला कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिसहित १५ वटै स्थानीय तह लागि परेका छन्। अनुगमन समितिसहित जिल्ला १५ वटा स्थानीय तहमा स्थापना गरिएका कोरोना राहत तथा विपद् व्यवस्थापन कोषमा पाँच करोड २२ लाख २४ हजार ८१७ रुपैयाँ जम्मा भएको छ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार स्थानीय तहको तर्फबाट चार करोड ९३ हजार रुपैयाँ जम्मा गरिएको छ भने बाँकी रकम जिल्लाका विभिन्न सङ्घसंस्था तथा दाताहरूले स्वेच्छिक रूपमा कोषमा रकम जम्मा भएको छ। 

कुन स्थानीय तहमा कति रकम जम्मा ?

अनुगमन समितिका संयोजक पोर्तेलका अनुसार बिर्तामोड नगरपालिकाले सबैभन्दा धेरै रकमको कोष स्थापना गरेको छ। बिर्तामोडको कोषमा ८३ लाख ८६ हजार ६९५ रुपैयाँ जम्मा भएको छ। जसमा नगरको तर्फबाट ५० लाख रुपैयाँ रकम जम्मा गरिएको छ। 

त्यस्तै, दमक नगरपालिकामा ५७ लाख १० हजार रुपैयाँको कोष स्थापना भएको छ। कोषमा ३० लाख रुपैयाँ नगरले जम्मा गरेको छ। बाह्रदशी गाउँपालिकामा ५५ लाख रुपैयाँको कोष स्थापना गरिएको छ।

कनकाई नगरपालिकामा ४३ लाख १४ हजार ९२२ रुपैयाँको कोष स्थापना गरिएको छ। कोषमा नगरले ३० लाख रुपैयाँ जम्मा गरेको छ। त्यस्तै, मेची नगरपालिकामा ४० लाख ८५ हजार रुपैयाँको कोष स्थापना गरिएको छ। कोषमा ३५ लाख रुपैयाँ नगरले जम्मा गरेको छ। अर्जुनधारा नगरपालिकामा १६ लाख ५१ हजार रुपैयाँको कोषमा १५ लाख रुपैयाँ नगरपालिकाले जम्मा गरेको छ। कचनकवल गाउँपालिकामा ३२ लाख ६६ हजार रुपैयाँको कोष गाउँपालिकाको तर्फबाट ३० लाख रुपैयाँ जम्मा गरिएको छ।

त्यसै गरी कमल गाउँपालिकामा १९ लाख रुपैयाँको कोषमा गाउँपालिकाले १० लाख रुपैयाँ जम्मा गरेको छ। गौरादह नगरपालिकामा ३३ लाख २२ हजार रुपैयाँको खडा गरेको कोषमा नगरले ३० लाख रुपैयाँ जम्मा गरेको छ। गौरीगञ्ज गाउँपालिकामा ३७ लाखको कोषमा ३३ लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ।

झापा गाउँपालिकामा ३५ लाख रुपैयाँको कोषमा २५ लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ। बुद्धशान्ति गाउँपालिकामा १२ लाख ३२ हजार रुपैयाँको कोषमा १० लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ। भद्रपुरमा २७ लाख ९३ हजार रुपैयाँको कोष स्थापना गरेको छ। कोषको सम्पूर्ण रकम नगरपालिकाकै रहेको जनाइएको छ। 

त्यस्तै, शिवसताक्षी नगरपालिकाले १५ लाख रुपैयाँको कोषमा १० लाख रुपैयाँ नगरले जम्मा गरेको छ। हल्दीबारी गाउँपालिकामा १९ लाखको कोषमा १० लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ । 

जिल्लाको कोषमा रकम जम्मा भएन

जिल्ला समन्वय समिति झापाले ५० लाख रुपैयाँको कोरोना रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेको छ। सो कोषमा जिल्लाका आठ नगरपालिकाले ती रतीन लाख रुपैयाँ तथा सात गाउँपालिकाले दुई÷दुई लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको थियो।

स्थानीय तहले खडा गरेको कोषभन्दा पहिला नै जिल्लामा कोष स्थापना गरिएको हो। तर, अहिलेसम्म जिल्लाको कोषमा तीनवटा स्थानीय तहबाहेक अन्य पालिकाले रकम जम्मा नगरेको समितिका प्रमुख पोर्तेलले बताए।

उनका अनुसार कोषमा सबै स्थानीय तहले रकम जम्मा गरेको खण्डमा ३८ लाख रुपैयाँ जम्मा हुन्थ्यो र बाँकी रकम दाता र सङ्घसंस्थालाई जम्मा गर्न आह्वान गरिएको थियो। 

करिब ४० हजार विपन्न परिवारलाई राहत 

लामो लकडाउनले जिल्लाका असहाय, गरिब, विपन्न, मजदुर परिवारलाई चलाउन समस्या परेपछि झापाका सबै स्थानीय तहले सरकारको निर्देशन बमोजिम राहत वितरण कार्यलाई तीव्रता दिएको छ। 

स्थानीय पालिकाले वडा कार्यालय र टोल विकास संस्थामार्फत करिब ४० हजार घरधुरीलाई करिब आठ लाख किलो चामल वितरण गरेको जिल्ला समन्वय समिति झापाले जनाएको छ। यस केही स्थानीय तहको विवरण आउन अझै बाँकी छ।

अहिलेसम्मको विवरण अनुसार ३६ हजार ८०३ घरधुरीमा ८४ हजार ८८० विपन्न सदस्यका लागि ९० हजार किलो दाल, ५३ हजार किलो नुन, ३४ हजार लिटर खाने तेल, २५ हजार साबुन वितरण गरिएको छ।

केही स्थानीय तहले चाउचाउ, आलु, चिउरा, चिया पत्ती, चिनी, अण्डा समेत वितरण गरेका छन्। भद्रपुरले खाद्यान्नसँगै नगरवासीका लागि १३० कार्टन चाउचाउ वितरण गरेको छ।

बुद्धशान्ति र भद्रपुर नगरपालिकाले ४५ हजार ४२५ केजी आलु वितरण गरेको बताइएको छ। दमक नगरपालिकाले खाद्यान्नसँगै तीन हजार ६१६ किलो चिउरा वितरण गरेको छ। भद्रपुर नगरपालिकाले १३० केजी खाद्यन्नसँगै चिनी समेत वितरण गरेको छ। कनकाई नगरपालिकाले खाद्यान्नसँगै ६३० क्यारेट अण्डा वितरण गरेको बताइएको छ।

भुटानी शरणार्थी शिविरमा चामल वितरण 

तेस्रो देश पुनस्र्थापना भई झापा र मोरङका शिविरमा बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहत स्वरुप चामल उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई स्थानीय प्रशासनको समन्वय र सहयोगमा बिहीबार शिविरमै पुगेर झण्डै पाँच लाख रुपैयाँ बराबरको १० हजार केजी चामल उपलब्ध गराएको हो । बेलडाँगी शिविरका १६ सय र पथरी शिविरका ५२० परिवारका लागि चामल उपलब्ध गराइएको संघका अध्यक्ष टिकाराज ढकालले बताए ।

स्थानीय गाउँ–शहरमा मजदूरी गरी जीविकोपार्जन गर्दै आएका ती शरणार्थीहरु कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामविहीन भई समस्यामा परेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उनीहरुलाई सहयोग गर्न गरेको आग्रह अनुसार खाद्यान्न उपलब्ध गराइएको संघका अध्यक्ष ढकालले बताए ।

जिल्लाका चिया उदोगी, चामल उद्योगी, सिमेन्ट, भेनियर तथा प्लाईउड उद्योगीबाट संकलन गरिएको सो राहत सामग्री प्रजिअ राना, संघका अध्यक्ष ढकाल, उपाध्यक्ष दिपेश ढकाल, कोषाध्यक्ष अरविन्द अग्रवाल, सदस्य विनोद वस्नेत लगायतको टोली शिविरमै पुगेर त्यहाँको समितिलाई एकमुष्ट रुपमा हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.