|

सल्यान : कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन लगाइएकै बेला गहुँ पाकेपछि सल्यानका किसानलाई यतिखेर बाली भित्र्याउन चटारो परेको छ। जिल्लामा धान पछि गहुँ नै मूख्यबाली हो।

यतिबेला खेतबारीमा पहेलपुर भएर पाकेको गहुँ भित्र्याउन  किसानहरू जुटेका छन्‌। समयमै पाकेको गहुँ नभित्र्याए पछि के खाने भन्ने चिन्ताले आफूहरु हिजोआज गहुँ काट्नमै व्यस्त हुने गरेको कुमाख गाउँपालिका ३ का किसान गुमानसिंह रावतले बताए। उनले भने, 'गरिब मान्छे! पाकेको बाली समयमै नभित्र्याए पछि के खाने? कोरोनाको डर मान्दै घरभित्रै बसेर भएन, खानलाई बाली त भित्र्याउनै पर्‍यो नि!' 

कोरोनाको डरभन्दा मौसममा देखिने बदलीले आफूहरूलाई बढी सताउने गरेको अर्का किसान हुतिराम केसीले बताए। घरका सबै परिवार लागेर बिहान-दिउसो गहुँ काट्नमै व्यस्त हुने गरेको उनले जानकारी दिए। उनले भने, 'आकाशको भर छैन, कतिबेला असिना पर्छ र पाकेको गहुँ झारिदिन्छ भन्ने चिन्ता छ, हामीलाई कोरोनाभन्दा पाकेको गहुँ कसरी भित्र्याउने बढी चिन्ता छ।'

कोरोना भाइरसबाट बच्न घर परिवारका सदस्यहरु मात्र मिलेर गहुँ भित्र्याउने गरेको अर्का किसान विरेन्द्र केसीले बताए। पाकेको गहुँ बाली समयमै भित्र्याउन पाए आनन्दसँग बस्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.