|

कञ्चनपुर : कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम गर्नका लागि देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्तहलिया परिवारलाई परेको छ।
 सुदूरपश्चिम प्रदेशमा बसोवास गर्ने मुक्त हलिया परिवारलाई साँझ-विहानको छाक टार्न निकै मुस्किल भएको छ।

दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा भोकै बस्नुपरेको छ। मुक्तहलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाइएको बताए।

'छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरूले समेत दिन छाडेका छन्। खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ' उनले भने। स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँडदै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन्। 

'कोरोना भाइरसको संक्रमण हुनबाट जोगिनका लागि घरबाट बाहिर ननिस्कन भनिएको छ' मानध्वज लुहारले भने, 'घरभित्र खानका लागि केही छैन। भोकै बस्न सकिँदैन। गाउँमा गएर मागेर ल्याउनु परेको छ। गाउँमा समेत स्थानीयले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ।' 

राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले देश लकडाउन भएको १९ दिन वितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए। नेपाल सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अति विपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ' उनले भने, 'राहत पाउनेमा थोरै नगन्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्। अधिकांश परिवार राहत पाउन बाट बञ्चित रहेका छन्। कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतमा राखी राहत वितरण गरिनु पर्दछ।' 

धेरै मुक्त हलिया परिवार भोक भोकै बसेको खवर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनु पर्ने उनको भनाई रहेको छ। मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थालगायत सरोकारबाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलव्ध गराई दिन समेत उनले आग्रह गरेका छन्।

लकडाउनको पालना सँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्तहलिया संगठन, मुक्त हलिया अगुवालाई अध्यक्ष सुनारले भनेका छन्। सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोवास रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.