रामचन्द्र र शशांकसँग सभापतिको झगडा

|

काठमाडौं : २०७६ साल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा सुखद सुरुवात भयो। हिमाल, पहाड, तराई, मधेश नेपाली कांग्रेस राष्ट्रिय जागारण अभियान घोषणा गरेर तीन चरणको कार्यक्रम सार्वजनिक भएको थियो।

यस अन्तर्गत २ चरणको कार्यक्रम पनि सम्पन्‍न भइसकेको थियो। यस अभियानबाट कांग्रेसले आफ्नो पक्षमा जनमत बढ्ने विश्वास पनि लिएको थियो। एउटा वैशाखमा र अर्को भदौमा गरेर २ चरणको अभियान सम्पन्‍न भएका थिए।

अनि सुरु भयो किचलो

आन्तरिक सहमतिका साथ अभियान चलाइरहेको कांग्रेसमा पुरानो किचलो फेरि सुरु भयो। त्यो हो गुटको राजनीति। २०७६ फागुनमा कार्यकाल सकिने भएपछि सभापति शेरबहादुर देउवाले त्यसअघि गर्नुपर्ने जिल्ला, नगर, क्षेत्र कहीँकतैको पनि निर्वाचन गरेनन्।

कार्यतालिका निर्वाचन कार्यक्रम नल्याएर कार्यकाल लम्ब्याउने रणनीति उनले सुरु गरे। अन्ततः उनी कार्यकाल थप्‍न सफल पनि भए। तोकेको मितिमा भइहाले २०७७ फागुनमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हुनेछ।

कांग्रेसमा महाधिवेशन गर्ने विषय र अधिवेशन भएको केही समयमै सम्पन्‍न गर्नुपर्ने महत्वपूर्ण विभाग गठन कार्यकालका अन्तिम दिन सभापति देउवाले पूर्णता दिएको विषयले निकै किचलो निम्त्यायो।

१४औँ महाधिवेशनमा पनि आफू नै सभापति बन्‍ने दाउका साथ आफ्नो गुटका नेतालाई महत्वपूर्ण विभागको जिम्मा दिएका देउवालाई केही समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र तेस्रो गुटको नेतृत्व गर्दै आएका कृष्णप्रसाद सिटौलाले अत्याए।

तर देउवा गलेनन्। उल्टै सिटौला गुटका केही नेतालाई महत्वपूर्ण मानिएका विभागको जिम्मा दिएर पौडेललाई एक्ल्याइदिए। सभापति देउवाको कार्यशैली ठीक नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका सिटौला एकाएक मौन भए। वरिष्ठ नेता पौडेल भने पछि हटेनन्। देउवाले पेलिरहे पनि उनी बोलिरहे।

पौडेल गुटको सभापति भेला

सभापति देउवाको कार्यशैलीमा प्रश्‍न उठाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमै आफू निकटका जिल्ला सभापतिलाई काठमाडौंमा उतार्‍यो।

देउवाले एकलौटी ढंगले पार्टी चलाएको भन्दै जिल्ला सभापतिहरूले मोर्चाबन्दी गरे। सभापति देउवा पार्टीको विधानविपरीत चलेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा पार्टी कार्यालय सानेपामा पुस २१ गते करिब ४० जिल्लाका सभापतिहरू भेला भए।

पार्टी कार्यालय सानेपामा भेला भएका जिल्ला सभापतिहरूको पार्टी सभापतिलाई एउटै प्रश्‍न गरे, ‘पार्टीको विधान मिच्ने अधिकार कसले दियो?, पार्टी विधानको धारा निलम्बन गर्दा नेताहरूको बीचमा सहमति हुन जरुरी छ कि छैन?, आमकार्यकर्ताको धारणा बुझ्नुपर्छ कि पर्दैन? जिल्ला सभापतिहरुले पार्टीलाई जीवन्त राख्‍न भेला भएको धारणा पनि राखे।

पौडेलले डाकेको भेलालाई सभापति देउवाले चुनाव हार्नेहरुले डाकेको भेलाको कुनै अर्थ नरहेको भन्दै जवाफ फर्काए। देउवाले सहमति नभएपछि पुस ११ गते एकलौटी ढंगले पार्टी विधानको केही धारा निलम्बन नै गरे। जिल्ला सभापतिहरुले देउवाको निर्णयलाई निरंकुशसमेत भने। पार्टी नीति, विधि, विधान र सिद्धान्तअनुसार चल्नुपर्ने आवाज जिल्ला सभापतिहरुले उठाए।

नफुकेको देउवा-पौडेल विवादको गाँठो 

दुई पक्षको सहमतिका लागि भन्दै केन्द्रीय कार्यसमितिको बैठक पटक-पटक स्थगित भयो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विभाग गठन, महाधिवेशन कार्यतालिका र भ्रातृसंस्थाको विषयमा सहमति नहुँदा कयौँ बैठक बस्‍नै सकेन।

पौडेल पक्षले केन्द्रीय कार्य समिति बैठक धेरै पटक बहिष्‍कार गर्‍यो। पौडेल पक्षले बैठक बहिष्‍कार गरिरहेपछि सभापति देउवाले पौडेललाई फकाउने प्रयास जारी राखे। दुवै पक्षबाट वार्ता टोलीसमेत गठन गरियो।

दुवै पक्षले छलफलको लागि थलो भने चाक्सीबारीलाई बनाए। पौडेल पक्षको हरेक गोप्य छलफल प्राय यहीं हुन्छ।  कांग्रेसको विवाद समाधानका लागि पौडेल पक्षबाट नेता प्रकाशमान सिंह र सभापति देउवा पक्षबाट पार्टीका उपसभापति विमलेन्द्र निधि वार्ता टोलीका संयोजक बनायो। 

प्रकाशमान सिंह र विमलेन्द्र निधिले पटकपटक चाक्सीबारीमा छलफल गरे।  गत मंसिर २६ गते बिहीबार कांग्रेसको केन्द्रीय समितिको बैठक डाकिएको थियो। उक्त बैठक वरिष्ठ नेता पौडेल पक्षले बहिष्कार गरेपछि सभापतिले एजेण्डा प्रस्तुत गर्न सकेनन्।

सभापति देउवाले भएका २८ विभागलाई चलायमान बनाउन नसकिरहेको बेला बढाएर ४१ विभाग बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफलका लागि कैयौँ पटक बैठक चलाएनन्।  

त्यसपछि पुस १० गतेलाई डाकिएको बैठक पनि सूर्य ग्रहणलाई बाहना बनाउँदै ११ गतेलाई सारियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका गतिविधिलाई खबरदारी गर्नुपर्ने हो तर, कांग्रेसलाई आन्तरिक द्वन्द्व मिलाउन नै फुर्सद भएन।

मंसिर २६ गतेको पहिलो बैठक बहिष्कार गरेपछि भोलिपल्ट देउवा बिमलेन्द्र निधिलाई साथमै लिएर पौडेल निवास बोहोराटार हाइट पुगे। आफ्नै निवास आएका सभापति र उपसभापतिलाई पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने र विभाग गठन लगायतको पुरानै अडान दोहोर्‍याएपछि छलफलले निचोड निक्लिएन।

देउवाले विभाग गठनको काम सकेपछि महाधिवेशन कार्यतालिका ल्याउने प्रतिवद्धता गरे पनि पौडेलले अडान छोडेनन्। बरु पार्टीको बैठक छोडेर पौडेल परिवारको साथ पाथीभरा दर्शनमा गए। यसबीचमा देउवाले निधिलाई महामन्त्री शशांक कोइरालासँग भेट गर्न कोइराला निवास महाराजञ्ज पठाए।

कोइरालासँग छलफल गरेपछि उपसभापति निधि पौडेल पक्षका नेता प्रकाशमान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारी पुगे। सिंह निवासमा त्यस दिन विभाग गठन र महाधिवेशनको कार्यतालिकासँगै पेश गर्ने विषयमा छलफल भएको छलफल भएको थियो। छलफल भए पनि दुई पक्षबीच सहमति भने हुन सकेन।

पौडेलसँग मात्रै छलफल गरेर समाधान नहुने निचोडमा पुगेका सभापति देउवाले वरिष्ठ नेता प्रकाशमान सिंहलाई भेट्न निधिलाई खटाए। दुई नेताको भेट पछि पनि कांग्रेसको बैठकमा एजेण्डाहरु प्रस्तुत भएनन्।

विवाद समाधान हुने छाँट नदेखेपछि कांग्रेसमा तेस्रो गुटको नेतृत्व गरिरहेका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले वरिष्ठ नेता पौडेलसँग पनि छलफल गरे। पौडेलसँगको छलफल पछि सिटौलाले सिंहसँग पनि चाक्सीबारीमै भेटवार्ता गरे।

सहमतिको लागि भन्दै एकहप्ता बैठक स्थगित भएपछि नेताहरु चाक्सीबारीमै छलफलमै व्यस्त रहे। दुवै पक्षका नेताहरुबीच विवादित विषयहरुलाई बैठकमै छलफल गरेर टुंग्याउने सहमति भएको थियो।

'दुईपक्षबीच सहमति नै भएको छैन,’ चाक्सीबारी बैठकमा सहभागी नेता रमेश लेखकले भनेका थिए,‘पार्टीमा एकले अर्कोलाई पेलेरै जानुपर्छ भन्‍ने मान्यता हटाएपछि सहमति हुन्छ।’

सभापति-महामन्त्री द्वन्द्व

नवलपरासी (पश्‍चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढ्यो। जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको थियो। यो विवाद अझै सेलाएको भने छैन।

विवाद बढ्दै गएपछि जिल्ला कार्यसमितिमा निर्वाचितहरूले नै सभापति शेरबहादुर देउवाको प्यानल छोडे। ‘हामी यो त्यो प्यानलको भन्दा पनि नेपाली कांग्रेस हौँ,’ देउवा प्यानल छोड्ने मध्येका एक सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले थाहाखबरसँग भनेका थिए, ‘विधान मिच्‍न पाइँदैन, हामी केन्द्रीय सभापतिले तोकेको सभापतिलाई मान्दैनौँ।’

यो क्षेत्र पार्टी केन्द्रीय महामन्त्री शशांक कोइरालाको क्षेत्र हो। सभापति देउवाले शशांक निकटका नेतालाई हटाएर आफूनिकट नेतालाई सभापति बनाएपछि विवाद बढेको हो।  पार्टीको अधिवेशन घोषणा गरेपछि जिल्लामा सभापति हेरेफेर गरेको भन्दै महामन्त्री कोइरालाले सभापति देउवाको खुलेरै विरोध गरे।  

नवलपरासी जिल्ला विभाजन भएपछि तत्कालीन पार्टी सभापति विष्णु लामिछानेले पूर्वी नवलपरासीको सभापति रोजेका थिए। त्यसपछि पश्‍चिम नवलपरासीका तत्कालीन उपसभापति अर्जुन पोख्रेलले कार्यवाहक सभापति पाएका थिए। जिल्ला सभापति परिवर्तन गरेपछि गृह जिल्ला नवलपरासी रहेका महामन्त्री शशांक कोइरालाले पत्र लेखेर देउवालाई निर्णय सच्याउन आग्रहसमेत गरे।

विजय गच्छदारलाई भ्रष्‍ट्राचार मुद्दा

कांग्रेसका उपसभापति विजय गच्छदारसहितका १७५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्‍यो। अख्तियारले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्‍टाचार चार मुद्दा दायर गरेको हो। 

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदारको सांसद पद स्वतः निलम्बनमा परेको छ। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। अख्तियारले दाबी गरेअनुसार अदालतको अन्तिम फैसलामा गच्छदार दोषी ठहरिए, उनी राजनीतिमा फर्किन पनि पाउने छैनन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पदमा रहेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ। अख्तियारले ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ।

राष्ट्रियसभामा खुम्चियो कांग्रेस 

२०७६ सालमा राष्ट्रियसभाबाट कांग्रेसका ७ सदस्य कार्यकाल सकिएपछि बाहिरिए। राष्ट्रियसभामा कांग्रेसका १३ जना सांसद थिए। २०७६ सालमा कार्यकाल सकिएर ७ जना बिदा भएछि जम्मा ६ जनामा झरेको छ।  

अलपत्र नेविसंघको विधान

कांग्रेस त आन्तरिक विवादले अस्तव्यस्त छँदै छ। त्यही पार्टीको बीउका रूपमा परिचित नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूहका सदस्यहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपाको मूलढोकैमा विधान कार्यान्वयनको माग राख्दै २ महिना अनशन बसे। 

पूर्वमहामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरूले विधानअनुसार महाधिवेशन सुनिश्‍चितता माग गर्दै रिले अनसन बसेका थिए। माग नसुनेपछि विद्यार्थी नेता नवराज त्रिपाठीले सानेपामै आमरण अनशनसमेत बसे। 

३२ वर्षभन्दा माथिकालाई नेविसंघको साधारण सदस्यसमेत बनाउन नहुने विधानको व्यवस्थालाई लत्याउँदै झण्डै ५० वर्ष हाराहारीका राजीव ढुंगानालाई देउवाले सभापति बनाएर तदर्थ समिति गठन गरे। यद्यपि आगामी अधिवेशनमा विधान कार्यान्वयन गर्ने सहमति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.