चल्तीका कलाकार पनि चिप्लिए

|

वि‍.सं.को नयाँ वर्ष २०७७ सुरु भइसकेको छ। वर्ष २०७६ अब सम्झनामा मात्र सीमित भएको छ। नयाँ वर्षको सुरुवात सँगै पुरानो वर्षलाई फर्केर हेर्दा नेपालका लागि खासै उत्साहजनक हुन सकेन।

वर्षको अन्तिममा देखिएको कोरोना भाइरसको विश्‍वव्यापी जोखिमले आमजनता त्रसित अवस्थामा रहे। नयाँ वर्षको स्वागत पनि दैलो थुनेर घरभित्रै गर्नु परेको छ।नेपाली जनजीवन नै अस्तव्यस्त बनाएको कोरोना भाइरसको जोखिमबीच दिनहरु बितिरहेका छन् जनजीवन सामान्य हुन कति समय लाग्ने हो? अझै टुंगो छैन। 

नयाँ आशा जगाउँदै नयाँ वर्ष सुरु भइसकेको छ। तर हामी तपाईंहरुलाई अझै २०७६ सालमै लैजाँदैछौं। अर्थात २०७६ सालको स्मरण गराउँदैछौं। 

२०७६ साल धेरैका लागि निराशाजनक सन्देशसहित बित्यो। यस्तै निराशाजनक अवस्था भोग्नुपर्यो नेपाली चलचित्र क्षेत्रले पनि। चलचित्र क्षेत्रका लागि बिर्सनयोग्य सालका रुपमा २०७६ बितेको छ। वर्षभरि लगभग ५५ चलचित्र रिलिज भए। फरक कथा, फरक पात्र र फरक कलाकारले फरक परिवेशमा निर्माण गरेका फिल्महरु सबैजसो फ्लपको सूचीमा दाखिल भए। 

५५ चलचित्रमध्ये मुस्किलले ५ वटा चलचित्रले लगानी बचाउन सफल भए। अन्य चलचित्रका कतिपय निर्माताले फिल्म हिट भयो भनेर गफ त लगाए तर वास्तवमा उनीहरुका फिल्मले पानी पनि पिउन पाएनन्। 

यी स्टार चम्किए

वर्ष २०७६ मा जम्मा ५ वटा फिल्मले राम्रो व्यापार गरे। ती मध्ये 'आमा','छ माया छपक्कै','कबड्डी,कबड्डी कबड्डी','जात्रै जात्रा' र 'दाल भात तरकारी'ले लगानी उठाए।

यस वर्ष विपिन कार्की, दीपकराज गिरी र दयाहाङ राईको बर्चस्व रह्यो। नायिकाहरुमा सुरक्षा पन्त, केकी अधिकारी र वर्षा राउतले प्रभाव छाडे। चलचित्र क्षेत्रमा उनीहरुले आफ्नो उपस्तिथि सम्झन लायक बनाए।

रास्ट्रिय अवार्ड विजेता विपिनका वर्ष  २०७६ मा २ चलचित्र रिलिज भए। ब्यापारिक हिसाबले जात्रै जात्रा र समीक्षात्मक हिसाबले सेल्फी किङ्ग अब्बल दरिए। तर  व्यापारिक रुपमा भने असफल।

अर्का स्टर दयाहाङ राईको तीन फिल्म रिलिज भए। जसमध्ये ‘जात्रै जात्रा’ र ‘कबड्डी ३’ सफल भए। उनले अभिनय गरेको चलचित्र सेन्टी भाइरस असफल हुन पुग्यो।

२०७६ मा दीपकराज गिरीले पुन: आफूलाई सफल कलाकारका प्रभाव छाडे। ‘छ माया छपक्कै’बाट उनी फेरि सफल दरिए। अन्य समय समिक्षात्मक रुपमा असफल रहेर पनि लगानी उठाउन सक्ने कलाकारको उपमा पाएका गिरीले यस चलचित्रबाट राम्रो प्रशंसा पाए।

यस्तै, सफल चलचित्रका रुपमा दरिएको 'आमा' बाट नायिका सुरक्षा पन्त अब्बल दरिइन्। वर्षा राउत चलचित्र ‘जात्रै जात्रा’बाट,  केकी अधिकारी चलचित्र ‘छ माया छपक्कै’बाट सफल नायिकाका रुपमा देखिए।

स्टारहरु चिप्लिए

यसवर्ष स्टार भनिएका अनमोल केसी, प्रदीप खड्काको चलचित्र रिलिज हुन सकेनन्। वर्षको अन्तिममा खड्का अभिनित बहुप्रतिक्षित प्रेम गीत ३ रिलिज हुने भनेपनि कोरोना संकटका कारण सरकारले सम्पूर्ण सिनेमा घर बन्द गरिदियो। जसका कारण उक्त फिल्म रिलिज हुन सकेन। अन्य स्टारहरुले आक्रामक उपस्थिति देखाउन नसकेको वर्ष रह्यो ०७६।

०७६ को सुरुवातमा चर्चामा आएको थियो 'वीर विक्रम२'। जेठ ३ गते रिलिज भएको यो फिल्म फ्लप बन्यो। पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन लगायतको अभिनय रहे पनि चलचित्रलाई दर्शकले रुचाएनन्।

त्यस्तै, साउन ३० गते रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’मा पनि गतिलो स्टरकाष्ट थियो। आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, संचिता लुइँटेल लगायतको स्टारले भरिएको चलचित्र पनि दर्शकले रुचाएनन्।  स्वस्तिमा, आर्यन, प्रियंका लगायतका स्टार यस चलचित्रमा चिप्लिए।

वर्षकी नम्बर १ नायिकाको उपमा पाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यस वर्ष असफल रहिन्। उनका दुई चलचित्र मारुनी र रातो टीका निधारमा बक्स अफिसमा पछारिए। त्यस्तै, अर्का स्टार आर्यन सिग्देलको चलचित्र ‘चचहुई’ ले पनि लगानी उठाउन सकेन।

कात्तिक ८ गते रिलिज भएको चलचित्र पोई पर्‍यो कालेबाट नायिका पूजा शर्मा पनि  पुर्णत असफल रहिन्। चलचित्रमा आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठको अभिनय थियो।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको रिल जोडिलाई दर्शकले मन पराउन सकेनन्। उनीहरु अभिनित चलचित्र ‘घामड शेरे’ पनि पूर्णरुपमा असफल हुन पुगे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.