मजदुरको पीडा नबुझ्नु गम्भीर गल्ती

|

काठमाडौं : विश्‍व नै अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। देश तीन सातादेखि पूरै लकडाउनमा छ।

लकडाउनपछि दैनिक ज्याला, मजदुरी गरेर छाक टार्नेहरुको चुल्होमा आगो बल्न मुस्किल हुन थालिसकेको छ। स्थानीय तहमा राहत वितरण भइरहे पनि अपर्याप्त छ। लक्षित समूहमा नपुगेको गुनासो बढ्दैछ।

कामका लागि गाउँ छोडेकाहरु शहरबाट फर्कनेको ताँती छ सडकमा। दलका गतिविधि शून्य छन्। नेताहरु सबै घरमा थुनिएका छन्। यो बेलामा सांसदहरुको चहलपहल पनि लगभग ठप्प छ। 

यही सन्दर्भमा हामी समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग यो संकटमा के गर्दै हुनुहुन्छ? भनेर सोधेका छौं। हामीले सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदमबारेमा उनीहरुसँग प्रतिक्रिया लिन गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं। 

डा.बाबुराम भट्टराई, संघीय परिषद अध्यक्ष, समाजवादी पार्टी

कोरोना महामारी मानवजातिको इतिहासमै विश्वव्यापी भएको पहिलो घटना हो। विश्वको दुईतिहाइ जनसंख्या यसबाट प्रभावित छ। नेपाल पनि लकडाउनमा छ। यसको पालना गरेको छु। सचेत मानव हुनुको नाताले म र मेरो परिवारले लकडाउनको पालना गरेको छ।

यही कारण बढी समय घरमै बितेको छ। तर, राजनीतिक प्राणी र सचेत नागरिक हुनुको नाताले म निस्क्रिया भएको छैन। सोसल मिडियामार्फत मेरो निर्वाचन क्षेत्रसँगै देशैभरी अनुगमन गरिरहेको छु। अर्काे कुरा हाम्रो ठूलो जनशक्ति विदेशमा छ। त्यसैले उनीहरुको स्तिथि के छ, भारतबाट आउनेको अवस्था र नेपाल आएकाहरु क्वारेन्टाइनमा बसे नबसेको पनि बुझिरहेको छु।

लकडाउनले प्रभावित भएकाहरु दैनिक ज्यालामजदुरी गरेर खाने र साना स्वरोजगारको काम गर्नेहरु, अशक्त, अपांगहरु जो जोखिममा छन्। उनीहरुको गुजारा कसरी चलेको छ? त्योबारे पनि जानकारी लिने काम गरिरहेको छु।

सरकारले विभिन्‍न घोषणा त गर्यो तर, कार्यान्वयन स्थानीय तहबाट हुनुपर्ने छ। कस्तो भइरहेको छ। त्यो पनि बुझिरहेको छु। परीक्षणको काम एकदमै कमी र ढिलासुस्ती भएको छ।

लकडाउनको घोषणाबारे सरकारले गरेको काम सकारात्मक नै छ। तर, केही विषयमा सरकार जति गम्भीर हुनुपर्थ्यो त्यति भएन। यसलाई सरकारले सच्याउन पर्छ। सरकारले एकीकृत ढंगबाट जसरी सक्रिय भएर काम गर्न सक्नुपर्थ्यो त्यो भएन। प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयले मुख्य काम गर्नुपर्थ्यो ।

विभिन्न मन्त्रालय, विभागलाई परिचालन गर्न पनि तालमेल मिलेको छैन। सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा जुन संयन्त्र बनायो यो र गृहमन्त्रालय अन्तरगत रहेका विपदव्यवस्थापनका विभिन्‍न अंगहरु छन्, तिनीहरुबीच तालमेल नमिलेको कुरा आइरहेको छ। यही कारणले सरकारले निर्णय गरेर पनि कार्यान्वयन हुन सकेन।

राहतको व्यवस्थापन हुन सकेन। आर्थिक दायित्व केन्द्रले लिएर स्थानीय तहमार्फत व्यवस्थापनको काम हुनुपर्थ्यो। केन्द्रले आर्थिक दायित्व नलिँदा स्थानीय तहले खर्च जुटाउन नसकेर अहिलेसम्म पनि राहत दिनसकेका छैनन्। यस्ता कमजोरी भएका छन्।

स्वास्थ्यको क्षेत्रमा पर्याप्त परीक्षणका सामाग्रीहरु नहुनु, स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई स्वास्थ्य सामाग्री पनि नपुग्नु, पर्याप्त मात्रामा अस्पतालमा बेडको संख्या पनि नहुनु। यसको तयारीमा त सरकार चुकेकै हो।

सामान आपूर्तिमा विभिन्‍न खाले भ्रष्टाचार भन्‍ने कुरा आए यो अत्यन्तै गम्भीर विषय हो। त्यसो भएको हुनाले सरकारले यसलाई सच्याउनुपर्छ। जनताको जनजीविकामा जोडिएको जुन प्रश्‍न छ, यसमा ख्याल ठट्टा गर्नुहुँदैन भन्‍ने मलाई लाग्छ।

कमल थापा (अध्यक्ष राप्रपा)

अहिले अप्रत्यासित रुपमा कोरोना भाइरसको महामारीले विश्‍व आक्रान्त भएको छ। नेपाल पनि प्रभावित भएको छ। कोरोना भाइरसको अहिलेसम्म भ्याक्सिन पनि नबनेको, औषधि पनि नबनेको अवस्थामा यो रोग अत्यन्तै डरलाग्दो छ।

विश्‍वको अनुभवलाई दृष्टिगत गर्ने हो भने यो रोगबाट बच्‍ने उपाय भनेको लकडाउनको कठोर पालना, आत्मस्वयम, धैर्य र अनुशासन हो भन्ने मलाई लाग्दछ। यसक्रममा सरकारले लडकडाउनको घोषणा गरेको छ यसलाई हामी प्रत्येक नेपालीले इमान्दारपूर्वक पालना गर्नुपर्दछ। मैले पनि त्यसको पूर्ण पालना गरेको छु।

यदि हाम्रो देशमा यो संक्रमण व्यापाक भयो भने त्यसले धेरै ठूलो नोक्सान पार्न सक्छ, धेरै मानिसहरुको ज्यान जानसक्छ। त्यसकारणले आफू पनि सुरक्षित हुन र परिवारलाई सुरक्षित राख्न, समुदायलाई सुरक्षित राख्‍न लकडाउनको पालना गर्नुपर्छ।

सरकारले निर्णय ठीक गरेको छ। कदमहरु ठीकै चालिरहेको छ। तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लकडाउनको अवधिमा परीक्षणको दायरालाई व्यापाक बढाउनु पर्दथ्यो त्यो प्रभावकारी हुन सकेको छैन।

अर्काे कुरा लकडाउनको अवधिमा सबै मानिसहरु घरघरमा छन् हुने खानेले त कुनै कुनै तरिकाले आफ्नो जीवन चलाइराखेका छन्। तर दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने न्यून आम्दानी भएका व्यक्तिहरुलाई राहत पुर्‍याउने भनेर भनिएको छ।

त्यो राहत पुर्‍याउने निर्णय प्रभावकारी ढंगबाट कार्यान्वयन भएन। खास गरी सुदूरपश्चिममा भारतबाट धेरै ठूलो संख्यामा (करिब एकलाख) नेपाल भित्रिएको अनुमान गरिएको छ। तर, त्यहाँ केही हजार मात्रै अहिलेसम्म परीक्षण हुन सकेको छ।

सरकारले निर्णय गरेको छ तर, कार्यान्वयन प्रभावकारी युद्धस्तरमा हुन सकिराखेको छैन। यी कार्यहरुमा सरकारले बढी ध्यान दिनुपर्छ भन्‍ने मलाई लाग्छ। विदेशमा पनि धेरै नेपाली छन्। कतिको निधन भइसकेको छ।

अझै धेरै संक्रमित रहेको अनुमान गरिएको छ। कतै काम गर्न गएका, पढ्न गएका नेपालीहरु अलपत्र परेका छन्। तिनीहरुलाई सहयोग गर्ने सम्बन्धमा पनि प्रभावकारी कार्यान्वयन हुननसकेको मैले पाएको छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.