|

धनकुटा :  लकडाउनका कारण धनकुटाका गाईपालक किसानको व्यवसाय संकटमा पर्न थालेको छ। लकडाउनका बेला दूध, हरियो तरकारी, दैनिक उपभोग्य बस्तु, इन्धनलगायत अत्यावश्यक सामान ढुवानी गर्न सरकारले आग्रह गरेको छ। तर गाईपालन व्यवसायलाई राहत पुग्नेगरी सहयोग नपाइएको भन्दै किसानहरुले गुनासो गरेका छन्।

लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराललगायत सामग्री जोहो गर्न नसकिएको र लकडाउन बढ्दै जाँदा आफूहरुको पेसा नै संकटमा परेको जिल्लाका किसानले दुखेसो पाखेका छन्।

लकडाउनका कारण दाना, पराल ल्याउन नपाएपछि गाईपालक किसानहरुलाई गाईलाई बचाइराख्न गाह्रो पर्न थालेको बताउँछन्। त्यसमाथि उत्पादित दूधको व्यवस्थापनको समस्या त छँदैछ।

महालक्ष्मी नगरपालिका २ मारेकटहरेका किसान डम्बर दाहालको नमुना गाई फार्ममा दैनिक १ सय ६० लिटर दूध उत्पादन हुन्छ। उनको फार्ममा उत्पादित पनि अहिले बिक्न छाडेको छ। ‘एकातिर गाईलाई खुवाउने समान अभाव छ, दूध पनि बिक्न छाड्यो,’ दाहाल भन्छन्, ‘मासिक ज्यालादारीमा राखेका श्रमिकलाई ज्याला दिन समस्या भएको छ।’

सरकारले आफूहरुलाई सहज हुने वातावरण बनाइदिनुपर्ने उनको माग छ।

छथर जोरपाटी गाउँपालिका ६ नामजाङमा रहेको जलकन्या दुग्ध उत्पादक संस्थाका अध्यक्ष नगेन्द्र थापा पनि संस्थामा संकलन हुने ३ सय लिटर दूधमध्ये १ सय लिटर मात्रै बिक्री हुने बताउँछन्।

सुनसरीको तरहरामा रहेको कामधेनु दुग्ध उत्पादक सहकारीले सबै कामदार घर गएको र बजार बन्द भएको भन्दै दूध खरिद घटाएकाले आफूहरु मारमा परेको उनले बताए।

‘दूध बिक्री नहुँदा गाईलाई खुवाउने दाना खरिद गर्न पनि सकिएको छैन,’ थापा भन्छन्, ‘सरकारले सबैलाई राहत दिए पनि गाईपालकको समस्या बुझ्न सकेन।’गाईलाई खुवाउने आहार अभावको यस्तै स्थिति आयो र दूध नबिके गाई फुकाएर छोड्नुपर्ने स्थिति आउने उनले चेतावनी दिए।

यस्तै नामजाङकै कृषक भरत गुरुङको समस्या पनि उस्तै छ। उनको गाई फार्ममा अहिले २० वटा गाई छन्। उनी पनि दाना अभावमा गाईको खान्की घटाइएकाले दूध उत्पादन घटेको बताउँछन्। ‘अवस्था यस्तो छ, फेरि उत्पादन भएका दूध बेच्न पनि समस्या छ,’ उनले पनि गुनासो गरे।

उनको फार्ममा उत्पादित करिब ३ सय लिटर दूध तरहराको कामधेनु सहकारी संस्थामा बिक्री हुन्छ। गुरुङ भन्छन्, ‘गाईलाई खुवाउने आहाराको चरम अभाव छ, लकडाउन केही हप्ता मात्रै लम्बियो भने धेरै किसानले यो पेसा छाडेर भाग्नुपर्ने स्थिति आउँछ।’

उनले थपे, ‘बैंकको ऋणले घर, घडेरी, जग्गा जाने स्थिति छ। व्यवसाय नै चौपट हुन्छ। सरकारले बेलैमा ध्यान दिन जरुरी छ।’ गाईपालक किसानको घरमा दूध खेर गइरहेको छ, उपभोक्ताले पनि दूध पाउन सकेका छैनन् यसबेला।

धनकुटा र तेह्रथुमका किसानको फार्मबाट सरदर दैनिक २० हजार लिटर दूध निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र धनकुटाको तथ्यांक छ। तर, लकडाउनपछि दैनिक ५ हजार लिटर दूध मात्रै निर्यात हुने गरेको छ।

गाईपालक किसानहरु लकडाउन थपिँदै गए आहारा नपाएर गाई मर्ने चिन्तामा छन्। गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपूर्ति समयमै हुनुपर्ने उनीहरुले माग गर्दै आएका छन्। साथै उत्पादित दूध व्यवस्थापनको प्रबन्ध मिलाइदिन सरकारसँग माग गर्दै आएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.