एकै परिवारका तीन जना आइसोलेसन भर्ना

|

बैतडी : बुधबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी जिल्लास्तरीय संयन्त्रको बैठकले बैतडीमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ।

नेपाल सरकारको क्वारेन्टाइन कार्यविधि २०७६ बमोजिम सदरमुकामस्थित दशरथचन्द नगरपालिका र आवश्यकता अनुसार अन्य स्थानीय तहहरुमा पनि क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन्‌।

सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित भेट्टिएपछि प्रदेशको पहाडी जिल्ला बैतडीमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकोले सीमापारीबाट लुकिछिपी अझै पनि नेपाल प्रवेश नरोकिएपछि सतर्कता बढाइएको हो। महाकालीमा ट्युबमार्फत अवैध रुपमा नेपाल प्रवेश नरोकिएपछि भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सीमा पारी रहेका नेपाली मजदुरहरुलाई स्वदेश फर्काउनुअघि मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्ने तथा नेपाल सरकारले निर्णय गरेलगत्तै मजदुरहरुलाई स्वदेश ल्याउने बताइएको छ। भारतको झुलाघाट र धार्चुलामा १ हजार बढी नेपाली नागरिक क्वारेन्टाइनमा बसेका छन्। बजार क्षेत्रमा कीटनाशक औषधि छर्कने कार्यलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

बैठकका जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी थिए। भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा पनि छलफल भएको बैठकमा सहभागी स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

एकै परिवारका तीन जना आइसोलेसनमा भर्ना 

बैतडीमा एकै परिवारका तीन जनालाई आइसोलेसन भर्ना गरिएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा एक युवतीसहित ३ जनालाई भर्ना गरिएको हो। 

सुर्नया गाउँपालिका ३ की एक २३ वर्षीया युवतीलाई ज्वरो, रुघोखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका अहेव हरिश पन्तले जानकारी दिए। युवती अस्पताल पुर्‍याउन आएका उनका बुवा र भाइलाई पनि आइसोलेसनमा राखिएको छ।

यद्यपि युवतीको 'र्‍यापिड डाइग्नोस्टिक टेस्ट' भने 'नेगेटिभ' आएको अस्पतालले जनाएको छ। युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र सुधार नभए 'थ्रोट स्वाब' संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। उनीसँगै आएका दुई जनाको अवस्था सामान्य रहेपनि उनीहरूलाई पनि आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। 

यसअघि कोरोनाको आशंकामा तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भएपनि तिनै जनाको कोरोना परीक्षण नतिजा 'नेगेटिभ' आएपछि 'डिस्चार्ज' गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.