बागमती प्रदेशभर २५ सय भन्दा बढी क्वारेन्टाइन बेड खाली

|
तस्बिर : मकवानपुरको सामरीमा रहेको खाली क्वारेन्टाइन ।

मकवानपुर : बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो २४ घण्टामै १० जना कोरोना शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ। हेटौंडा ४ कर्राको श्रमिक माविमा तयार गरिएको कोरोना आइसोलेसन वार्डमा १० जना भर्ना भएका हुन्।

मकवानपुरको बागमती गाउँपालिकाको एक जना, भीमफेदी गाउँपालिका वडा नंबर ३ को दुई जना, प्युठान घर भई हेटौँडा ५ बस्ने एक जना, हेटौँडा ५ कै थप दुई जना, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, १४, १६, र १८ को एकएक जना गरि १० जना पुरूषहरू रहेका जानकारी प्राप्त भएको छ।

कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईका अनुसार हेटौँडा ५ सानोपोखराका दुई पुरुष काठमाडौंबाट आएका थिए भने वडा नम्बर ५ कै प्युठान घर भएका ब्यक्ति दक्षिण कोरियाबाट फर्केकाहरूसँगै बसेका थिए। बागमतीका व्यक्तिपनि विदेशबाट आएकाको सम्पर्कमा बसेका, भीमफेदीका दुवैजना र हेटौंडा १६ का पनि दक्षिण कोरियाबाटै आएको खुलेको छ।

हेटौंडा १४ मा भेटिएका शंकास्पद बिरामी भारतबाट, हेटौंडा ३ मा भेटिएका व्यक्ति कतारबाट र हेटौँडा १८ का व्यक्ति पोखराबाट आएका हुन्। उनीहरू सबैको 'थ्रोट स्वाब' परीक्षण गर्न हेटौँडामा रहेको प्रयोगशाला पठाइएको छ।

धमाधम 'र्‍यापिड टेस्ट' गरिँदै

बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा 'र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)' सुरू गरेको छ। यतिखेर क्वारेन्टाइनमा बसिरहेकाहरूको परीक्षण भइरहेको छ। पहिलो चरणमा ४,३०० जनाको परीक्षण गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए। पहिलो चरणमा सबैभन्दा बढी चितवनमा ७०० जनाको 'र्‍यापिड टेस्ट' गरिने भएको छ। यसैगरी सिन्धुपाल्चोक र ललितपुरमा चार/चार सय, काठमाडौं, रामेछाप, दोलखा, सिन्धुली काभ्रे, धादिङ, नुवाकोट र मकवानपुरमा तीन/तीन सय तथा भक्तपुर र रसुवामा दुई/दुई सय जनाको परीक्षण हुनेछ। 

प्रदेशभरका क्वारेन्टाइनमा २५ सय शय्या खाली

बागमती प्रदेशभर हाल ६०० भन्दा बढी मानिसहरू क्वारेन्टाइनमा बसिरहेका छन्। मन्त्रालयका अनुसार चितवनमा करिब ५०० सहित विभिन्न जिल्लामा गरेर ६०० भन्दा बढी मानिसहरू अहिले क्वारेन्टाइनमा रहेका छन्।

तर प्रदेशभर रहेका क्वारेन्टाइनमा सरकारले धेरै भन्दा धेरै मान्छे राख्न सकेको छैन। धेरैजसो 'होम क्वारेन्टाइनमा' बस्ने निहुँमा घरमै रहेका छन् भने सरकारले क्वारेन्टाइनमा अझै १० हजार शय्या थप्ने तयारी गरेपनि हाल तयार गरिएकै क्वारेन्टाइनहरू खाली छ।

मन्त्रालयका अनुसार प्रदेशभरका क्वारेन्टाइनमा हालसम्म ३,४७९ शय्या रहेको र १,०४७ शय्या थप्ने तयारी हुँदैछ। हालसम्म प्रदेशभर ९४५ आइसोलेसन शय्या छन भने १७४ वटा थपिँदै छन्।

सबैभन्दा बढी क्वारेन्टाइन धादिङमा निर्माण भएको छ। धादिङमा ५१२, सिन्धुपाल्चोकमा ४३६ र चितवनका क्वारेन्टाइनमा ३०० शय्या छन्। त्यस्तै चितवनमा २९९, काठमाडौंमा १८५, ललितपुरमा १२५, भक्तपुरमा ९१, दोलखामा ४१, रसुवा र मकवानपुरमा ३५ र ३५ वटा आइसोलेसन शय्या रहेको मन्त्रालयले जनाएको छ। 

बागमती प्रदेशभर हालसम्म ४७५ वटा आइसीयु सुविधासहितको शय्या तयार भएका छन्।  प्रदेश राजधानी हेटौंडा, चितवन, काभ्रे तथा उपत्यकाभित्र कोरोना टेस्ट गर्ने पीसीआर मेसिनसमेत सञ्चालनमा ल्याइसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.