|

आज विश्‍वभरीका जनताले कोरोना भाइरसको ठूलो सकस भोगिरहेका छन्। अत्यन्त तीब्ररुपमा  फैलिने यो महारोगले विश्‍वका २१० देशमा प्रभाव जमाइसकेको छ। यी हरफ लेखिँदा सम्म यो महामारीमा २० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३० हजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन्।

पाँच लाख जति निको भएका छन्। झण्डै एक महिना अघि विश्‍व स्वास्थ संगठनले कोभिड-१९लाई “विश्‍वव्यापी महामारी”को संज्ञा दिएको छ र  “स्वास्थ संकटकाल” पनि घोषणा गरेको हो। कोभिड १९का विरुद्धको लडाईंलाई नै मुख्य र साझा विषय बनाएर विश्‍वव्यापी संघर्षलाई अघि बढाइरहँदा पनि यसको नियन्त्रण र निदान अझै टाढै छ। जीव-रसायन शास्त्र, औषधि विज्ञान र स्वास्थ विज्ञानका क्षेत्रमा कार्यरत वैज्ञानिकहरु यसको खोप वा औषधि पत्ता लगाउने काममा दिन रात खटिरहेका  छन्।

संभावित नयाँ औषधिको परीक्षण गरिएको भन्ने समाचारहरु पनि बेला बखत नआएका होइनन्। तर आमरुपमा प्रयोग गर्ने हिसाबले अनुसन्धान गरेर औषधि तयार हुन वर्ष दिन भन्दा बढी लाग्ने अनुमान गरिँदैछ। विश्‍व स्वास्थ संगठनले यसलाई डेढ वर्ष लाग्ने अनुमान प्रस्तुत गरेको छ। यो त भयो स्वास्थको दृष्टिले कोभिड १९ ले पार्ने प्रभाव र त्यसलाई नियन्त्रण गर्ने वा यसको निदान सम्वन्धी विषय।

प्रभावका पक्षहरू

यसले प्रभाव पार्ने अन्य पक्षहरु पनि निकै नै बलवान् छन् - आर्थिक, सामाजिक, राजनीतिक, सामरिक, कुटनीतिक इत्यादि। सन् २०१९ को अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएर विश्‍वव्यापी रुप लिइसकेको यो महामारीले यो संसारलाई पार्न सक्ने प्रभाव वहुआयामिक हुन्छ र यो असाधारण हुने अनुमान धेरै क्षेत्रबाट भइरहेको छ।

केही साता अघि, अहिले विश्‍वव्यापी महामारीको रुप लिएको कोभिड-१९ संक्रमणबाट हुन सक्ने आर्थिक तथा सामाजिक प्रभावबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटेरेसले ‘दोस्रो विश्‍वयुद्ध पछि विश्‍वका सामु सबैभन्दा ठूलो चुनौती खडा भएको’ बताए।

अन्तत: कोरोना भाइरसले चीनमा मात्र कैद भएर बस्न अस्वीकार गर्‍यो सात समुद्रपारिको देशमा प्रवेश मात्र गरेन कि भयंकर रुप देखायो। कोरोना भाइरस अमेरिकाको न्युयोर्क, न्यु जर्सी आदि राज्यहरुमा व्यापक रुपमा र अन्य राज्यहरुमा पनि फैलियो।

महासचिव गुटेरेसले ‘कोरोना भाइरसको प्रभावले विश्‍व अर्थतन्त्रलाई ठूलो धक्का पुग्ने बताएका छन्’। ‘अहिले सम्म कहिल्यै देखानपरेको आर्थिक मन्दी निकट भविष्यमा पैदा हुन सक्ने’ उनले चेतावनी पनि दिएका छन्। यसबाट कोरोना भाइरसले अन्य क्षेत्रमा पार्न सक्ने प्रभाव कति भयानक हुन सक्ने रहेछ भन्ने बुझ्न सहज हुने छ।

कोभिड-१९ले आफ्नो चक्र पुरा गरिसकेको छैन। यो महारोगले यस चरणको विराम कहिले लिने हो, यसको निदान कहिले हुने हो, त्यो अहिले नै भन्न सक्ने स्थिती छैन। यो प्रकृयाको टुंगो लागिसकेको छैन। तथापि यसबारे प्रारम्भिक अनुमान गर्न थालिसकिएको छ।

यो काम यसकारणले महत्वपूर्ण छ कि  भविष्यमा गरिने पूर्ण विश्लेषण र संश्लेषणकालागि यसबाट पर्याप्त सहयोग पुग्न सक्दछ। यो सानो लेखमा धेरै कुराहरु समेट्नु त संभव छैन। तथापि यहाँ विषयको उठान गर्ने सम्म प्रयास गरेको छु ।

असहिष्णु अमेरिका

वुहानमा यो भाइरस देखा पर्ने वित्तिकै यती द्रुत गतिमा फैलियो कि झण्डै डेढ करोड जनसंख्या भएको त्यो शहरलाई यसले केही दिन भित्रै गाँज्न सफल भयो। हुनत यसका लक्षणका आधारमा यो एक प्रकारको भाइरस हो भन्ने अनुमान त गरियो, तर यस भन्दा अगाडि महामारीका रुपमा फैलिएका भाइसरसँग यसको लक्षण र उपचार विधिमा समानता थिएन।

त्यसकारण, चीनलाई यसले आच्छुआच्छु पर्यो। चीनले यसबारे विश्‍व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ र अन्य राष्ट्रहरुलाई पनि जानकारी गरायो र सबै मिलेर यो भाइरसका विरुद्ध लड्नका लागि अपिल पनि गर्यो। धेरै राष्ट्रहरुले चीन प्रति सहानुभूति प्रकट गरे। एकतावद्ध भएर अघि बढ्ने कुरामा सहमति पनि जनाए।

तर, अमेरिकाको रबैया नकारात्मक देखा पर्यो। अन्तर्राष्ट्रिय रुपमा यो महारोगको नामाकरण ‘नोवेल कोरोना भाइरस’ गरिसक्दा पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अपमानित र आरोपित गर्ने किसिमले ‘चाइनिज भाइरस’ भन्ने नामाकरण गरेर ह्वाइट हाउसबाट मन्तव्य दिए। यद्यपि यसको अमेरिका भित्र र स्वयम् उनको पार्टी भित्रै पनि विरोध भयो।

त्यसैताका बसेको जी-७ देशहरुको बैठकमा अमेरिकी विदेशमन्त्री पम्पेओले यो भाइरसको नाम ‘वुहान भाइरस’ राख्नु पर्छ भन्ने प्रस्ताव नै राखे। अन्य राष्ट्रका प्रतिनिधिले नमाने पछि बैठकको अन्तमा जारि गरिने संयुक्त विज्ञप्ति पनि जारि हुन सकेन।    

ट्रम्प प्रशासनले संकटका समयमा चीनीयाँ जनतालाई सहयोग गर्नुको सट्टा यसलाई चीनको खोइरो खन्ने अभियानका रुपमा अघि बढायो। बेइजिङ् स्थित एउटा अमेरिकी दैनिक ब्युरो प्रमुखले चीनलाई “एउटा बिरामी देश” भन्ने शिर्षकमा खिल्ली उडाएर एउटा लेख प्रकाशित गरे। उनीहरुले चीन अब धरासायी हुँदैछ भन्ने प्रचारवाजी गरे। वुहानमा भएको कोरोना भाइरसको समस्यालाई उनीहरु ‘चीनको चेर्नोबिल’ हो भन्ने प्रचार गर्न पनि पछि परेनन्।

त्यो चीन बिरोधी अभियानमा नेपालका केही मानिसहरु पनि जोडिए। काठमाडौंबाट प्रकाशित हुने एउटा दैनिकले त चीनको नोटमा छापिने गरेको चीनियाँ महान नेता माओको फोटो बिगारेर मास्क लगाएको कृत्रिम फोटो समेत प्रकाशित गर्न पछि परेन।

चीनको चुनौती

जन गणतन्त्र चीन सरकारले पुरै शक्ति लगाएर कोभेड-१९ का  विरुद्धको लडाईंलाई अघि बढायो। करिव साढे ३३ सयको ज्यान लिएको यस महामारीका विरुद्धको लडाईंलाई राष्ट्रपति सि जिन पिङ्ले ’जनयुद्ध’को संज्ञा दिएका छन। सरकारले यो महामारीबाट वुहानका जनतालाई बचाउन देशैभरिबाट ४२ हजार डाक्टर, नर्स र अन्य स्वास्थकर्मीहरु परिचालित र केन्द्रीत गर्यो।

अनियन्त्रित किसिमले भाइरस फैलिन थालेपछि चीनमा‘लक डाउन’को विधि लागु गरियो, जुन विधि आज संसारका धेरै देशले प्रयोगमा ल्याएका छन्। त्यतीखेर चीन सरकारले लकडाउन् लागु गर्दा अमेरिका पक्षधर र चीन विरोधीहरुले तानाशाही लागु गरेको आरोप लगाए। चीनीयाँ नेतृत्व आरोप, प्रत्यारोपमा नलागेर व्यवहारबाटै गरेर देखाउन र आफ्नो क्षमता प्रदर्शन गर्न लाग्यो।

आखिर सरकारले ‘कोरोना भाइरस चीनमा नियन्त्रणमा आएको’ घोषणा गर्यो। यद्यपि यसको संक्रमण, बेइजिङ् लगायत केही स्थानमा अझै देखिदैछ। तर, यो नियन्त्रण भित्रै भएको उनीहरुको दावी छ। वुहानमा पनि केही नयाँ बिरामी देखिए भन्ने चर्चा छ। रुससँग सीमा जोडिएको क्षेत्रमा यो फैलिन थालेका समाचारहरु पनि आएका छन्। तर यतिखेर महामारीका रुपमा भने देखिएको छैन।

बदलिँदो मानसिकता

ट्रम्पले आफ्नो देशका जनतालाई विश्‍वस्त बनाउन खोजेका थिए कि ‘चाइनिज भाइरस’ अमेरिका आइपुग्दैन। यो अमेरिकीहरुले चिन्ता लिनु पर्ने विषय होइन।’ अन्तत कोरोना भाइरसले देशका सिमाना हेरेन। त्यसले चीनमा मात्र कैद भएर बस्न अस्वीकार गर्यो।

त्यसले सात समुद्रपारीको देशमा प्रवेश मात्र गरेन कि  भयंकर रुप देखायो। कोरोना भाइरस अमेरिकाको न्युयोर्क, न्यु जर्सी आदि राज्यहरुमा व्यापक रुपमा र अन्य राज्यहरुमा पनि फैलियो। यो सरकारको नियन्त्रण भन्दा बाहिर गयो। त्यसलाई रोक्नका लागि ‘लकडाउन’ लागु गर्नुपर्छ भन्ने माग भयो। त्यो मागलाई ट्रम्पले अस्वीकार गरे। उनले दावी गरेकि ‘अमेरिका जस्तो समृद्ध देश बन्दका लागि बनेको होइन।’

दोस्रो तर्क उनले के अघि सारे भने यो लकडाउन् अमेरिकाको आर्थिक समृद्धिका लागि अघि बढ्ने सरकारको नीतिसँग मेल खाँदैन। लकडाउन गरियो भने त्यसले अमेरिकामा भयानक बेरोजगारी पैदा गराउन सक्छ। उनको यो नीतिलाई उनकै पार्टीका सिनेटरले पनि विरोध गरे।

संसारका सबैभन्दा ठुला धनाड्य मध्येका एक, माइक्रोसफ्टका मालिक बिल गेटले पनि ट्रम्पको नाम नलिइकन यो नीतिको विरोध गर्दै ‘यतिखेर आर्थिक विषय भन्दा मानिसको जीवन बचाउने काम महत्वपूर्ण हो’ भन्ने कुरा सार्वजनिक गरे। यी सबै कारणले गर्दा ‘मानिसको ज्यानको मूल्य ठुलो हो कि आर्थिक पक्ष ठुलो हो’ भन्ने बहश अमेरिकामा चलिरहेको छ।

यतिखेर अमेरिका कोरोनाको आक्रमणमा १ नं को निशानामा परेको छ। त्यहाँ संक्रमितको संख्या ५ लाख ८७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २८ हजार भन्दा बढी भैसकेको छ। त्यहाँका अस्पतालहरुमा सर्जिकल मास्क, थर्मलगन, आर् डि टी किट, पी पी ई, भेण्टिलेटर आदिको चर्को अभाव छ।

अन्य देशकालागि पठाइएका उपचारका सामानहरु बिचैबाट कब्जा गरेर आफ्नो देशमा लगेको आरोप अमेरिकालाई लागेको छ। ठुला धनाढ्यहरुलाई कर कम गर्नका लागि ट्रम्प प्रशासनले सामाजिक सुरक्षामा गरेको कटौतीका कारण तल्लो बर्ग उपचार खर्च व्यहोर्न असमर्थ भएको चर्चा व्यापक बनेको छ। अमेरिकामा बेरोजगारको संख्या सरकारले थेग्न कठिन पर्ने किसिमले बढेको छ।

बदलिँदो परिवेश

अहिले चीन सरकारले कोरोनाबाट पीडित राष्ट्रलाई सहयोग गर्ने नीति लिएको छ। उसले उपचारका सामग्री - सर्जिकल मास्क, थर्मलगन, आर डि टी किट, पी पी ई, भेण्टिलेटर आदि पठाएर सहयोग गरेको छ। चीनीयाँ डाक्टरहरु, नर्सहरु कोरोना भाइरसको महामारी भएको क्षेत्रमा गएर जोखिम मोलेर ती देशमा  उपचारमा संलग्न भएका छन्। स्वयम् अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका देशलाई पनि चीनले यस प्रकारका सहयोग गरिरहेको छ।

यतिखेर क्युबाले पनि कोरोना भाइरसबाट महामारीको चपेटामा परेका युरोपका इटाली, स्पेन लगायतका देशमा बिमारीहरुको उपचार गर्नका लागि डाक्टरहरुको टिम नै पठाएर सहयोग गरिरहेको छ। 

यसका साथै उसले यसको रोकथाम, नियन्त्रण  र उपचारका लागि आवश्यक सामग्री र औषधि व्यापकरुपमा उत्पादन गरेर बिक्रि गर्ने काम पनि गरिरहेको छ। यी अहिलेका लागि अत्यन्त आवश्यक सामग्रीको बजार चीनले लिइरहेको छ।

अमेरिकी राष्ट्रप्रति ट्रम्पले विश्‍व स्वास्थ्य संगठनका पदाधिकारीहरु चीन तिर ढल्केको आरोप लगाएर अमेरिकाले दिने गरेको आर्थिक सहायता रोकिएको कुरा हालै ह्वाइट हाउसमा सार्वजनिक गरेका छन्।

त्यसको जवाफमा विश्‍व स्वास्थ्य संगठनका अध्यक्ष डा. टेड्रोस एदनाम गेब्रियससले यो भनाईको खण्डन गर्दै राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको विषयमा राजनीति नगर्न चेतावनी समेत दिएका छन्। उनले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको बिषयमा पनि आक्रोस व्यक्त गरेका छन्।

उता चीनले भने विश्‍व स्वास्थ संगठनले खेलेको भूमिकाको सराहना गरेको छ। समग्रमा, यतिखेर अन्तर्राष्ट्रिय स्तरमा अमेरिका एक्लिदै गएको र धेरै पछि धकेलिएको देखिन्छ। अमेरिकाको मुख्य प्रतिस्पर्धी रहँदै आएको चीन अन्तर्राष्ट्रिय रुपमा विविध पक्षमा निकै हावी भएको देखिन्छ। अमेरिकापरस्त कतिपय देशका सरकारहरु, ती देशका जनता पनि चीन तिर ढल्किँदै गएको आभाष हुदैछ। समाजवाद प्रतिको असहिष्णुताका कारण अमेरिकाले लगभग आधा शताव्दिदेखि क्युबामा नाकावन्दी लगाइरहेको छ।

यतिखेर क्युबाले पनि कोरोना भाइरसबाट महामारीको चपेटामा परेका युरोपका इटाली, स्पेन लगायतका देशमा बिमारीहरुको उपचार गर्नका लागि डाक्टरहरुको टिम नै पठाएर सहयोग गरिरहेको छ। डाक्टर नर्सहरुले आफु युरोपेली जनताको सेवाका लागि ज्यानको जोखिम मोलेर उपचारमा संलग्न भएको बताएर त्यहाँका जनताको मन जित्ने र छाप छोड्ने काम गरेका छन्।

यस प्रकार, विभिन्न प्रकारका व्यवस्था, सरकार र शक्तिहरुको भूमिकामा फेरबदल भैरहेको छ। मानिसहरुको सोचाईमा पनि परिवर्तन आइरहेको छ। विश्‍वको शक्ति सन्तुलनमा हेरफेर हुँदै गएको छ। विश्‍व परिस्थितिमा परिवर्तनका लक्षण देखापरेका छन्। यो प्रकृया अझ अघि बढ्दै जाने संभावना छ। विश्‍वमा परिवर्तनका नयाँ लहर आउन सक्ने संभावना क्षितिजमा देख्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.