|

धादिङ :  लकडाउन शुरु भएयता धादिङका अधिकांश ठूला वनहरु डढेलोको चपेटामा परेका छन्। केही दिनयता जिल्लाका ठूला सामुदायिक वनमा डढेलोको प्रकोप छ। देशभरमै सबैभन्दा धेरै सात सय १९ वटा सामुदायिक वन धादिङ जिल्लामा रहेको छ।

थाक्रे गाउँपालिका वडा नम्बर ११ मा पर्ने पैरे साल सल्लाघारी सामुदायिक वनमा गत हप्ता लागेको डढेलो स्थानीयको अग्रसरतामा नियन्त्रणमा आएको छ। बस्ती नजिकै रहेको जंगलमा डढेलो फैलन थालेपछि १ सय ५० जना भन्दा धेरै गाउँलेहरु जुटेर आगो निभाएका थिए।

डढेलो लागेपछि त्यस्को कारण ठूलो क्षती व्यहोर्नु पर्छ भन्ने जान्दाजान्दै पनि लुकिछिपी वनमा डढेलो लगाउनेहरु सक्रिय हुने गरेको सामाजिक अगुवा थाक्रे ११ का गोकर्ण रुपाखेती बताउँछन्।

थांक्रेको सालसल्लाघारी वनमा लागेको डढेलो समुदायको अग्रसरतामा निभाउन सके पनि सदरमुकाम धादिङबेसीबाट नजिकै रहेको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ को महाकाली सामुदायिक वनमा शुक्रवारबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

पाँचवटा ब्लक रहेको उक्त सामुदायिक वनमा गत शुक्रबार गिदेलडाँडा र शनिबार बेसारेपाखामा डढेलो लागेको थियो। तीन सय घर परिवार उपभोक्ता रहेको वनमा घाँस, दाउरा र चरिचरन सधैं खुला राखिएको छ। आगो कस्ले किन लगाउँछन, थाहा हुन नसकेको वडाअध्यक्ष भक्तबहादुर थापा बताउँछन्।

महाकाली वनबाट आएको डढेलो फैलिएर छिमेकी जलविरे सामुदायिक वनको ९१ हेक्टर बलिसकेको छ। करिव १ सय ५० घरधुरी उपभोक्ता रहेको जलविरे वनमा पनि अझै आगो दन्किरहेको छ। सिद्धलेकमा मात्रै होइन त्रिपुरासुन्दरी गाउँपालिकाको मनपाङ खोला माथिको वन क्षेत्रमा पनि आगो लागिरहेको स्थानीयले बताएका छन्।

अहिले डढेलो फैलिइरहेको अधिकांश वन क्षेत्रभित्र सालघारी छ, जहाँ लोपोन्मुख सालक, कालिज, वनकुखुरा, चितुवा, काँडेभ्याकुर समेत पाइने गर्दछ। डढेलोको कारण जैविक विविधता मात्रै होइन,वन सखाप भएको छ, वन्यजन्तु र चराचुरुंगीसँगै तिनको वासस्थानसमेत मासिने अवस्थामा पुगेको वन तथा वातावरण संरक्षण समाजका अध्यक्ष भुमीरमण नेपाल बताउँछन्।

लकडाउनयता १५ सामुदायिक वनमा डढेलो

धादिङका डिभिजन वन प्रमुख जीवनाथ पौडेलका अनुसार लकडाउन शुरु भएपछि अहिलेसम्म जिल्लाका १५ वटा भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। गएको दुई वर्षको तुलना गर्दा यो वर्ष आगलागी र डढेलोका घटना बढी भएको पौडेल बताउँछन्।

वनमा आगो लगाउनेलाई ५० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था भएपनि लापरवाही नरोकिएको उनी बताउँछन्।

जिल्लाका वन क्षेत्रमा लागेको डढेलोले गर्दा केह दिनदेखि धादिङको आकाश बादलले ढाकेजस्तो देखिन थालेको छ।  आकाशमा तुवाँलो र धुँवाको मुस्लो फैलिएको छ। धुँवाधुलो र फोहोर निस्कने उद्योगधन्दा बन्द भएको बेला वातावरणसफा हुनुपर्नेमा डढेलोका कारण निस्किएको धुवाँको मुस्लोल ढाक्दै गएको सिद्धलेकका निर्मल थपलिया बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.