डेरामा बस्ने विद्यार्थीलाई खाद्यान्न

|

बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले बैतडीका १० वटै स्थानीय तहमा डेढ करोड रुपैयाँ भन्दा बढी रकम पठाएको छ। जारी लकडाउनका कारण समस्या परेका नागरिकलाइ राहत दिन प्रदेश सरकारले एक करोड ६० लाख ३० हजार रुपैयाँ पठाएको हो। 

मन्त्रीपरिषद बैठकले केही दिन अघि गरेको निर्णय अनुसार असहाय, गरीब, विपन्न र ज्यालादारी गुमाएका परिवारलाइ राहत दिनका लागि प्रदेश सरकारले रकम पठाएको प्रदेश सभा सदस्य लिलाधर भट्टले बताए। प्रदेश सरकारले विपन्न, गरीब, असहाय र ज्यालादारी गुमाएका परिवारलाइ प्रतिपरिवार तीन हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको थियो। 

सोही निर्णय अनुसार दशरथचन्द नगरपालिकामा २० लाख, दोगडाकेदार गाउँपालिकामा १६ लाख, पुर्चौंडी नगरपालिकामा २६ लाख २० हजार, पाटन नगरपालिकामा १७ लाख २० हजार र मेलौली नगरपालिकामा १३ लाख ७० हजार रुपैयाँ राहत रकम पठाइएको छ। 

यस्तै शिवनाथ गाउँपालिकामा ११ लाख ९० हजार, पञ्चेश्वर गाउँपालिकामा १२ लाख २० हजार, सिगास गाउँपालिकामा १५ लाख ८० हजार, डिलाशैनी गाउँपालिकामा १५ लाख ४० हजार र सुर्नया गाउँपालिकामा १५ लाख ९० हजार रुपैयाँ राहत रकम पठाएको छ । 

प्रदेश सरकारले राहत वितरण सम्बन्धि कार्यविधि समेत ल्याइसकेको र सोही कार्यविधि अनुसार राहत रकम वितरण हुने जनाइएको छ। स्थानीय तहहरुले पनि स्थानीयस्तरमा राहत वितरण गर्दै आएका छन्। 

प्रदेश सरकारले सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहमा रकम पठाइसकेको जनाएको छ । 

डेरामा बस्ने विद्यार्थीलाइ खाद्यान्न 

बैतडीको दोगडाकेदारस्थित चनैराज माध्यमिक विद्यालयले डेरा गरी बस्ने विद्यार्थीहरुलाइ खाद्यान्न सामग्री वितरण गरेको छ। प्रविणता प्रमाणपत्र तह कृषि (आइएस्सी एजी) मा अध्ययनरत विद्यार्थीहरुलाइ खाद्यान्न सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कैलाशकुमार भट्टले जानकारी दिए।

विभिन्न जिल्लाबाट डेरा गरेर बसेका विद्यार्थीहरुलाइ जारी लकडाउनका कारण समस्या भएपछि विद्यालयले खाद्यान्न वितरण गरेको हो। डेरा गरी बसेका नौ जना विद्यार्थीहरुलाइ प्रति विद्यार्थी १० केजी चामल, २ केजी दाल, २ केजी आलु, १ केजी नुन र १ लिटर तेल वितरण गरेको विद्यालयले जनाएको छ।

समस्यामा परेमा विद्यार्थीलाइ कतैबाट सहयोग नभएपछि सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम भट्टले जानकारी बताए। 

वडा प्रवेशमा रोक 

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ ले आफ्नो वडामा बाहिरबाट आउने मानिसहरुको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यसमितिले यस्तो निर्णय गरेको हो। 

जारी लकडाउनलाइ प्रभावकारी बनाउन र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाले विभिन्न पहलहरु समेत गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.