१४ औँ स्मृति दिवसमा चन्द्रगढ यातायातद्वारा चामल वितरण

|

भद्रपुर, (झापा) : कोरोना संक्रमण फैलन नदिन कार्यान्वयन भइरहेको लकडाउनकै बीच झापावासीले दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गरेका जिल्लाका दुई शहीदलाई सम्झिएका छन्‌।

दोस्रो जनआन्दोलन चर्किइरहेका बेला २०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम भद्रपुरमा घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए। शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास। उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए। निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए। सोही क्रममा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न सुरू गर्यो। त्यसै बेला झापाका ती दुई युवालाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे।

उनीहरूले सहादत प्राप्त गरेको १४ वर्ष पूरा भएको छ। जनआन्दोलनका शहीदहरूकै कारण राजतन्त्रको अन्त्य भई देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भइसकेको छ। कोरोना कहर र लकडाउनका बीच पनि झापावासीले शहीदद्वय राजन गिरी र सुरज विश्वासलाई सम्झिएका हुन्‌।

भद्रपुर ६ मा निर्मित शहीद सुरजको अर्धकदको सालिकमा माल्यार्पण गर्दै शहीदले दिएको बलिदानलाई सम्झेका थिए। सामाजिक दुरी कायम राख्दै शहीद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको नेतृत्वमा गएका शहीद माता मिना विश्वास,  प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। अघिल्लो वर्षहरुमा श्रद्धाञ्जली सभाकै आयोजना गरिन्थ्यो।

यस्तै, सामाजिक दुरी कायम राख्दै चन्द्रगढ यातायात प्रालि भद्रपुर एयरपोर्टले शहीद सुरज विश्वासको १४ औँ स्मृति दिवसमा राहत सामग्री वितरण गरेको छ। भद्रपुरस्थित शहीद सुरज विश्वास स्मृति भवनमा उक्त राहत सामग्री वितरण गरिएको हो। चन्द्रगढ यातायातले ११ सय किलो चामल भद्रपुर नगरपालिकालाई उपलब्ध गराएको छ। ५० हजार ६०० मूल्य बराबरको चामल यातायातका अध्यक्ष विजय वैद्यले भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रामाया श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

त्यस्तै चन्द्रगढ यातायातमा आबद्ध चालकहरू मध्ये छनौट गरी १७ जना चालकलाई पनि राहत सामग्री वितरण गरिएको हो। उनीहरूलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल उपलब्ध गराइएको हो। वितरण कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, नेकपाका क्षेत्रीय इन्चार्ज पुष्पराज पोखरेल, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले उपस्थिति रहेको कार्यक्रमको सञ्चालन चन्द्रगढ यातायातका सल्लाहकार संयोजक असारु राजवंशीले गरेका थिए।

अघिल्ला वर्षहरू रक्तदान गर्दै आइरहेकोमा यस वर्ष राहत सामग्री उपलब्ध गराइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.