|

कञ्चनपुर : कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरमा भारतबाट तरकारी आयातको कार्य रोकिए पनि स्थानीयस्तरमै उत्पादित तरकारीले मूल्य पाउन सकेको छैन। व्यवसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका किसानले स्थानीय बजारमा तरकारी बिक्री गर्न लगे पनि बिक्री नहुँदा हैरान छन्। 

बजार क्षेत्र पूरै बन्द भएपछि तरकारी बिक्री गर्नका लागि किसानलाई समस्या भएको छ। तरकारी उत्पादनमा लागेका महिलाहरुले टाउकोमै तरकारी बोकेर दैनिक रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्मको तरकारी बिक्री गर्दै आएका थिए। 

लकडाउन भएपछि तरकारी बिक्री हुन छाडेको छ। तरकारी उत्पादन गरी बिक्रीमा लागेका कृष्णपुर नगरपालिका नयाँ कटानका गीता चौधरीले बारीमा उत्पादित तरकारी पहिला जसरी बिक्री नहुने बताइन्।

तरकारी छुन मान्दैनन् उपभोक्ता

‘बिहानको झिसमिसेमै टाउकोमा तरकारीको भारी बोकेर घर–घर पुग्थ्यौं, अहिले पनि त्यसरी नै जान्छौं’, उनले भनिन्, ‘पहिला समूहमा हिँडिन्थ्यो। कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि मास्कको प्रयोग गरी एक्लाएक्लै जानुपरेको छ।’ 

समूहमा आएको देखेपछि स्थानीय बासिन्दाले तरकारी किन्न नमानेको उनले गुनासो गरिन्। त्यस्तै बेच्न पनि एक्लै जानुपरेको उनले बताइन्। बिहान दुई घण्टा र साँझ दुई घण्टा खुल्ने तरकारी पसलमा समेत विगतको जस्तो बिक्री छैन। थोरै थरीका तरकारी हुँदा बिक्री घटेको झलारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएका रामु बस्नेतले बताए। 

ग्राहकको मागअनुसार तरकारी ल्याउन नसकिँदा उपभोक्तालाई तरकारी पुर्‍याउनै गाह्रो भएको उनले बताए। पसलमा तरकारी खरिद गर्न आउनेहरुलाई समेत सामाजिक दूरी कायम राख्नका लागि विशेष सतर्कता अपनाइने गरिएको उनको भनाइ छ। 

दैनिक चार हजारदेखि सात हजार रुपैयाँ बढीको तरकारी बेच्दै आएका शुक्लाफाँटा नगरपालिका ३ का किसान कालुराम चौधरीले लकडाउन भएयता थोरै मात्र बेमौसमी काउली बिक्री भएको बताए। 

उनी जस्तै सोही ठाउँका भरत चौधरीले लकडाउनअघि एक क्विन्टल ५५ किलो काँक्रा, दुई दुई क्विन्टल बढी लौका र ८० किलो तितेकरेला बिक्री गरेका थिए। लकडाउन भएपछि मुस्किलले १० हजार रुपैयाँको तरकारी बिक्री भएको बताए।
 
‘भारतीय तरकारी आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न समस्या र बजारमा उत्पादित तरकारीको खपत बढाउन समस्या हुने गरेको थियो’, चौधरीले भने, ‘अहिले तरकारीमा प्रतिस्पर्धा नभए पनि बिक्री गर्न निकै समस्या छ।’ 

बाह्य क्षेत्रमा उत्पादित तरकारी पुर्‍याउन नसक्दा बारीमै कुहिन थालेको उनले बताए। तरकारीको लागतसमेत नउठ्ने उनले बताए। भारतबाट मात्रै कञ्चनपुरमा मागको ४० प्रतिशत तरकारी आयात हुने गरेको छ। सिजनमा भारतबाट थोरै मात्र तरकारी आयात हुने गरे पनि बेमौसममा भारतबाट ६० प्रतिशतसम्म तरकारी आयात हुने गरेको व्यवसायीहरुको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.