घाइते हुने सबै महिला, ट्रक चालक फरार

|

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ आरनभन्ज्याङस्थित ग्रामीण सडकमा मिनीट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। दुर्घटनामा पर्नेहरु बजारमा किनमेल गरेर मिनीट्रकमा चढेर घर फर्कंदै थिए। दुर्घटनामा पर्ने सबै महिला रहेकाे बुझिएकाे छ। 

पृथ्वी राजमार्गको मलेखुबाट बेनिघाट रोराङको खहरेतर्फ खाद्यान्न सामान बोकेर जाँदै गरेको बा१ख ८७३६ नम्बरको मिनिट्रक आइतबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा दुर्घटनामा भएको धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं १ जोगीटारकी २४ वर्षीय सरु बसेल रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइतेहरुको उपचारका लागि मलेखुस्थित राजमार्ग अस्पतालमा ल्याइएको छ। उकालो बाटोमा ट्रक अनियन्त्रित भई सडकबाट चार सय मिटर तल गुल्टिँदै खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

घाइतेमध्ये एक जनालाई काठमाडाैं पठाइएकाे छ भने बाँककाे गजुरीकै अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। ट्रक चालक भने फरार रहेकाले उनकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.