जमातीलाई मस्जिद र मदरसामा नलुकाइएको दाबी

|

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढेसँगै सामाजिक सञ्जालहरुमा मुसलमान समूदायमाथि आरोप लागेको छ।

पर्सा र उदयपुरका मस्जिदमा बसेकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि विदेशी जमातीहरुलाई मस्जिदमा लुकाइएको चर्चा सामाजिक सञ्चालहरुमा हुन थालेका छन्। यस्तो अवस्थामा राष्ट्रिय मुस्लिम आयोगले सर्वपक्षीय बैठक डाकेर आइतवार छलफल गरेको छ। 

आयोगले तत्काल विदेशी जमातीहरुलाई उनीहरुकै देश फर्काउन पनि सरकारको ध्यानाकर्षण गरेको छ। आयोगको सर्वपक्षिय बैठकपछि अध्यक्ष समिम मियाँ अन्सारीले लकडाउनमा फसेका विदेशी जमातीहरुका कारण सिँगो समूदायलाई आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बतए।

‘विदेशी जमातीहरुका कारण सिंगो मुसलमान समूदायलाई आरोप लगाउने, बदनाम गर्ने काम भइरहेको छ', उनले भने, 'समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ, यसप्रति हामी गम्भीर छौँं। यसमा नेपाल सरकारले ध्यान दिनुपर्छ।’ 

उनीहरुलाई कुनै मस्जिद वा मदरसामा राख्ने अवस्था नरहेको उनले प्रष्ट पारे। ‘विदेशीहरुलाई उनीहरुकै देश कसरी पठाउने, क्वारेन्टाइनमा राख्ने, कहाँ राख्ने, त्यो काम मुस्लिम समुदायको होइन, सरकारको हो’ अन्सारीले भने, ‘मस्जिद अथवा मदरसाहरुमा अब हामीले राख्न सक्ने स्थिति छैन र कसैलाई राखिएको छैन। सरकारले छिटो भन्दा छिटो पहल गरेर जो जहाँबाट आएका छन्, उनीहरुलाई त्यहीँ पठाउने काम गर्नुपर्यो।’ 

पछिल्लो समय विदेशी जमातीहरु विभिन्‍न मस्जिदमा बसिरहेको बिषयमा स्थानीय प्रशासनहरुलाई जानकारी गराइसकेको भन्दै अन्सारीले उनीहरुलाई कुनै मस्जिद वा मदरसामा लुकाएर नराखिएकाे प्रष्ट पारे।

मस्जिद र मदरसा अनुगमन गरिने

मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसाहरुमा अनुगमनसमेत गर्ने भएको छ। आज आयोगको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले अनुगमन टोली बनाएर मदरसा, मस्जिदमा अनुगमन गर्ने निर्णय गरेको हो।

‘केही तत्वले कोरोनालाई लिएर प्रोपोकाण्डा अपनाएको, सामाजिक सद्भाव खल्बल्याउने प्रयास गरेको बिषयमा अनुगमन कमिटी बनाएर प्रत्येक मदरसा र मस्जिदमा अनुगमन गर्ने निर्णय भएको छ’, आयोगका अध्यक्ष अन्सारीले भने। 

सर्वपक्षीय बैठकले अध्यक्ष अन्सारीकै अध्यक्षतामा केन्द्रीय अनुगमन कमिटी गठन गरिसकेको छ। दुई दिनभित्र जिल्लाहरुमा पनि कमिटी गठन गर्ने निर्णय भएको छ। केन्द्रीय कमिटीमा पूर्वमन्त्री जाकिर हुसेन, सांसद शेख चान्त तारा, मुस्लिम संघका अध्यक्ष अब्दुल सरदार, धर्मगुरुका रुपमा मौलाना खुर्सिद इलाही र राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य आयुक्त मोहना अन्सारी सदस्य रहेका छन्।  

‘गृहमन्त्रालयमा जानकारी गराएर गठन गर्न लागिएको अनुगमन कमिटीहरुले मदरसामा जमातीहरु लुकेर बसे-नबसेको अनुगमन गरी भ्रम चिर्ने भएको छ। यसका साथै लकडाउनलाई सफल पार्न समेत मुस्लिम समूदायलाई सचेत गराउनेछ’ अन्सारीले भने, ‘केह‍ी दिनमै सुरु हुन लागेको रमजानमासमेत मस्जिदमा हुने भीडभाडलाई कम गरी घर-घरमै नवाज पढ्न प्रेरित गर्नेछ।’

के हो जमाती  

अध्यक्ष अन्सारी भन्छन्, ‘जमातीहरुका बिषयमा कुनै नौलो र अनौठौ मान्‍नुपर्ने कुरो छैन। ९०-९५ वर्षपहिले तबलिकी जमात सुरु भएको हो। लुज फोरम भएपनि विश्‍वभर यसको ठूलो संगठन  छ। हरेक देशका व्यक्ति अर्को देशमा जान सक्छन्। कोही ३ दिनका लागि, कोही ४० दिनका लागि, कोही ४ महिनाका लागि वा कोही एक वर्षसम्म पनि अर्को देशमा जमात जान्छन्।’ 

जमातीहरुले त्यहाँ गएर इस्लामको बारेमा प्रवचन दिन्छन्। मुसलमान समुदायभित्र जमाती मान्‍ने पनि हुन्छन् भने कोही नमान्‍ने पनि हुन्छन्। यसमा कोही तबलिकी जमात, कोही दावत-ए-इस्लाम भन्छन्।

‘अहिले कोरोना भाइरसले गर्दा जमात के हो भन्ने कुरा पनि थाहा भयो, यसको वार्षिक रुटिन हुन्छ। त्यही अनुसार उनीहरु हिँड्छन्’, अन्सारीले भने-केही समयअघि सप्तरीमा भएको जस्तो जमातीको सम्मेलनबाट को कहाँ जाने भन्‍ने निर्णय हुन्छ। त्यसैअनुसार नेपालको मान्छे भारत, भारतको मान्छे नेपाल बस्‍ने भनि जमातमा जाने हो।’

कोरोनाका कारण अकस्मात लकडाउन भएपछि जमातीहरु विभिन्‍न देशमा फसेका अध्यक्ष अन्सारीले प्रष्ट पारे। ‘कतिपय भारतका छन्, कतिपय इन्डोनेसियाका पनि आएका छन्, पाकिस्तानका पनि आएका छन्, कतिपय नेपालकै जमातीहरु पनि भारतका कतिपय ठाउमा फसिरहेका छन्’, अन्सारीले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.