इलाम : प्रदेश-१ मा कोरोनाको संक्रमण धमाधम देखिन थालेपछि इलाममा थप क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको विपद व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहमा ८८० वटा क्वारेन्टाइन थप निर्माणका लागि पहल थालेको हो।
जसअनुसार सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा २ सय बेडको दरले थप गरिने भएको छ। इलाम नगरपालिकामा १ सय बेड, माइजोगमाई गाउँपालिकामा ८० बेड छन्। माई नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकामा ५०/५० बेडको दरले निर्माण गर्न अनुरोध गर्ने केन्द्रले निर्णय गरेको छ।
क्वारेन्टाइन स्थापनाका गर्नका लागि आवश्यक समाग्रीहरुको अनुमानित मूल्यसहितको कार्ययोजना तयार गरी अनुमानित आवश्यक बजेट ६८ लाख ९४ हजार ४८० रुपैयाँ प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसमक्ष माग गर्ने निर्णय गरिएको छ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा निर्माण हुने क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेना सहितको संयुक्त सुरक्षा निकायले व्यवस्थापन गर्ने भएको छ।
नेम्वाङको पहलमा स्वास्थ्य सामग्री
संविधानसभाका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको पहलमा आएको स्वास्थ्य सामग्री सबै पालिकाहरु, स्वास्थ्य र सुरक्षा निकायलाई वितरण गर्नेसमेत बैठकले निर्णय गरेको छ। नेम्वाङको पहलमा ३५०० सेट सर्जिकल मास्क, ५० सेट एन–९५ मास्क, १० सेट पिपिई र १० सेट थर्मल गन प्राप्त भएको थियो।
थर्मलगन प्रत्येक पालिकालाई १-१ वटा, पिपिई इलाम अस्पतालमा ६ थान, पशुपतिनगर स्वास्थ्य केन्द्र र फिक्कल स्वास्थ्य केन्द्रलाई २-२ थान दिने निर्णय भएको छ। एन–९५ मास्क इलाम अस्पतालमा ३० थान, अन्य ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा ५ थानका दरले वितरण गरिने भएको छ।
सर्जिकल मास्क प्रत्येक गाउँपालिकालाई १५० का दरले ९०० वटा, नगरपालिकालाई २ सय का दरले ८०० वटा, सुरक्षा निकायमा ३ सय का दरले ९ सय, इलाम अस्पतालमा ५ सय र जिल्ला प्रशासन तथा अन्यलाई ४ सय वटा वितरण गरिने भएको हो।
समयसीमा तोकेर ढुवानी अनुमति
बैठकले जिल्लाभित्र सञ्चालित विकास निर्माणका आयोजनाका लागि अत्यावश्यक निर्माण सामग्री जिल्ला भित्र ढुवानीका लागि बेलुका ६ बजेदेखि बिहान ८ बजेभित्रको समय सिमा भित्र अनुमती जारी गर्ने निर्णय भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।