कोभिड-१९ {अपडेट}

महामारीबाट नागरिक जोगाउन यसरी सुरक्षा दिँदैछन्‌ प्रहरी (तस्बिरहरू)

बैशाख ८, २०७७

    भद्रपुर, (झापा) : झापा प्रहरीले प्रभावकारी ढंगले लकडाउन कार्यान्वयन गराउन र  कोरोना संक्रमणबाट नागरिक जोगाउन विभिन्‍न उपाय अपनाउन थालेका छन्‌। आज लकडाउन कार्यान्वयन भइरहेको २८ औँ दिन हो।

    जिल्ला प्रहरी कार्यालय झापाले लकडाउन उल्लङ्घन हुन नदिन सडकमा माइकिङ गर्नेदेखि सार्वजनिक स्थानमा गुडिरहेका सवारीसाधन र हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिइरहेको छ। पसल अगाडी गोलो घेरा कोर्नु, सडकमै घेरा बनाएर दुई घण्टासम्म तातो घाममै उभ्याउने जस्ता सजाय पनि प्रहरीले दिइरहेको छ।

    यी सजायसँगै प्रहरीले नागरिकलाई सचेत बनाउन प्लेकार्डमार्फत विभिन्न सचेतनामूलक सन्देशहरू पनि प्रवाह गर्न थालेको छ। अहिले जिल्लाभर खटिएका प्रहरीले सडकबाटै कोरोना सचेतना अङ्कित प्लेकार्ड बनाएर जनतालाई घरमै बस्न आग्रह गरिरहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार सडकमा निस्किएका मानिसहरूलाई लकडाउन पालना गर्न/गराउन प्रहरीले हातमा प्लेकार्ड देखाएर आग्रह गरिरहेका छन्‌।

    प्रहरीले बोकेको प्लेकार्डमा 'लकडाउनको पालना गरौँ, घरमै बसी महामारीको सामना गरौँ,' 'यो रोग लागे साह्रो छ, दुई सय बढी देशलाई गाह्रो छ,' 'नमिठो भए घरकै खाउँ, कोरोना खोज्दै सडकमा नधाऔं,' 'लकडाउनको परिपालन नगर्दा कारबाहीको भागीदार हुनुपर्ला,' 'सबै सडकमा आए कोरोना फैलँदैन र? तपाइँलाई घरको माया छैन र?' 'बाहिर किन तपाई? अहिले घरमा बस्ने समय होइन र?' 'तपाई घर भित्रै बस्नुस्, बाहिरी सुरक्षा हामी गर्ने छौँ,' जस्ता सचेतनामूलक सन्देशहरू लेखिएका छन्‌।  

    प्रहरी र ट्राफिक प्रहरीले यो अभियान भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, झिलझिले, सुरुङ्गालगायतका जिल्लाभर सुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ‘प्लेकार्ड पढ्ने जो कोही पनि लकडाउन पालना गर्नेतर्फ मोडिन थालिसकेका छन्‌,' डिएसपी श्रेष्ठले भने, ‘सर्वसाधारणलाई यो अभियानले थप सचेत बनाउने विश्वास लिएको छु।’

    भद्रपुर नगर क्षेत्रको विभिन्न स्थानमा प्रहरीले हातमा बोकेर प्लेकार्ड मार्फत नगरवासीलाई आग्रह गर्न थालिसकेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले जानकारी दिए।

पार्थ मण्डल

मण्डल थाहा खबरका झापा (भद्रपुर) समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]