नेपालमा धेरै संक्रमित युवा उमेर समूहका

|

काठमाडौं : विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार नजिक पुगेको छ।

नेपालमा हालसम्म ४५ जनामा कोरोना संक्रमण देखिएको छ। सातजना निको भएपनि बाँकी एक सय भन्दा धेरै शंकास्पद विरामी देशका विभिन्‍न अस्पतालमा आइसोलेसनमा उपचाररत छन्। देशमा लकडाउन भएपनि संक्रमण संख्या बढिरहेको छ। त्यसको कारण परीक्षण संख्या बढ्नु नै हो।

नेपालमा धेरै युवा उमेरका संक्रमित

माघको पहिलो हप्ता पहिलो पटक चीनबाट अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो। त्यसयता नेपालमा संक्रमितको संख्या ४५ जना पुगेको छ।

नेपालमा देखिएका संक्रमित युवा उमेरका धेरै रहेको पाइएको छ। हालसम्म नेपालमा १५ जना स्थानीयबासीमा संक्रमण भएको छ। अन्य ३० जना विदेशबाट आएका हुन्। जसमा १५ जना भारतीय नागरिक पनि छन्। 

हालसम्म संक्रमित भएको भेटिएकामध्ये सबैभन्दा धेरै २० देखि ४० वर्ष उमेर समूहका रहेका छन्। नेपालमा देखिएका संक्रमितहरुमा सबैभन्दा कम उमेरका १९  वर्षका छन् भने सबैभन्दा वृद्ध ८१ वर्ष का छन्। त्यसमा सबैभन्दा धेरै २० देखि ४० वर्षका युवा उमेरका छन्।

किन युवा उमेर समूहका धेरै?

नेपालमा देखिएको संक्रमित धेरै युवा उमेरका भेटिनुमा वैदेशिक रोजगारी र अध्ययन मुख्य कारण हो। नेपालमा भेटिएका धेरै संक्रमित खाडी र युरोपियन मुलुकबाट आएका छन् र तिनीहरु युवा उमेरका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाकार डा. खेम कार्कीका अनुसार हालसम्म नेपालमा सबैभन्दा पहिले कैलालीकी महिलामा 'लोकल ट्रास्मिसन' देखिएको थियो। त्यसपछि उदयपुरका स्थानीयबासीमा संक्रमण देखिएको छ।

उदयपुरमा लोकल ट्रान्समिसन भएकाले कोरोना अब नेपालमा तेस्रो चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। समुदायमै कोरोना फैलिएकाले अब सबैभन्दा जोखिम र खतरापूर्ण अवस्था सुरु भएको बताउँछन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा। 

एउटा समुदायमा फैलिएको संक्रमण अर्को समुदायमा पुग्न नदिन निश्‍चित क्षेत्र नै सिल गर्नुपर्ने उनी बताउँछन्। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्रमै १२ जना भारतीयबाट अन्य स्थानीयबासीमा कोरोना फैलिएको थियो। कोरोना समुदायमा फैलिएपछि त्यहाँको गाउँलाई सिल नै गरिएको छ। 

कोरोना भाइरस समुदायमा सरेकाले पाका उमेरका मानिसहरु बढी जोखिममा पर्नेछन्। ‘विदेशमा धेरैमा पाका उमेर समूहमा भाइरस देखिनुको प्रमुख कारण त्यहाँ समुदायमा फैलिएकाले हो। हाम्रोमा पनि समुदायमा फैलिएपछि पाका उमेर समूहलाई उच्च जोखिम हुन्छ', डा कार्कीले भने।

लकडाउन पालना गरौँ

उदयपुरमा जस्तै कोरोनालाई समुदायमा फैलिन नदिन लकडाउन पालनाको विकल्प छैन। उदयपुरमा जस्तै अन्यत्र समुदायमा फैलिन नदिनका लागि लकडाउनलाई  राम्रोसँग पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले बताउँछन्।

डा. कार्की हालसम्मको अनुसन्धानमा नेपालमा देखिएको कोरोना भाइरसको प्रकृति फरक छ। ‘हामीकहाँ आएको भाइरस अरु देशका नागरिकमाभन्दा हाम्रो देशका नागरिकमा धेरै समय बसेको पाइएको छ', उनले भने, 'धेरै समय भाइरस शरीरमा रहँदा त्यसको लोड धेरै घट्दै जाने र संक्रमितको स्वास्थ्य त्यति धेरै जोखिममा पर्ने अवस्था पाइएको छैन।‘

भाइरस धेरै समय शरीरमा बस्दा नेपालका संक्रमितहरुको स्वास्थ्यमा सामान्य रहन सकेको पनि अनुसन्धानले देखाएको कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.