एउटै कम्पनीलाई ३० लाख  चाहिने

|

काठमाडौं : अंग्रेजी नयाँ वर्ष २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप अहिले विश्‍वभर फैलिएको छ। 

यही कोरोना भाइरसको कहरकै कारण नेपाल सरकारले भ्रमण वर्षको सबै कार्यक्रम स्थगित गरी यही वैशाखदेखि भ्रमण वर्षको सचिवालय पनि बन्द गर्‍यो। 

कोरोना भाइरसको संक्रमण दर विश्‍वभरी र नेपालमा दिनदिनै बढ्दै गएको छ। भाइरसकै कारण अर्थतन्त्र धरमराउन थालिसकेको छ। नेपालको अर्थतन्त्रको एक हिस्सा मानिँदै आएको पर्यटन व्यवसाय पनि कोरोना भाइरसको कारण शून्यमा झरेको छ। 

सहुलियत व्याजमा ऋण 

ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदी कोरोनाले पर्यटनको बजार शून्य हुँदै माइनस तर्फ झरेको बताउँछन्। ‘पर्यटनको व्यापार भर्खर भर्खर फस्टाउँदै गरेको नेपालमा कोरोना भाइरसले चुर्लुम्मै डुबायो,’ थाहाखबरसँगको कुराकानीमा उनले भने, ‘देशरभरको पर्यटन व्यवसाय शून्यबाट माइनसमा गइसक्यो। चिन्ताजनक अवस्थामा छ। सिजनकै मुखमा जटिल अवस्थामा ल्याइदियो।’ 

उनले ट्राभल तथा ट्रेकिङ कम्पनी सञ्चालन गरेर पर्यटन व्यवसायको एक हिस्सा ओगटेका व्यवसायीहरुलाई सरकारले केही राहतको प्याकेज ल्याउनुपर्ने तर्क गरे। 

‘हामीले लकडाउन अघि नै हाम्रो सरोकार राख्‍ने नेपाल सरकारको पर्यटन मन्त्रालय, मन्त्रीलाई भेटेर पनि आफ्नो धारणा राखिसकेका छौँ,’ उनले भने, ‘यो बेलामा सरकारले टान र नेपाल पर्यटन बोर्डले सञ्चालन गरिरहेको कोष परिचालन गर्न सक्नुपर्छ। होटललाई ३० लाख र ट्रेकिङको एउटा कम्पनीलाई २० लाख २ वर्षमा तिर्नेगरी सहुलियतको व्याजमा दिनुपर्छ।’ 

सरकारले ऋण दिए उक्त रकम भाडा तिर्न सहयोग हुने उनको भनाई छ। नेपाल सरकारको नियम कानुनमा बाँधिएर दर्ता भएर सञ्चालनमा आएको कम्पनीलाई सरकारले विश्वास गरिदिनुपर्ने उनको धारणा छ। 

त्यस्तै उनले टे«किङ गाइड तथा पोटरहरुलाई यो समयमा हिमालको सरसफाई लगायतको कामममा लगाएर केही आर्थिक सहयोग गर्नुपर्ने बताए। नेपालमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि आन्तरिक पर्यटनले व्यवसायीलाई केही राहत हुने उनको विश्वास छ।  

सौराहा : सहुलियतको केही प्याकेज चाहियो

नेपालको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक सौराहा पनि सुनसान छ। सौराहामा अहिले होटल सञ्चालक बाहेक कोही छैन। होटल सञ्‍चालकहरु होटलमा भएको गार्डेनमा फूल रोप्दै, तरकारी रोप्दै बसिरहेको बताउँछन्।

'कोही गेस्ट आउला भन्‍नु छैन,’ होटल मोनालिसाका सञ्‍चालक केशव खनालले भने, ‘तरकारी रोप्ने, फूलमा पानी हाल्ने, होटल कुर्ने गर्दै बसिरहेका छौँ।’ 

उनका अनुसार सौराहामा होटल व्यवसायको लागि २५ अर्ब रुपैयाँ भन्दा धेरै लगानी भएको छ। ‘२५ अर्बको लगानी सौराहाको होटलमा छ,’ उनले थपे, ‘यतिको लगानी भएको ठाउँमा व्यापार छैन। आम्दानी छैन। राज्यले हाम्रो लगानीको व्याज तिर्न केही सहज हुने वातावरण बनाइदिए हुन्थ्यो। हामीले अहिलेसम्म तिरेको करको गुण सरकारले सहुलितको केही प्याकेज ल्याएर तिरे हुन्थ्यो।’

कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै सरकारले लकडाउन घोषणा गरेसँगै सौराहाका होटलमा कार्यरत कर्मचारीहरु पनि काम विहिन भएर घर फर्किसकेका छन्। 

पोखरा : सुनसान लेकसाइड

नेपालमा पर्यटनको सफल व्यापार गरिरहेको अर्को गन्तव्य हो पोखरा। मध्यरातसम्म जागा रहने पोखरा अहिले। दिनरात नै सुनसान छ। घुम्‍न पहिलो रोजाईमा पर्ने थलो हो पोखरा। कोरोना भाइरसको संक्रमणको असरले अहिले कोही पोखरा घुम्‍न जाँदैन। पर्यटकी नगरी पोखराको लेकसाइडका सबै होटलहरु अहिले बन्द छन्।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल पोखरामा पर्यटकीय चहलपहल शून्यमा झरेको बताउँछन्। ‘सिजनको मुखमै यस्तो भयो अहिले पोखरामा कोही स्वदेशी तथा विदेशी पर्यटक छैनन्’ उनले भने, ‘होटलहरु खाली छन्।’  

यो सिजनको लागि पोखरा आउन बुकिङ गर्ने पर्यटकहरुले कोरोनाको संक्रमण विश्वभर फैलिएसँगै बुकिङरद्द गरे। ‘यो अवस्थामा हामी त के गर्न सक्छौँ र’ पश्चिमाञ्चल होटल एशोसियन हानका अध्यक्ष विकल तुलाचनले भने, ‘सरकारले केही राहतको प्याकेज ल्याउँछ की भन्‍ने आशा छ। करोडौँ, अर्बौं लगानी डुब्‍ने खतरा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.