|

बारा : गुणस्तरहीन दाल राहत बाँडेको आरोपमा बारामा २ जना वडा अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। तीन दिनअघि नै उनीहरूलाई पक्राउ गरेपनि प्रहरीले अझै सार्वजनिक गरेको छैन।  

पक्राउ परेकाहरूमाथि कालोबजारी मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन्‌।

कलैया उपमहानगरपालिका-७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षदेखि भण्डारण गरी राखिएको रहरको दाल खरिदबिक्रीमा उनीहरु संलग्न रहेकोले हिरासतमा राखि बयान सुरु गरिएको उनले बताए।

कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह सोनार र ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा २० का सचिव खेदु मियाँ, वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन र कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पंगेनीले बताए।

प्रहरीले जैनलाई उनको आफ्नो घर कीर्तिपुर नगरपालिका-२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका जैनले आफ्नो दाल कोल्डस्टोरका सञ्चालकले बिक्री गरेको भन्दै जिल्ला प्रशासन र उद्योग वाणिज्य महासंघमा दाल उपलब्ध गराई दिन र मनोमानी बिक्री गर्नेमाथि कारवाहीको पहल गरिदिन निवेदन दिएका छन्।

अरुलाई जिल्लाबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र अन्यको पनि संलग्नता रहे नरहेको बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए।

कोल्डस्टोरमा शिल

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका-७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो। अनुगमनपछि उक्त गोदाममा शनिबार शिलबन्दी गरेको थियो। प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३८० बोरा दालको गोदाम शिल गरेको हो। 

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन्। 

दाल गुणस्तरहीन 

प्रमुख जिल्ला अधिकारीको आदेशमा कोल्डस्टोरसहित वडाहरुमा बाँडिएको दाल प्रहरीले बरामद गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो।

नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेको छ। कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर गुणस्तरहीन भएको जानकारी गराएको छ।

गोदाममा बाँकी रहेको ३८० बोरा (९ हजार५०० केजी) रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि त्यसबाट नमुना संकलन गरेर पठाएको थियो।

कार्यालयको पत्र पाएसंगै प्रहरीले मुद्दा अनुसन्धान गर्न थालेको छ। यो बाहेक राहतमा वितरण गरिएको केही वडाहरुबाट दाल बरामद गरेको छ। वडा २० (बसतपुर) बाट गोदामका २५ केजी दाल प्याकिङ भएको २५ बोरा दाल बरामद गरिएको भएको थियो।  आधा दर्जन वडाका सयौं परिवारलाई दाल राहतमा बाँडिएको छ।

उधारोमा कारोबार

लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको पाइएको छ। 

यसैगरी वडा नं १ मा राहत बाड्न लगिएको त्यही दालको नमुना पनि संकलन गरिएको छ। ‘लकडाउन र राहतको मौका छोपेर गोदामबाट उधारोमा बिक्री गरेको पाइएको छ,’ डीएसपी मिश्रले भने, ‘राहतमा पुरानो दाल खपत गरी सल्टाउने उद्देश्य देखिन्छ।’ दाल करिब चार वर्ष पुरानो रहेको उनले बताए।

अतिविपन्न र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणका लागि सरकारले राहत वितरण गर्न निर्देशन दिएपछि स्थानीय तहका वडाहरुले त्यही दाल खरिद गरी राहत वितरण गरिरहेका थिए।

आ-आफ्नै दाबी

कुहिएको दालको प्रकरणमा संलग्नाबारेमा मेयर, वडा अध्यक्ष र व्यवसायिले आ-आफ्नै दाबी गरेका छन्। मेयर यादवले उपमहानगरपालिको लेटर प्याडमा गुणस्तरहीन दाल बिक्री वितरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

अनाहकमा आफूलाई बदनाम गर्न खोजिएको भन्दै विज्ञप्ती जारी गरेका गरेर मेयर यादवले दालको धनलक्ष्मी दाल मिलले कारोबार गरेको उल्लेख गरेका छन्। मेयर यादवले व्यापारीका प्रतिनिधिमार्फत उक्त दाल वडाध्यक्षहरुले खरिद गरी राहतमा बाँडेको बताएका छन्।

‘चार वर्षअघिदेखि व्यापारीले दाल राखेको हो,’ मेयर रायले भने-‘अहिले भने व्यापारी सम्पर्क विहीन भएकाले उनका प्रतिनिधि (मुन्सी) गोल्डेन भन्नेले बिक्री गरेका हुन्।’ मेयर रायका अनुसार ८ क्विन्टल दाल बिक्री भइसकेको छ।

वडा नम्बर १ का अध्यक्ष हरिओम साह सोनारले मेयर रायबाट रहरको दाल र आलु उधारोमा खरिद गरी राहत वितरण गरिएको बताए। आफूले ६ क्विन्टल दाल र ३४ क्विन्टल आलु मेयर रायको गोदामबाट खरिद गरेको उनको भनाइ छ। 

म संलग्न छैन : व्यापारी

पक्राउ परेका धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनले यादव आईस एण्ड कोल्ड स्टोरबाट कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव तथा उनका आफन्तले वडा नं.७ को बिक्री वितरण भएको गुणस्तरहीन भनिएको दालमा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए। 

गुणस्तरहीन भनिएको रहरको दालमा आफूलाई जोडेर मेयर यादवले जारी गरेको विज्ञप्ती प्रति ध्यानाकर्षण भएको भन्दै व्यवसायी जैनले विज्ञप्ती नै निकालेर आपत्ती जनाएका थिए। 

मेयर यादवले गुणस्तरहीन दाल नियन्त्रण गर्न पुगेको प्रहरी र समाचार संकलनमा पुगका पत्रकारलाई मेयर यादव र उनका आफन्तले दाल आफूले नभई धनलक्ष्मी दाल मिलका सञ्चालकले बिक्री वितरण गरेको आरोप लगाएका थिए।

धनलक्ष्मी दाल मिलका सञ्चालक जैनले आफूले नियमित रुपमा कोल्डस्टोरलाई प्रति केजी ३५ पैसाको दरमा भाडा तिरेर २ बर्ष देखी दाल राखेको तर हालसम्म कँही कतै बिक्री वितरण नगरेको विज्ञप्तीमा उल्लेख गरेका छन्।

के हुन्छ कारवाही ?

परीक्षणबाट अखाद्य प्रमाणित भएपछि खाद्य ऐनअनुसार कारबाही गरिने उनले बताए। कसुर सावित भएमा २ लाख जरिवाना र एक वर्ष कैद वा दुबै हुनसक्ने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.