|

जाजरकोट :डोल्पो बुद्ध गाउँपालिका-१ की डोल्पाकी २६ वर्षीय छिरिङ बुढा सुत्केरी हुँदा स्वास्थ्य संस्था नगई स्थानीय आम्चीलाई बोलाएर सुत्केरी भइन्‌। उनले अहिलेसम्म तीन बच्चा जन्माउँदा आम्चीकै भरमा सुत्केरी भएको जानकारी दिइन्‌। उनको घरबाट ६ घण्टा दुरीमा रहेको वडा ३ स्थित ताक्सी गाउँमा बर्थिङ सेन्टर छ। बर्थिङ सेन्टर नाम मात्र हुँदा सवै महिलाहरु सुत्केरी हुँदा आम्चीलाई बोलाउछन्।

वडा १ मा नामग्याल लामा (आम्ची)ले दैनिक गाउँमा सुत्केरी पर्दा तत्काल स्थानीय जडीवुटीबटीबाट निर्माण गरिएको औषधि लिएर पुग्ने गर्छन्‌। स्वास्थ्यकर्मी भन्दा लामा (आम्ची)को गाउँमा पहुँच राम्रो रहेको स्थानीयवासीहरु बताउँछन्। सरकारी स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन यहाँका महिलाहरुको फलामका चिउरा चपाएझै हुँदै आएको छ।

त्यस्तै वडा ३ मा प्रेमा लामा, वडा ४ मा गोम्वो छेप्तेन गुरुङ र वडा ५ मा कार्मा छोइवेल गुरुङ र वडा ६ मा छोईटुप गुरुङले आम्चीको काम गर्दै आएका छन्। उनीहरुले गाउँमा स्थानीयवासी विरामी तथा महिलाहरु सुत्केरी हुँदा स्वास्थ्य सेवा दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओखराम ताराम मगरले जानकारी दिए।

त्यस्तै ४, ५ र ६ नम्वर वडाको लागि धो स्थित स्वास्थ्य संस्था रहेको छ। स्थानीयवासीहरुको पहुँचमा स्वास्थ्य संस्था नहुँदा यहाँका महिलाहरु आम्चीको भरमा स्वास्थ्य सेवा लिँदै आएका छन्। गाउँपालिकाले समेत आम्चीलाई औषधि लगाएका अन्य साधन किन्नका लागि आर्थिक सहयोग गरेको छ। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने अवस्था र गर्भजाँच समेत नगरी असुरक्षित रुपमा सुत्केरी हुनु यहाँका महिलाहरुको रहर नभई बाध्यता रहेको छ। गाउँपालिकामा अहिलेसम्म कति जनाले सुरक्षित सुत्केरी सेवा लिए भन्ने एकिन तथ्यांक समेत पाउन गाह्रो रहेको छ।

समुद्री सतहबाट २ हजार ८०० मिटर देखि ४हजार ८ सय ७५ मिटरसम्मको उचाईमा यहाँका गाउँहरु अवस्थित छन्। भारी हिमपात हुने यो गाउँपालिकामा १२ महिना स्वास्थ्यकर्मी वस्न सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष तेम्वा गुरुङले बताए। चीनको स्वशासित क्षेत्र तिब्बतको नगिचसँग सिमाना जोडिएको सो गाउँपालिकामा सधैजसो हिउँले ढाकेको हुन्छ

त्यस्तै शे फोक्सुण्डो गाउँपालिकामा तीनवटा 'बर्थिङ सेन्टर' रहेका छन्। सेन्टरमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ। ८७० घरधुरी रहेको गाउँपालिकामा सवै महिलाहरु सुत्केरी सेवा लिन नआएको सालताङ स्वास्थ्य चौकीका प्रमुख निमा धार्के गुरुङले जानकारी दिए। वर्षमा २ सय जती महिलाहरु सुत्केरी आफ्नै घरमा असरक्षित रुपमा सुत्केरी हुने गरेको उनले जानकारी दिए। अघिल्लो वर्ष यहाँ २ जना महिलाले मात्र स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी भएका थिए। स्थानीय भाषाका कारण समेत यहाँ स्वास्थ्य सेवा दिन मुस्किल हुँदै आएको स्वास्थ्यकर्मीले बताएका छन्।

गाउँमा गएर स्वास्थ्यकर्मीले गर्भवती महिलाहरुलाई नियमित गर्भजाँच गर्न र स्वास्थ्य संस्थामा आएर सुत्केरी हुन आग्रह गरेपनि स्वास्थ्य संस्था पहुँचमा नहुँदा समस्य हुँदै आएको छ। दुर्गम भन्दै स्वास्थ्यकर्मीहरु नियमित स्वास्थ्य संस्थामा नवस्दा समेत उपचारमा समस्य हुँदै आएको छ। स्रोतका अनुसार अहिलेसम्मको अवस्था हेर्दा तीन महिनासम्म स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नवसेको ईतिहास रहेको छ।

वडा १,२,३ र ४ को स्वास्थ्य चौकी सालदाङमा रहेको छ। वडा १ को मुसीगाउबाट सालदाङ स्वास्थ्य चौकीमा आउन दुई दिन लाग्ने गर्दछ। पायक पार्ने ठाउँमा स्वास्थ्य चौकी नहुँदा विरामी भएपनि उपचार गर्न धेरै दिन लाग्ने भएकाले उपचारै नपाएर अधिकांश सर्वधासारणहरु अकालमै ज्यान जाने गरेको स्थानीयवासी कसी गुरुङले जानकारी दिए। वडा नं १ कै डोल्मा गुरुङ तिलिङगाउबाट सालदाङ स्थित स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि टाढा भएकाले घरमै सुत्केरी हुन बाध्य भएको बताए। उनका अनुसार सवै गाउँका महिलाहरु यसरी नै असुरक्षित रुपमा गाउँमै सुत्केरी हुन बाध्य हुनुपरेको छ।

गाउँमै कतिवेला औषधी पुग्छ भन्नेसम्म यहाँका सर्वसाधारणलाई थाहा नहुने गरेको छ। औषधि खच्चडमा लिएर उपचार भएपनि पुर्ण औषधि अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन्। अहिले सवै गाउँमा ज्वारो र रुगाखोकीका विरामीहरु देखा परेको तर औषधि लिएर जानका लागि निकै टाढा भएकाले समस्य भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।

गाउँपालिकाका स्वास्थ्य संयोजक गाउँपालिकामा नबस्दा उपचार कार्य प्रभावित हुँदै आएको छ। स्वास्थ्य सेवा कार्यालयबाट कुनै पनि औषधि गाउँपालिकामा नपठाएको स्रोतले बताएको छ। गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङ लगायतको जनप्रतिनिधि काठमाडौँमा रहेका छन्। गाउँपालिकाको कुल क्षेत्रफल क्षेत्रफल १२३.७ वर्ग कि.मि. मा फैलिएको छ। यहाँ जम्मा ९ वडा रहेका छन्। वडा नं. १, २, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं. ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ।

यस गाउँपालिकाको जम्मा जनसंख्या ३ हजार ०९९ रहेको छ। ऐतिहासिक तथा धार्मिक स्थलहरुमा शे फोक्सुण्डो ताल शे गुम्बा रहेको छ । समुन्द्री सतहदेखि करिव २ हजार ३०० देखि ७हजार ४२५ मिटर उचाइमा गाउँपालिका रहेको छ। शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक स्थल शे गुम्बा र साविक फोक्सुण्डो गाविस रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुडो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

त्यस्तै छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनांङ गुरुङका अनुसार गाउँपालिकामा २ वटा मात्र स्वास्थ्य चौकी रहेको छन्। अहिले सातजना स्थानीय वैद्यी (आम्ची) मार्फत स्वास्थ्य सेवा तथा सुत्केरी सेवा दिने काम भईरहेको छ। असाध्य चिसोका कारण दैनिक सरकारी सेवा दिन समेत अवरोध हुँदै आएको छ।

अहिले गाउँपालिकाको वडा २ छाका गाउँ र वडा ४ मा मात्र स्वास्थ्य संस्था रहेका छन्। अन्य वडाहरु स्वास्थ्य संस्था विहिन अवस्था रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। स्थानीय आम्चीलाई औषधि लगाएतका बस्तुहरु सहयोग गरेर उनीहरु मार्फत सुत्केरीहरुलाई सेवा दिईदै आएको छ।

सुत्केरी हुँदा निकै समस्य भएमा मात्र आम्चीलाई बोलाएर सुत्केरीलाई घरेलु उपचार गरिन्छ भने सामान्य सामस्य हुँदा घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेको स्थानीयवासीले बताएका छन्। अहिलेसम्म सुत्केरी भत्ता समेत गाउँपालिकाले भुक्तानी गर्नुपरेको छैन।

विकट गाउँमा कति महिला असुक्षित सुत्केरी हुन्छन् र कतिले सुत्केरी हुन नसकेर ज्यान जान्छ भन्ने कुरा सञ्चारको पहुँच नहुँदा जानकारी लिन मुस्किल रहेको छ। एक गाउँबाट अर्को गाउँमा जान मात्र २ दिनसम्म लाग्ने गर्दछ। हिमालहरुको बीचमा गाउँहरु रहेकाले हिमालमा हिउँ पर्न बित्तिकै वाटो अवरुद्ध हुने बित्तिकै गाउँ, गाउँको सम्पर्क समेत टुट्ने गरेको छ।

तल्लो मध्य डोल्पामा आंशिक सुत्केरी स्वास्थ्य संस्थामा

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काईके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मात्र आशिंक महिलाहरुले सुत्केरी सेवा लिने गरेका छन्। एक वडाबाट अर्को वडामा जानका लागि दिनभरी लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरु सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन्‌।

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन्‌। मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ। जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ। उपल्लो डोल्पा भन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाहरुको संख्या बढी रहेको छ।

आर्थिक वर्ष २०७४/७५ मा २८५ जना, २०७५/७६ मा ४०५ र २०७६ साउनदेखि माघसम्म २४४ जना महिलाहरुले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी सेवा लिएको तथ्यांक रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ। सवैभन्दा बढी स्वास्थ्य सेवा कार्यालय दुनैमा आएर सुत्केरी हुनेको संख्या बढी रहेको छ।

आर्थिक वर्ष २०७४/७५ मा ७३ जना, २०७५/७६ को अहिलेसम्म ७१ जनाले स्वास्थ्य सेवा कार्यालय दुनैमा आएका सुरक्षित सुत्केरी सेवा लिएका छन्। डोल्पाबाट मात्र सरकारले १४ जना गर्भवतीको हेलिकोप्टबाट उद्धार गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

कर्णाली प्रदेशको सवै भन्दा बढी हेलिकोप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा एक नम्वरमा पर्दछ। यहाँका महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन्।

बढ्दो देवी, देवताको विश्वास बाट मुक्त गराई जिल्लामा भएका स्वास्थ्य संस्थामा भरपरेर सेवा लिन आएमा आफूहरु दक्ष सेवा दिन तयार भएको सेवा कार्यालयमा प्रमुख सिजन रावलले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुन आएका गर्भवतीलाई समेत धामी, झाँक्रीको विश्वासमा उपचार गर्न नदिने अवस्था रहेको उनको भनाई छ। जिल्लामै अप्रेशन सेवा देखि सवै खालका सेवा दिन जनशक्ति भएपनि नजिकको तिर्थ हेला भनेझै गरी सेवा लिन आउनेको संख्या कम भएको उनको भनाई छ। हामी सेवा दिन तयार छौँ तर पहुँचकै भरमा हेलिकोप्टरमा गर्भवतीको उद्धार गरेर जिल्ला बाहिर लिने चलन व्यापक रहेको उनको गुनासो छ।

के हो आम्ची उपचार विधि ?

आम्ची उपचार विधि भनेको बुद्धिष्ट धर्मसँग आधारित उपचार विधि हो। यो चाहिनाबाट आयतित विधि पनि हो। नेपालको उच्च हिमाली क्षेत्र अर्थात चीनको सिमानासँग जोडिएको ठाउँमा रहेका जनजाती समुदायमा यो विधि अत्यन्तै लोकप्रिय रहुँदै आएको छ । उपल्लो डोल्पामा मानव वस्ती बसेसँगै यो उपचार विधि सुरु भएको पाईन्छ। स्वास्थ्य संस्था नभएको समयमा देखि अहिलेसम्म यही विधिबाट यहाँका सर्वसाधारणको उपचार हुँदै आएको छ।

हिमाली क्षेत्रमा पाईने जडीवुटीको संकलन गरी त्यसलाई आयुर्वेदिक तरिकाले विरामीको उपचार हुने गर्दछ। आम्चीहरु गुम्वामा गएर पुजा आजा समेत गर्दछन्। कसैले विशेष मन्त्रद्धारा उपचार विधि प्रयोग गर्छन भने कसैले सिधै जडीवुटीबाट उपचार गर्दछन्। डोल्पा हुँदै उच्च हिमाली जिल्ला ताप्लेजुङसम्म यो उपचार विधि निकै लोकप्रिय रहेको छ।

१३ सय वर्ष अघि देखि यो विधि प्रयोगमा आएको फोक्सुण्डो गाउँपालिकाका अध्यक्षले बताएका छन्। सोवा रिग्पाको अर्थ ‘औषधि विज्ञान’ हो। यसको मूल स्रोत सोवा रिग्पा वेद हो। यस वेदमा सोवा रिग्पाको इतिहास, मानव शरीरको वनावट, चार सयभन्दा धेरै रोगको उपचार विधि र औषधि निर्माण विधि समेटिएको छ। यो विधिको अभ्यास गर्ने व्यक्तिलाई आम्ची भनिन्छ।

यसको खास इतिहास के छ ?

नेपालमा सोवा रिग्पा उपचार पद्धतिको विकास हजारौँ वर्ष अगाडिदेखि परम्परागत रूपमा हुँदै आएको हो। तत्कालीन तिब्बती राजा स्रङ चङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह भएपछि भृकुटीसँगै नेपाली आयुर्वेदका वैद्यहरू पनि तिब्बत भ्रमणमा गएको र त्यहीँबाट यो ज्ञानको आदान-प्रदान नेपालमा भएको मानिन्छ।

तिब्बती चिकित्सा पाठ्यपुस्तक ‘फैमा ग्युद’ मा यो ज्ञानको उत्पत्तिबारे प्रस्ट प्रमाणहरू पाइन्छन्। सो पुस्तकमा आम्ची परम्परा तिब्बतका आठौँ शताब्दीमा राजा थिचोङ डेत्सेनको पालामा प्रारम्भ भएको र त्यसै समयमा नेपालको हिमालयमा पनि यसको प्रचार-प्रसार भएको हो भन्ने कुरा उल्लेख छ। नेपालका मुस्ताङ र डोल्पा जिल्लाहरू तिब्बतको बोन्पो सभ्यताको ऐतिहासिक अङ्ग भएकाले तिब्बती उपचार पद्धति नेपाल र तिब्बतमा सँगसँगै विस्तार भएका उदाहरणहरू पनि पुस्तकमा समावेश भएका छन्।

तीमध्ये सोवा रिग्पा उपचार प्रणालीप्रति नेपालका उच्च हिमाली भेगहरूमा अहिले पनि जनविश्वास निकै रहेको छ। कतिपय ठाउँमा त आधुनिक चिकित्सा प्रणालीभन्दा आम्चीबाटै उपचार पनि गराउने गर्दछन्। वर्षौंदेखि अभ्यासमा रहेको सोवा रिग्पा हिमालय क्षेत्रका बासिन्दाको संस्कृति र संस्कारको अभिन्न अङ्ग बनेको छ। नेपालका उच्च हिमाली बस्तीहरूमा अहिले पनि आम्चीकै भरमा स्वास्थ्य सुविधा पुग्ने गरेको छ। आम्चीहरूले स्वास्थोपचारमात्र नगरी बहुमूल्य जडीबुटीको जगेर्ना गरी जैविक विविधताको संरक्षण र प्राचीन सांस्कृतिक मान्यताको सम्बद्र्धनमा पनि उत्तिकै योगदान पुर्‍याएका छन्।

उपचार पद्धतिको हस्तान्तरण

नेपालमा सोवा रिग्पासम्बन्धी औपचारिक शिक्षा हासिल गर्ने अवसर नहुँदा बाबुबाजे आमाहजुरआमाले सिकाएको ज्ञानका आधारमा पुस्तौँ पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ।

नेपालमा सोवा रिग्पा उपचार पद्धतिको विकासबारे कुनै स्पष्ट जानकारी पाउन सकिँदैन। कसैले यो ज्ञान भारतबाट नेपालमा विस्तार भएको भन्ने गर्दछन् भने कोही तिब्बतमा विकास भएर नेपाल भित्रिएको तर्क गर्छन्। कसैले यसलाई चिनियाँ उपचार पद्धतिका रूपमा धेरै वर्षअघि विकास भएको बताउँछन्। नेपालकै हिमाली भेगमा परापूर्वकालदेखि नै प्रचलनमा रहँदै आएको तर्क गर्नेहरूको पनि संख्याया निकै छ।

नेपालका अधिकांश आम्चीहरूले तिब्बतबाटै ज्ञान सिकेर आएको पाइन्छ। पहिले हिमालय क्षेत्रको पूर्व कञ्चनजङ्घादेखि दार्चुलासम्म आम्चीहरू थिए। नेपालको मनाङ र डोल्पा जिल्लाहरू तिब्बतको बोन्पो सभ्यताको ऐतिहासिक अङ्ग भएकाले तिब्बती उपचार पद्धति नेपाल र तिब्बतमा सँगसँगै भित्रिएको हो भन्ने तर्क पनि अर्का थरीको छ।

देशका उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने अधिकांश मानिस बौद्ध धर्मावलम्बी हुनुको साथै तिब्बती संस्कृतिबाट बढी प्रभावित रहेकाले सोवा रिग्पालाई उनीहरूले आफ्नै मौलिक उपचार पद्धतिका रूपमा स्वीकार गरेको पाइन्छ। कुनै पनि स्वास्थ्य समस्या परेमा स्थानीय आम्चीहरूकहाँ उपचारका लागि जाने गर्दछन्।

यी क्षेत्रका जनताको स्वास्थ्य समस्या समान रहेको पाइन्छ। यी क्षेत्रहरूमा पुग्न जिल्ला सदरमुकामबाट कम्तीमा पाँच/छ दिनसम्मको पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ। सरकारी स्वास्थ्य सेवाले दुर्गम हिमाली क्षेत्रका जनतालाई आधारभूत आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भइरहेका बेला आम्चीहरूले स्थानीय जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन्। केही वर्षयता राजधानीलगायत अन्य प्रमुख सहरहरूमा पनि आम्ची क्लिनिक सञ्चालनमा रहेका देखिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.