|

कञ्चनपुर : कमाउन गएका श्रीमान भारतमा अलपत्र छन्। घरमा एक मुठी अन्न खानका लागि छैन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ मा राहत सामग्री बुझ्‍न आएकी शान्तीदेवी चुनाराले बेलिविस्तार लगाउँदै भनिन् ‘दुई दिनदेखि छिमेकीसँग मागेर गुजारा चलाउनुपर्‍यो।  राहत सामग्री पाइएपछि केही दिन ढुक्कसँग खान पाइने भएको छ।’

 लकडाउनका कारण शान्तिका श्रीमानको भारतमा रोजगारी गुमेपछि घर फर्कन नसक्दा सीमा क्षेत्रमै अलपत्र परेका छन। घर बासका लागि मात्रै जग्गा भएका चुनारा परिवारको वर्षभरीको खाना खर्च भारतमा काम गरेर चल्ने गरेको छ।

 परिवारको खाना खर्च जुटाउने श्रीमानले लकडाउनका कारण सीमानाका बन्द भएपछि घर फिर्ता हुन नसकेका हुन। निर्माणका कार्यमा मजदुरी गरी केही रकम जुटाएको थिए। त्यो पनि सिद्धियो।  उनले भनिन् ‘मजदुरी पाईदैन। श्रीमान घरमा नहुदा खर्चको निकै अभाव छ। खाद्यान्न जुटाउन मुश्किल भएको बेला राहत सामग्री पाइएको छ।’

राहत सामग्री पिठयुँमा बोक्दै गरेकी उनले ‘केही दिनका लागि यसले खान पुग्छ। लकडाउन खुलेपछि श्रीमान घर आउँछन्। भारतमा कमाएको पैसाले सहज हुन्छ।’ राहत सामग्री बुझ्नकै लागि पुगेका लक्ष्मी खत्री नदी किनाराको जग्गाको छाप्रोमा बस्दै आएकी छिन्। उनको पनि कमाई खाने जग्गा छैन। साँझ विहानको छाक टार्ने माध्यमका रुपमा मजदुरी मात्रै एक सहाराका रुपमा रहेको छ। 

मजदुरी गरेर परिवारको छाक टार्दै आएको उनी बताउँछिन्।  ‘सबै क्षेत्रमा काम बन्द भएपछि भोक भोकै बस्नु पर्ने अवस्था आएको थियो। गाउँमा हिँडडुल गर्दा कोरोनाको भयले हिँडडुल गर्न सक्दैनौं।

'भोकले झोपडीभित्रै मरिने पो हो भन्ने चिन्ता थियो। त्यो चिन्ता राहत सामग्री पाइएपछि हटेर गएको छ’, उनले भनिन्,‘राहत पाउँदा निकै खुसी भएका छौं। अब मरिने चिन्ता छैन।

राहत पाएपछि खुसीले गदगद

राहतका रुपमा पाईएको चामल, दाल, तेल र नुनले बन्द खुले सम्म पुग्छ। नुहाउनका लागि र हात धुनका लागि सावुन पानि पाएका छौं।’ मुक्त कमैंया बस्तीका हर्क बहादुर डगौराले मजदुरीले धानिदै आएको जीविका लकडाउनका कारण चलाउनै मुस्किल भएको बताए।

मजदुरी नगरी घरको चुलोमा आगो बल्दैन डगौराले भने, ‘मजदुरी गरेर कमाएको पैसा सकिएपछि उधारोमा खाद्य सामग्री पाउने व्यापारी भेट्न सकेका थिएनौं। राहत सामग्री पाइएपछि मन खुसीले गदगद भएको छ।’

डगौरासँग सम्पत्तिका रुपमा मुक्त कमैया पुनः स्थापना हुँदा पाएको पाँच कठ्ठा जग्गा र त्यसमा बनेको कच्ची घर छ। घरका सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन्। सोही बस्तीका हाकिम डगौराले राहत सामग्री पाइएपछि भोकले मर्न नपर्ने बताए।

जनप्रतिनिधि आएपछि सबैको अबस्था हेरी राहत सामग्री वितरण गरेका छन उनले भने, ‘निर्धक्क संग घरको समस्या राखेर राहतको माग गरेका थियौं। त्यो पाएका छौं।’

मापदण्डअनुरूप राहत वितरण

वडा अध्यक्ष रमेश ऐरले दैनिक ज्याला मजदुरी गरी खाने वर्गका परिवारको पहिचान गरी मापदण्डअनुरूप राहत सामग्री वितरण गरिएको बताए। उनका अनुसार वितरण गरिएको राहत सामग्रीमा ३० किलो चामल, तीन किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, चार वटा साबुन, चिनी दुई किलो रहेको छ।

नगर प्रमुख दिल बहादु ऐरले बिहान बेलुका खान समस्या भएका परिवारलाई नगरपालिका कार्यालय र वडाको आन्तरिक बजेट बाट राहत सामग्री उपलव्ध गराईएको बताए।

खाद्यान्नको समस्या भएका परिवारको घर दैलोमै पुगेर राहत वितरण गरिएको उनको भनाइ छ। स्थानिय सरकार सेवामा तत्पर छ। नगरका कुनै पनि नागरिकलाई भोका रहन नदिने उनले बताए।

 उनले भने, ‘आवश्यकता भएका सबैलाई राहत सामग्री पुर्‍याउछौं।’  उनका अनुसार नगरपालिकाका १२ वटै वडामा खाद्यान्न अभाव भएकाहरुलाई राहत वितरणको कार्य भैरहेको छ। केही दिन अघि मात्रै नगरपालिकाले खाद्यान्नको अभवा झेल्दै आएका ‘क’ श्रेणीको परिचय पत्र पाएका २७ परिवार मुक्त हलिया, १२ परिवादि समुदाय र अपाङगता भएका १८ जनालाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको छ।

नगर क्षेत्रमा व्यापार गर्ने भारतीय २८ जनालाई पनि नगरपालिकाले राहत सामग्री उपलव्ध गराएको छ। सोही नगरपालिकाको वडा नं १० ले समेत सोमवार चार सय विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.