ट्युब चलाउने माथि मुद्दा, सशस्त्रको निगरानी

|
फाइल फोटो

दार्चुला : बुधवारका महाकाली नगरपालिका वडा नम्बर ४ को महाकाली किनारबाट ९ जना नेपाली नेपाल छिरेपछि 'लकडाउन'पछि महाकाली तरेर नेपाल छिर्नेहरुको संख्या २१८ पुगेको छ।

लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरि सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्ने भनिएको थियो। तर दार्चुलामा भने लकडाउन अवधिमा वैशाख १० गतेसम्म भारतबाट अवैध रुपमा २१८ जना भित्रिएका छन्।

रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङ लगायत क्षेत्रका २१८ जना अवैध रुपमा महाकाली नदी तरेर नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। 

महाकाली नदीमा ट्युब, पौडी, डोरी र ढुङ्गे साघुका माध्ययमबाट लकडाउनको अवधीमा यति ठूलो संख्यामा कोरोना प्रभावित मुलुक भारतबाट मानिसहरु भित्रएका हुन्। 

भारतबाट अवैध रुपमा भित्रीने मानिसहरुलाई प्रहरीले सम्बन्धीत स्थानीय सरकारसँग समन्वय गरि क्वारेन्टाइनमा राख्न लगाइएको प्रहरी निरिक्षक चन्दको भनाई छ।

ओडारमा बस्दै आएका पनि तरेर आएका थिए

चैत्र ११ गतेदेखि भारतीय ओडारमा बस्दै आएका नेपालीहरु गत आइतबार मात्रै महाकाली नदी तरेर स्वदेश फर्किएको नौगाड गाउँपालिकाका देव सिंह धामीले बताए।

नेपालको सीमावर्ती क्षेत्र कालिकाको ओडारमा बस्दै आएका नौगाड गाउँपालिकाका ७ जना महाकाली तरेर सोमबार दार्चुला छिरेका हुन्। नौगाड गाउँपालिकाका ओडारमै बसिरहेका ७ जना भने भारतीय शिविरमा संक्रमणको त्रासले नगएको उनीहरुले बताएका छन्। करिब एक महिना भारतीय ओडारमा बसेका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर नेपाल प्रवेश गरेका थिए भने कोही ट्युबको माध्यमबाट आएका थिए।

आइतबार बिहान ३ बजेतिर नौगाडका गौरसिँह धामी, देव सिँह धामी, खडक सिँह धामी र बिक्रम सिँह ठगुन्ना नेपाल प्रवेश गरेका हुन्। उनीहरुसँगै बस्ने तीन जना अघिल्लो दिन महाकाली तरेर नेपाल आएका थिए। 

आफूहरुले गाउँपालिकामा सम्पर्क गरेको र आइतबारदेखि नै क्वारेन्टाइनमा बसेको धामीले बताए। ‘गाउँपालिकामा सम्पर्क गरेका थियौँ, धुलीगडासम्म गाडी पठाएको थियो, हामी सिप्टी क्वारेन्टाइनमा सबेको छौँ’ धामीले भने। स्वदेशमा पुगेकोमा आफूहरु खुशी भएको र आधा बाटोबाटै आफूहरु आइरहेको गाउँपालिकालाई जानकारी गराएको उनले बताए।

ट्युबचालक विरुद्ध मुद्दा दर्ता

लकडाउन अवधिमा महाकाली नदीमा ट्युबको प्रयोग गरि मानिस तार्ने एक युवकका विरुद्ध जिल्ला प्रशासन कार्यालय दार्चुलामा मुद्दा दर्ता गरिएको छ।

आइतबार राती महाकाली नगरपालिका वडा नं ७ धापका २३ वर्षीय करन टमटालाई राती ८ बजेतिर महाकालीबाट मान्छे तारिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। 

सोमबार टमटा विरुद्ध जिल्ला प्रशासन कार्यालय दार्चुलामा संक्रामक रोग ऐन २०२० अनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए। टमटा विरुद्ध संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा १ अन्र्तगतको सजाय माग दाबी गरि मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक चन्दले बताए।

संक्रामक रोग ऐनको दफा ३ को सजाय सम्बन्धि व्यवस्थाको उपदफा १ मा ऐन अन्र्तगतको दिइएको आदेशलाई अपहेलना गर्ने ब्यक्ति उपर एक महिनासम्म कैद वा रु १ सयसम्म जरिवाना वा दुबै सजाय हुनेछ भनिएको छ। 

नदी वारपार गर्न प्रयोग गरिने २८ ट्युब बरामद 

दार्चुला प्रहरीले महाकाली नदी किनारका बस्तीहरुबाट २८ वटा ट्युबहरु बरामद गरेको छ। प्रहरीले लकडाउन अवधिमा महाकाली नदी किनारका बस्तीहरुमा अनुगमन गरी ट्युबहरु नियन्त्रण लिएको थियो।

मालिकार्जुन गाउँपालिकाको जौलजिवी देखी लेकम गाउँपालिकाको लालीसम्म २७ वटा र १ वटा आइतबार धाप क्षेत्रबाट मानिसहरु तार्ने क्रममा गरि २८ वटा ट्युबहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी दिपेन्द्र शाहीले चैत्र २५ गते नै कालापानी न्युज डकटम सँगको कुराकानीमा नेपालतर्फ एउटा पनि ट्युब नभएको र भारतबाट नै मानिसहरु नेपाल तार्ने काम भइरहेको दाबी गरेका थिए। तर आइतबार धाप क्षेत्रका करन टमाटा भारतबाट मानिसहरु तार्ने क्रममा प्रहरीले नियन्त्रण लिएका हुन्। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा चौविसै घण्टा निगरानी 

महाकाली नदी किनारमा हुने अवैध सीमावारपारलाई मध्यनजर गर्र्दै सशस्त्र प्रहरी सीमानाकाहरुमा चौविसै घण्टा तैनाथ गरिएको छ। 

दार्चुला जिल्ला भरिका महाकाली नदी किनारहरुमा नौ ठाउँमा सशस्त्र प्रहरी अस्थाई पोष्ट स्थापना गरि सीमा क्षेत्रको निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती डम्बर बहादुर विष्टले जानकारी दिए। 

महाकाली नदी किनारका बस्तीहरु लेकम गाउँपालिकाको रतौडा र लाली, मालिकार्जुन गाउँपालिकाको उकु, बाकु र डिन्सी, महाकाली नगरपालिकाको काकडा र किम्तडी र ब्यास गाउँपालिकाको स्याकु र डोकटमा सशस्त्र प्रहरीको अस्थाई पोष्ट स्थापना गरि सीमा क्षेत्रको निगरानी भइरहेको सशस्त्र प्रहरी डिएसपी विष्टले जानकारी दिए।

नौ वटै ठाउँहरुमा गरि ११० जना सशस्त्र प्रहरीहरुले महाकाली नदी किनार क्षत्रको निगरानी गरिरहेको डिएसपी विष्टको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.