१४४ किलोमिटरमा २ सय ३३ पोस्टमा १५ सय सुरक्षाकर्मी तैनाथ

|

झापा : खोला बगर र खेतमा बाँस, त्रिपाल र टिनले बनाइएका छाप्रोजस्तो अस्थायी प्रहरी पोस्ट। त्यही प्रहरी पोस्टमा खटिएका छन् सशस्त्र र नेपाल प्रहरीका जवान।

भारतबाट कोरोना भाइरस नेपाल भित्रिन नदिन गृहमन्त्रालयको निर्देशनबमोजिम उनीहरू चौबिसै घण्टा सीमा तैनाथ छन्। तर, सीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अहिले मौसमले सताइरहेको छ। 

दैनिकजसो हावाहुरी, चट्याङ, असिनापानी पर्न थालेपछि छाप्रोजस्तो अस्थायी प्रहरी पोस्टमा दुःखले उनीहरू सीमा सुरक्षा गरिरहेका छन्। हावाहुरीले पोस्ट उडाउने, बस्ने ठाउँमा पानी पस्ने, चट्याङ पर्नेजस्ता समस्याबीच उनीहरू देशका जनताका लागि सीमा तैनाथ छन्। 

हावाहुरी र पानीका बीच पनि उनीहरू पोस्ट छाडेर गएका छैन। हावाहुरी, चट्याङ र पानीले गर्दा सीमा खटिएका प्रहरीलाई समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताउँछन्। 

हावाहुरीले पोस्ट उडाउने, बस्ने ठाउँमा पानी छिर्ने जस्ता समस्या अस्थायी पोस्ट देखिएको छ,’ एसपी कोइरालाले भन्छन्, ‘यस्तो समस्याका बाबजुद पनि प्रहरी कर्मचारीहरू चौबिसै घण्टा खटिएका छन्। उनीहरूको अवस्था बुझ्न हामीले निरन्तर सम्पर्क गरिरहेका छौं।’ 

‘प्रहरी बस्ने ठाउँ व्यवस्थित छैन, उनले भने,  ‘खोला किनार, बगर, खेत, चिया बगानजस्ता ठाउँमा बाँस, त्रिपाल, टिनले छाप्रो बनाएर प्रहरीलाई राखिएको छ।’

‘सीमामा खटिएका प्रहरीका लागि टेन्ट चाहिन्छ, त्यसको व्यवस्थापनका लागि विभिन्न दाताहरूले सहयोग गरिरहेका छन्,’ उनले दुखेसो पोखे।

धेरै ठाउँमा हावाहुरीले पोस्ट उडाएको छ, पानीमा भिज्दै प्रहरी खटिएका छन्। कतिपय स्थानमा प्रहरी पुग्ने बाटोघाटा छैनन्, उनीहरूलाई खाना पुर्याउन पनि समस्या छ। 

खानेपानी, बिजुलीबत्ती, अन्य खानेकुराको व्यवस्थापन पोस्टमा नहुँदा समस्या भइरहेको एक प्रहरी कर्मचारी बताउँछन्। उनले भने, ‘त्रिपालले छापेर बसिरहेका छौं, हावाहुरीले कतिखेर पोस्ट उडाउँछ थाहा हुँदैन, तर डिउटी छाडेर गएका छैनौँ।’

सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका एसपी रेशमकुमार थाक्सु पनि मौसमकै कुरा गर्छन्। सीमा खटिने सशस्त्र प्रहरीलाई मौसमले चुनौती दिइरहेको छ। ‘सीमा खटिएका सशस्त्र प्रहरी बस्ने अस्थायी पोस्ट हावाहुरीले उडाउने त्रास त्यतिकै छ, पानी पर्दा उनीहरूलाई थप समस्या र चुनौतीको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने।
उनका अनुसार ड्युटीमा खटिएका सशस्त्र प्रहरीको अवस्था बुझ्न नजिकै पर्ने बिओपीहरुलाई निर्देशन दिइसकेका छौं, उनीहरूलाई चाहिने खाना, पानीलगायत अन्य कुराको व्यवस्थापन त्यहीँबाटै गरिरहेका छौँ। 

छिमेकी मुलुक भारतमा कोभिड– १९ तीव्र गतिमा फैलिरहेको छ। भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको खुला सीमा झापामा १ सय ४४ किलोमिटर पर्छ। 

जिल्लाका १५ वटा स्थानीय तहमध्ये उत्तरको तिरिङदेखि दक्षिणको गौरिगञ्जसम्मको सीमा नाकासँग मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोडिएको छ। 

सीमा नाकासँग जोडिएको पालिका र स्थानीयको सहकार्य तथा समन्वयमा झापाका प्रहरी, प्रशासन प्रमुखले सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाएका छन्। ७ सय मिटरदेखि १ किलोमिटरको दूरीमा सुरक्षाकर्मी खटिएका छन्। 

१४४ किलोमिटरमा २ सय ३३ पोस्ट

भारतबाट नेपाल, नेपालबाट भारत मानिस आवतजावत गर्न नदिन जिल्लाका पाँच वटा मुख्य नाकासँगै अहिले चोर बाटाहरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। 
४४ किलोमिटरको खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिब १५ सय सुरक्षाकर्मी तैनाथ गरेका छन्।
 
जिल्ला प्रहरी कार्यालय झापाले करिब ४ सय ७५ प्रहरी सीमामा खटाएको छ। गौँडा अर्थात् चोर बाटाहरूको पहिचान गरी प्रहरी कार्यालय झापाले १ सय ५ वटा छाप्रो बनाएर प्रहरी परिचालन गरेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
 
जिल्लामा इलाका, वडा, सीमा र चौकी गरी २९ वटा प्रहरी कार्यालय रहेको जानकारी गराउँदै डिएसपी श्रेष्ठले भने, ‘प्रदेशबाट थप जनशक्ति जिल्लालाई पठाएपछि सीमामा १ सय ५ वटा पोस्ट बनाएका छौं। स्थानीय तह र स्थानीयसँग समन्वय गरी चौबिसै घण्टा प्रहरी खटाएका छौं।’ 

त्यस्तै सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले सीमा क्षेत्रमा १ सय २८ वटा अस्थायी पोस्ट निर्माण गरेको छ। त्यसमध्ये २२ वटा फरवार्ड पोस्ट रहेको छ। प्रदेशबाट ४ सय ७५ थप जनशक्ति थपिएपछि उनीहरूसँगै ९ सय ३४ जनालाई सीमा नाकामा खटाइएको सशस्त्रका एसपी थक्सुले जानकारी दिए।

उनका अनुसार जिल्लामा ८ वटा स्थायी बिओपी छ। 

१२ प्रहरी इन्स्पेक्टर खटिए 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा सुरक्षालाई कडाइ गर्न १२ जना इन्स्पेक्टर खटाएका छन्। प्रहरी कार्यालय झापाले पाँच जना र सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले सात जना गरी १२ जना इन्स्पेक्टरलाई सीमा क्षेत्रमा थप परिचालन गरेको बताइएको छ। 

प्रहरी कार्यालय झापाले पृथ्वीनगर, कोरोबारी, पथरिया, नकलबन्दा र कुमरखोदमा इन्स्पेक्टर खटाएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै सशस्त्र प्रहरीले बाहुनडाँगी, भद्रपुर, महेशपुर, पाठामारी, पन्तपाडा, कुञ्जीवारिको आमगाँछी र गौरीगञ्जमा इन्स्पेक्टर खटाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.