|

झापा (दमक) : पूर्वी क्षेत्रमा पनि संक्रमण फैलन सक्ने त्रास बढेपछि स्थानीय सरकारहरुले विदेशबाट आएका सर्वसाधारण तथा सम्भावित संक्रमितहरुको खोजि बढाएका छन्। झापाको कमल गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरि स्वास्थ्य परीक्षण शुरु गरिएको गाउँपालिका उपप्रमुख बेनुप्रसाद शिवाकोटीले जनाएका छन्। 

यसै गरि दमक नगरपालिकाले पनि विदेशबाट आएका सर्वसाधारणहरु मथि निगरानी बढाउनका साथै स्वास्थ्य परीक्षण गराई रहेको छ। दमकमा हाल सम्म विदेशबाट आएका १ सय २५ व्यक्ति पहिचान भएको नगरपालिकाले जनाएको छ।

यस्तै नगरमा ९८ जनाको द्रुत र २४ जनाको पीसीआर परीक्षण गराइएको नगर प्रवक्ता अधिकारीले जनाएकी छन्। पीसीआर परीक्षण गरिएका मध्ये २१ जनाको नेगेटीभ देखिएको र तीन जनाको नतिजा आउन बाँकि रहेको जनाइएको छ। द्रुत परीक्षण गरिएका सवैको भएको नतिजा नेगेटीभ आएको जनाएको छ।

सर्वसाधारण बाटो छेक्दै

उदयपुरमा संक्रमितहरुको संख्या बढेपछि पूर्वी नेपालमा कोरोनाको त्रास बढेको छ। त्रास बढेसँगै स्थानीय तहहरुले लकडाउन कार्यान्वयनमा कडाई गरेका छन्।

यसैक्रममा दमक नगरपालिकाले पसल तथा बजार सातामा दुई दिनमात्र सञ्चालन गर्न दिने भएको छ। त्यो पनि तीन घण्टा मात्र खुला गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ। 

अत्यावश्यक बस्तु आपूर्ती तथा खरीदका लागि शनिबार र वुधबार ११ बजेदेखि २ बजेसम्म मात्र बजार तथा पसल खुल्ला रहने निर्णय भएको नगरपालिका प्रवक्ता गीता अधिकारीले जनाएकी छन्। यस्तै नगर क्षेत्र बाहिरबाट तरकारी, दुध, माछा, मासु लगायतका वस्तुसमेत दमकभित्र प्रवेशमा रोक लगाइएको छ।

प्रदेश  १ मा नै कोरोनाका संक्रमित बढेपछि कतिपय स्थानमा भने सर्वसाधारणले बाँस तथा ढाट राखेर अवरोध सिर्जना गरेका छन्। तर कुनै पनि बेला अत्यावश्यक सवारीसाधन सञ्चालन गर्नु पर्ने भएकाले त्यस्ता अवरोध तुरुन्त हटाउन समेत निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.