|

काठमाडौं : सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनद्वारा सञ्‍चालित राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका बिरामीलाई खाना ओसार्ने रोबोट बनाएको छ। 

पुनका अनुसार करिब ११ दिन लामो प्रयासमा कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले रोबोट बनाउन सकेको हो। 'कोरोनाका बिरामीहरुलाई खाना र औषधि पुर्‍याउने पहिलो रोबोट बनाएका छौं', पुनले भनेका छन्,'यसो हेर्दा ता यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ।'

पुनका अनुसार यसको प्रयोगले बिरामीको सेवा गर्ने नर्सहरुलाई जोगाउन सकिने बताएका छन्। 'यसको प्रयोग गर्‍यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन्। यो रोबोटको बिकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्तालाई ११ दिन लाग्यो', उनले भनेका छन्, 'यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले दिएको हो। अन्य पार्ट पुर्जाहरुको मात्रै मोटामोटी खर्च ७५ हजार रुपैयाँजति लागेको छ।'

उनले रोबोटलाई परीक्षणका लागि सुरुमा नेपाली सेनाको कोरोना अस्पतालमा पठाइने जानकारी दिएका छन्। 'यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ', उनले भने, 'रोबोटको माग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट पनि आएको छ।'

उनले कोरोनाका बिरामीको सेवामा डाक्टर र नर्सहरुलाई सजिलो बनाउन यस्तै खालका अन्य रोबोट पनि बनाउँदै जाने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.