|

सल्यान :  कुमाख गाउँपालिकाका टीकाराम खत्री यतिवेला गहुँ भित्र्याउने, वर्षे खेती गर्ने लगाउन व्यस्त छन्। दैनिकजसो खेतबारीमै व्यस्त हुने भएकाले कोरोना भाइरसबाट सोच्न फुर्सद ग्रामीण भेगका व्यक्तिले पाएका छैनन्।

गोठको मल बारीमा लैजाने, बारी तयार गर्ने र मकै लगाउने काममा खत्रीको परिवार मात्र होइन सल्यानका अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा व्यस्त छन्। बागचौर नगरपालिका ३ का शोभाराम शर्माको परिवार यतिबेला बारीमै भेटिन्छन्।

शर्मालाई गहुँ भित्र्याउने चटारो, पानी परेकाले बारीमा मल बोकी मकै लगाउने हतारो पनि उत्तिकै छ। बाली भित्र्याउने र बाली लगाउने सिजनमा विश्वमा फैलिएको कारोना भाइरसबारे सोच्नसम्म नभ्याएको किसानहरुको भनाई छ। घर खेत गर्दै ठिक्क छ गाउँघर जान आजभोली सिजन भएकाले फुर्सद नभएको शर्मा बताउँछन्।

कोरोनाले शहर बजारमा प्रभाव पारेपनि गाउँघर सामान्य अवस्थामा नै रहेको अर्का किसान लिलाधर केसीले बताए। किसानी कामकाज हुनु अघि कोरोनाबारे हल्ला आएको सुनेको र त्यसबाट सहज हुँदै काम पनि भइरहेको उनले बताए।

उनले भने, 'गाउँघरमा कोरोनाबाट बच्न घर बाहिर नजान, नयाँ मान्छेसिन भेटघाट नगर्न लगायतका माइकिङ गरिहेको सुन्छौ। हाम्रो गाउँमा विदेश तथा भारतबाट कोही नआएकाले ढुक्कले काम गरीरहेका छौं।'

गाउँ वरपर बाहिरका मान्छेहरु नआएकोले किसानीमै व्यस्त हुने गरेको शारदा नगरपालिका १५ का किसान प्रेमबहादुर खड्काले बताए। 'गाउँघरमा काम उठेको छ, सबै आ आफ्ने बारीमा छौं', खड्काले भने, 'यो मुरी भित्र्याउने र मानो रोप्ने सिजन भएकाले बारीमा नपसी भएन।'

खेतबारीमै व्यस्त भएकाले कोरोनाको कुरा खास सम्झने समय नभएको उनको भनाइ छ। बिहान बेलुका समाचारमा कोरोनाका कुरा सुने पनि दिनभर काममा हुँदा त्यसको सोच नै नआउने कतिपय किसानले बताएका छन्। जिल्लाका स्थानीय तहका केन्द्र, मुख्य बजार सडक लकडाउन भइरहँदा गाउँघरमा भने लकडाउनको कुनै प्रभाव परेको देखिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.