दुईचाेटि आरडिटी गर्दा नेगेटिभ, पिसिआरमा भने पोजेटिभ

|

झापा : दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी जमातीमा कोरोना भाइरस पुष्टि भएको छ। 

दमक नगरपालिकापछि बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना बिरामीको संख्या दुई पुगेको छ। कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

बाह्दशी गाउँपालिका ४ साबिक चकचकी गाविस बस्ने ५० वर्षीय ती व्यक्ति दिल्लीबाट घर फर्किएकाले उनको आरडिटीबाट दुई पटक कोरोना परीक्षण गरिएको थियो।

दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवम् जिल्ला विपत् व्यवस्थापन सहायता कक्षका सचिव जीवन चौलागाईंले जानकारी दिए।

पहिलो पटकको आरडिटी परीक्षण १० दिनअघि र दोस्रो पटकको शनिबार गरिएको थियाे। 'आरडिटीमा नेगेटिभ देखिए पनि उनीसहित बाह्रदशीका तीन जनाको स्वाब पिसिआर परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगरको प्रयोगशाला पठाएका थियौँ, 'चौलागाँईले भने, ‘त्यसमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।’  पोजेटिभ देखिएको व्यक्तिको स्वाब बाह्रदशीका स्वास्थ्यकर्मीको टोलीले उनको घरबाटै संकलन गरेको उनले बताए।

कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले भने, ‘स्वास्थ्यकर्मीको टोलीले उनलाई एम्बुलेन्समा हालेर कोरोना अस्पताल विराटनगर पठाउने तयारी भइरहेको छ।’

यता दिल्लीको मुस्लिम धार्मिक सम्मेलनमा नेपालबाट १९ जनामध्ये झापाबाट यी जमाती पनि सहभागी भएका थिए। मार्च ३ अर्थात् फागुन २० गते दिल्ली गएका थिए उनी। दिल्लीबाट मार्च ११ अर्थात् फागुन २८ गते झापा घर फर्किएका थिए। घर फर्किएका ती व्यक्ति घर आए पनि होम क्वारेन्टाइनमा नबसेको स्थानीयवासीको दाबी छ।  

स्थानीय भन्छन्, ‘जब नेपालमा लकडाउन सुरु भयो, दिल्लीको जमातीबाट भारतमा कोरोना फैलिएको खबर बाहिर आयो, त्यसपछि मात्र उनलाई बाह्रदशीका स्वास्थ्यकर्मीले निगरानीमा राखेका थिए।

त्यसअघिसम्म उनी खुला घुमफिर गर्दै आइरहेका स्थानीयको दाबी छ। पहिलो पटक आरडिटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टाइन बस्न छाडेर त्यहाँका बजार घुमफिर गर्न थालेको स्थानीय बताउँछन्।

बाह्रदशीका व्यक्तिमा कोरोना पुष्टि भएपछि त्यहाँ उच्च सतर्कता बढाइएको झापा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। उनले भने, ‘त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाउने काम सुरु भइसकेको छ। ती व्यक्तिले कोकोसँग सम्पर्क गरेका थिए, उनको परिवारसहित सबैको विवरण खोज्ने काम भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.