भोजको रकम स्थानीय तहलाई

|

भद्रपुर, (झापा) : सरकारले लगाएको लकडाउनमै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्याम सिटौलाको विवाह गरेका छन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि सरकारले २५ जनाभन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम नगर्न निर्णय गरिसकेको छ। सरकारको निर्णयबमोजिम नै भद्रपुर निवासी कांग्रेस नेता सिटौलाले छोरा श्यामको बिर्तामोड निवासी ओमकृष्ण बिमलीको जेठी छोरी मनीषा विमलीसँग आइतबार दिवालग्नमा विवाह सम्पन्‍न गरेका छन्।

नेता सिटौला राष्ट्रियस्तरमा परिचित राजनीतिक व्यक्तित्व भएकोले उनको छोराको विवाहको जन्तीमा मन्त्री, विशिष्ट नेता, प्रभावशाली व्यक्तित्वहरू र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता हुने आशा गरिएको थियो। तर, नेता सिटौलाले लकडाउनको पालना गर्दै बेहुला छोरा श्याम र आफ्ना दुई अंगरक्षक र अन्य तीनजना गरी ७ जना मात्र जन्ती लिएर गएका थिए।

बेहुली पक्षमा १५ जना

उता, बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न  १५ जना मात्र उपस्थिति भएका थिए। बेहुलीको घरको मूलगेटमै राखिएको थियो साबुन र पानी। जन्ती पक्षका सबैले गेटमै साबुन पानीले हात धुनुका साथै स्यानिटाइजर हातमा दलेर घरभित्र प्रवेश गरेका थिए।

बेहुला र बेहुलीसहित विवाहमा उपस्थिति सबैले मुखमा मास्क लगाएका थिए। विवाहस्थलमा बाजागाजा केही थिएन, माहोल शान्त र सुनसान थियो। आएका जन्ती र बेहुलीका आफन्तजन सामाजिक दूरी कायम गरेर एक आपसमा बसेका थिए।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै देशवासीलाई एउटा सन्देश दिएका छन् नेता सिटौलाले यस्तो परिस्थतिमा आफ्नो छोराको विवाह गरेर। 

भोजको रकम स्थानीय तहलाई

कांग्रेस नेता सिटौलाले बुहारी घर भित्र्याएपछि चलन अनुसार समाजमा भोज दिनुपर्ने हुन्थ्यो। तर, लकडाउनमा भोज दिन नपाइने भएपछि सिटौला परिवारले भोजको रकम स्थानीय तहलाई बाँडेका छन्।

सिटौलाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुरलाई राहत पुर्‍याउने उद्देश्य राखेर स्थानीय तहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। नेता सिटौलाका छोरा श्याम र बुहारी मनीषाले भोजको रकम स्थानीय तहलाई हस्तान्तरण गर्न थालेका छन्।

भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिकालाई एक/एक लाख, भद्रपुर १० नम्बर वडा कार्यालय र बिर्तामोड १० नम्बर वडा कार्यालयलाई ५०/५० हजार रुपैयाँ सहयोग गर्न बताइएको छ। सोही बमोजिम नेता सिटौलाका छोरा श्यामसहित नेपाली कांग्रेस-३ नम्बर क्षेत्रीय अध्यक्ष गणेश पोखरेलसहित जनप्रतिनिधि र कार्यकर्ताको टोलीले भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन।

त्यस्तै, वडा नम्बर १० का अध्यक्ष टेकबहादुर खड्कालाई पनि रकम हस्तान्तरण गरिएको छ। अन्य स्थानीय तहमा पनि रकम हस्तान्तरण गरिने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.