|

बैतडी : सीमा पारी रहेका नेपाली मजदुरहरुले १ महिना भारतीय क्वारेन्टाइनमा बस्दासमेत स्वदेश फर्कन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सुरूमा दुई हप्ता क्वारेन्टाइनमा बसेर स्वदेश फर्कन पाउने भनिएको, तर एक महिना बस्दासमेत देश फर्कन नपाउँदा आफूहरुलाई निकै समस्या भएको बैतडीको दोगडाकेदारका हरिश भट्टले बताए। उनले भने, ‘गाउँमा मकै छर्ने समय सुरू भइसकेको छ, तर हामीहरू भारतीय क्वारेन्टाइनमै छौं, खेती नै लगाउन नपाए के खाने?’ 

भारतीय क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था राम्रो हुँदासमेत सरकारले स्वदेश फर्कन नदिएकोमा पुर्चौंडी नगरपालिका ३ का नरेन्द्र धामीले आक्रोश व्यक्त गरेका छन्‌। उनी भन्छन्‌, ‘कोरोनाको कुनै लक्षण नभएको अवस्थामासमेत सरकारले सीमामै अलपत्र पारेको छ, हामीमाथि अन्याय भयो।' 

श्रम गरी अर्थोपार्जन गर्न भारतको पिथौरागढलगायत क्षेत्रमा पुगेकाहरुले घर फर्कन नपाउँदा कमाएको पैसासमेत सकिएको बताएका छन्। घर परिवारका लागि भनेर कमाएको पैसासमेत क्वारेन्टाइनमै सकिएको पुर्चौंडी नगरपालिका ८ का विरेन्द्र पाठकले बताए। 

सीमामा रहेका नेपालीहरुलाई फर्काउनका लागि स्थानीय स्तरमा क्वारेन्टाइन निर्माणको काम सकिएपनि स्वदेश ल्याउने बिषयमा संघीय सरकारको निर्णय आवश्यक पर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। उनले भने, ‘सीमामा रहेका नेपाली मजदुरहरुलाई स्वदेश ल्याउन केन्द्रको निर्णय पर्खिरहेका छौं।’ 

भारतको झुलाघाट र धारचुलाका क्वारेन्टाइनमा अहिले एक हजार ५०० जना नेपाली मजदुरहरूलाई राखिएको छ। जसमध्ये बैतडीका मात्रै नौ सय मजदुर भारतीय क्वारेन्टाइनमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.