|

जाजरकोट ः मौसममा आएको बदलीका बीच गहुँबाली भित्र्याएका जिल्लाका कृषकहरु अहिले मकै रोप्न व्यस्त भएका छन्। तर शुद्ध र उपयुक्त बीउ नपाउँदा किसानहरूले ठिमाहा मकैको बीउ नै खेतबारीमा छरिरहेका छन्‌।

कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकहरुले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन्‌। 'मानु रोपेर मुरी उब्जाउने' समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषकहरु अहिले मकै रोप्न व्यस्त भएका छन्। आफ्नो खेतबारीमा गोठेमल गरेर मल राखेकाले गोरुको सहायताले मकै रोप्ने काम सुरू भइसकेको कुशे गाउँपालिका-६ का गोपाल गिरीले जानकारी दिए। उनले भने, 'कोरोनाको त्रासले घर बाहिर नआउने हो भने पशुचौपाया भोकभाकै हुन्छन्, खेतबारी बाँझै हुन्छ, लकडाउनको पालना गर्दै सवै काम गर्नुको विकल्प छैन।'

अहिले रोपेको मकै भदौमा पाक्ने गर्छ। सिँचाई सुविधा नभएको ठाउँमा आकाशे पानीको भरमा लगाइने मकैबाली नै जाजरकोट र रुकुम पश्चिमको मूख्यबाली हो।  वैशाख महिनामा लगातार पानी परेका कारण मकै रोप्न सजिलो भएको रुकुम पश्चिम आठविसकोट-९ बटालागाउँका विष्णु बटालाले जानकारी दिए। उनले भने, 'सिँचाई सुविधा हुने ठाउँमा तोरी, गहुँ र मकै समेत लगाउने काम हुन्छ, नभएको ठाउँमा हिउँदयाममा जग्गा भरी खाली रहन्छ, वैशाखमा मात्र मकै रोप्ने गरिन्छ।' 

जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपलिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, जुनिचाँदे गाउँपालिकामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका अहिले कृषकहरु काममा व्यस्त भएका छन्। यीमध्ये जुनिचाँदे, बारेकोट, र कुशे गाउँपालिकामा वर्षेनी खाद्यान्न अभाव हुने गर्छ। सिँचाई सुविधासमेत नभएका यी स्थानीय तहमा आकाशे पानीकै भरमा खेती गरिँदै आएको छ।

जाजरकोट र रुकुम पश्चिमका कृषकहरुको मूख्यबाली रुपमा रहेको मकैबाली रोप्ने मूख्य सिजन पनि यही हो। यो पटक हिउँदयाममा पानी परेका कारण गहुँबाली सप्रिएपछि खुसी भएका कृषकहरुले समयमै मकै रोप्न पाएका छन्। जाजरकोटमा ३५ हजार ३२६ हेक्टर जमीन खेतीयोग्य रहेको छ। 

ठिमाहा जातकै मकै रोप्दै कृषक  

वर्षेनी यहाँका कृषकहरुले ठिमाहा मकैको बीउ नै रोप्दै आएको बताएका छन्। उत्पादन वृद्धि गर्नका लागि नयाँ, नयाँ जातको बीउ सिफारिस भएपनि यहाँका कृषकहरु वर्षेनी एकै जातको ठिमाहा बीउ लगाएर हैरान भएको बताएका छन्।

स्थानीय सरकार र कृषि सेवा कार्यालयले कृषकहरुलाई नयाँ बीउ वितरण नगर्दा ठिमाहा बीउ लगाउन बाध्य भएको कृषकहरुको भनाई छ। कृषि उत्पादन बढाउका लागि नयाँ, नयाँ तालिम र बीउ दिनुपर्ने भएपनि त्यता तर्फ कसैको ध्यान नगएको बारेकोट गाउँपालिका-५ का कृषक प्रेम शाहीले बताए।

यहाँका अधिकांश स्थानीय तहले पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको बताएका छन्। घोषणा गरिएका पकट क्षेत्रमा नै बीउ नहुँदा कृषकहरु हैरान भएका छन्।तर ठिमाहा जातको बीउ रोप्दा वर्षेनी उत्पादन घटेपछि सो उत्पादन बढाउनका लागि उन्नत जातको बीउ वितरण नगर्दा कृषकहरु मर्कामा परिरहेका छन्‌। 

नलगाड नगरपालिका कृषि शाखाका प्रमुख बालकृष्ण आचार्यका अनुसार बीउ खरिदका लागि बजेट भएपनि बीउ नपाउँदा समस्या भएको छ। बीउ उत्पादन गर्ने ठाउँमा कोरोना भाइरसका कारण हुँन सक्ने खाद्यान्न संकटलाई मध्यनजर गरी बीउ नै खानाको रुपमा प्रयोग भएको आचार्यको भनाई छ।

बीउ किन्नका लागि आफूहरुले तयारी गरेपनि नपाएका कारण कृषकहरुलाई पुरानै बीउ लगाउन अनुरोध गरिएको उनले बताए। यो वर्ष स्थानीय तहमा नै मुल बीउ उत्पादन गरी अर्को वर्षदेखि बाहिरबाट खरिद गर्ने काम बन्द गर्ने समेत उनको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.