|

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहटमा थप दुईजनामा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि गरेको छ। मन्त्रालयले रौतहटका २४ र ३५ बर्षीया दुई पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएको हो।

मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दुईजना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५४ पुगेको जानकारी दिएका छन्।

उनका अनुसार हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन्। थप २ जनासहित कोरोना संक्रमित ३९ जना देशभरका विभिन्‍न अस्पतालमा उपचाररत छन्।

धनगढीमा १, आज थप दुइजनासहित वीरगञ्जमा ५, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ।

आज देशभर १०७ संम्भावित संक्रमित जना आईसोलेसनमा रहेका छन् । तीमध्ये ४ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर १०३ जना रहेका छन्।

आजको अपडेटमा देशभर २२ हजार ९९ जना मानिस क्वारेन्टाइनमा बसेका छन्। तीमध्ये तीनवटा प्रदेशमा एक हजार भन्दा थोरै मात्र क्वारेन्टाइनमा रहेका छन्।

बागमती प्रदेशमा ३ सय ६१ जना र गण्डकी प्रदेशमा ६ सय ७६ जना रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६४ जना छन्।

त्यस्तै, कर्णाली प्रदेशमा ३ हजार ७८९, प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२ र र सूदुरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.